१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

संक्रमित किशोरीसँगै आएका रुपन्देहीका ३ जनालाई क्वारेन्टाइनमा राख्न बेवास्ता

बुटवल- संक्रमित युवतीसँगै कतार एयरवेजबाट हवाइ यात्रा गरेर आएका रुपन्देहीका तीन जनालाई अहिलेसम्म क्वारेन्टाइनमा राखिएको छैन। कोरोना संक्रमणको सम्भाबित जोखीमबाट बच्न युवतीसंगै हवाइ यात्रा गरेकाहरुको पहिचान गरी क्वारेन्टाइनमा राख्न भनिए पनि रुपन्देही प्रशासनले त्यसको बेवास्ता गरेको छ।

रुपन्देहीको रोहिणी २ का एक जना, देवदह नगरपालिकाका वडा नं. ७ का एक जना र अर्का एक जना पोखरभिण्डीका हुन्। उनीहरु तिनै जना कतार एयरवेजबाट संक्रमित युवतीसंगै चैत ४ गते हवाइ यात्रा गरेका थिए। तीनै जना आफ्नो गाँउ घरमा निस्फिक्री घुमफिर र भेटघाटमा रमाएको तीनका छिमेकीहरुले बताएका छन्। देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले ६ गते देवदह आइपुगेका ती व्यक्तिलाई बुधबार भेटेर होम क्वारेन्टाइनमा बस्न आग्रह गरीएको बताए।

‘अहिलेसम्म त उनीहरु स्वस्थ छन्। तैपनि स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा राख्न हामीले प्रदेश सरकारलाई पनि आग्रह गरेका छौ’ नगरप्रमुख खत्रीले भने। आएदेखि उनीहरुले थुप्रै ठाँउमा घुमफिर र भेटघाट गरीसकेको ती व्यक्तिका छिमेकीले बताएका छन्। संक्रमित युवतीसंग हवाइ यात्रा गरेका रोहीणी २ का एक जना युवाका छिमेकीले पनि उनलाई क्वारेन्टाइनमा नराखिएकोमा चिन्ता व्यक्त गरेका छन्। त्यसबारे प्रशासन र प्रहरीलाई खबर गरीए पनि बेवास्ता गरीएको छिमेकीले गुनासो गरेका छन्। रुपन्देहीका प्रहरी प्रमुख एसपि हेमकुमार थापाले अहिलेसम्म दुई जनाको पहिचान भएको र तीनलाई खोजेर क्वारेन्टाइनमा पठाइने बताए।

गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षिया युवतीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ। प्रदेश नं. ५ मा ती युवतीसंगै हवाइ यात्रा गरेका १६ जना छन्। रुपन्देहीका ३, नवलपरासीका २ र दाङका २ जना महिला छन्। गुल्मीका एक जना, बाँकेका ४ जना, बर्दियाका १ जना, अर्घाखाँचीका १ जना, पाल्पाका १ र कपिलवस्तुका १ जना छन्। तीमध्ये बाँकेका ३ जनालाई प्रहरीले खोजेर क्वारेन्टाइनमा राखेको छ। अन्य जिल्लामा भने ती व्यक्तिको खोजी भइरहेको बताइएको छ।

 

प्रकाशित: १३ चैत्र २०७६ ०७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App