सम्पादकीय

सूचना जंगल

सोमबार, १० चैत २०७६, १० : १२ नागरिक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘यु फेक मिडिया’ भन्दै आफूलाई चित्त नबुझेका सञ्चारमाध्यमलाई गाली गर्न थालेयता ‘फेक न्युज’ आम चर्चामा छ। यथार्थमा कोरोना भाइरस (कोभिड–१९) को भयावह स्थितिसँगै ‘फेक मिडिया’ को अनुहार उदांगिन थालेको छ। कोरोना भाइरसभन्दा खतरनाक फेक मिडिया हुन्छ। त्यसले अनाहकमा हामीलाई उद्वेलित तुल्याउँछ, अन्योलमा पार्छ। यतिबेला ‘फेक न्युज’ फैलाउन धेरै सजिलो छ। सूचना–प्रविधि विकासले हामीलाई जति सजिलै सूचना उपलब्ध गराएको छ, त्यति नै भ्रमको जन्जालमा फसाएको पनि छ। यो बेला जिम्मेवार सञ्चारमाध्यमले विश्वसनीय सामग्री पस्किएर आम नागरिकलाई ‘सूचना जंगल’बाट बाहिर निकाल्नुपर्छ।

अहिलेको समयमा सूचना अभाव छैन। हातहातका मोबाइल र अन्य उपकरणले यसमा नागरिकको पहुँच सहज तुल्याएको छ। एक हिसाबले भन्ने हो भने अहिलेका मानिस सञ्चारका ‘बुफे’ अर्थात् आफैंले परिकार छानीछानी खाने अवस्थामा छन्। खानेकुरा र त्यसले दिने पोषक तत्वबारे ज्ञान नभएको भोको मानिसका अगाडि अनेकौं खानेकुरा भयो भने उसको भोजन  अनियन्त्रित बन्छ। त्यही भएर जसरी हामी ‘बुफे’मा खाना छानीछानी खान्छौं, त्यसरी नै सूचना÷समाचार पनि रोजीरोजी पढ्न/सुन्न जान्नुपर्छ। यसैका लागि अहिले सञ्चार साक्षरताको समेत चर्चा गर्ने गरेको पाइन्छ। जुन पायो त्यही सामग्री पढ्ने/सुन्ने/हेर्नेभन्दा पनि विश्वसनीय र तथ्ययुक्त सूचना/समाचार दिने सञ्चारमाध्यम हेर्ने बानी विकास गर्नु अहिलेको आवश्यकता हो।

सही समाचारभन्दा तोडमरोड गरिएका वा झुटो समाचार सजिलै र चाँडै फैलिन्छन्। ठूलो संख्यामा संवाददाता राखेर, समाचारलाई विश्वसनीय बनाउन काम गरिरहेका परम्परागत सञ्चारमाध्यमका सामग्री ‘फेक न्युज’जस्तो तत्कालै प्रतिक्रिया जन्माउने खालका हुँदैनन्। अहिले हरेक व्यक्तिसँग सञ्चार सुविधा भएकाले सूचना दिन गाह्रो छैन। तर त्यसरी दिइएका सूचनाको विश्वसनीयताप्रति जहिल्यै प्रश्न रहन्छ। तसर्थ कस्ता व्यक्ति÷स्रोतले सूचना दिइरहेका छन् भनी विचार गर्ने बानीको विकास गर्नुपर्छ। विश्वसनीयता आर्जन वर्षौंको कामबाट मात्र सम्भव हुन्छ। त्यसलाई आधार मानेर आएका सामग्रीमा विश्वास गर्न सकिन्छ।

अहिले खासगरी सामाजिक सञ्जालबाट भ्रमपूर्ण सामग्री धेरै प्रवाह भइरहेको देखिन्छ। हो, यसले सञ्चारको लोकतन्त्रीकरण गर्न मद्दत गरेको छ। यी अभिव्यक्तिका माध्यम पनि हुन्। तर यिनलाई पूर्ण रूपमा सञ्चारमाध्यम मानेर विश्वास गर्दा कतिपय अवस्थामा समस्या उत्पन्न भएको देखिन्छ। पत्रकारिताको ध्येय तथ्य संकलन गर्दै सत्य खोज्ने हुन्छ। त्यसैकारण पत्रकारिताले राम्ररी काम गर्न पाएन भने पहिलो आक्रमण नै सत्यविरुद्ध हुन्छ। यसका लागि पारदर्शिता पहिलो सर्त हो।

कोरोना भाइरसको सन्त्रास बढेसँगै चर्चामा आएका केही ‘फेक’ सामग्रीको नेपाली सेना र नर्भिक अस्तालले खण्डनसमेत गरिसकेका छन्। यसै सिलसिलामा झुटो सूचना सम्प्रेषण गर्ने व्यक्ति तत्काल पक्राउ पनि परिसकेका छन्। इन्टरनेट हाम्रो जीवन–पद्धति बनेको २ दशकभन्दा बढी भइसकेको पनि केही व्यक्तिले यसलाई भर्खरै प्रयोगमा ल्याउन पाएका हुन्। यसलाई दुरुपयोग गर्दा कानुनको फन्दामा परिन्छ भन्ने पनि धेरैलाई ज्ञान छैन। त्यति मात्र होइन, इन्टरनेटमा छद्म उपस्थितिबाट गरिने व्यवहार पनि सजिलै जानकारीमा लिन सकिन्छ भन्ने पनि तिनलाई थाहा छैनन्। अझ अनलाइनमा जस्तो काम÷कुरा पनि गर्न सकिन्छ भन्ने भ्रम पनि तिनलाई छ। वास्तवमा अनलाइन वा ‘भर्चुअल वल्र्ड’ पनि हामीले भौतिक रूपमा व्यवहार गर्ने समाजजस्तै हो। जुन कुरा हामी कुनै व्यक्तिसामु भन्न÷गर्न सक्दैनौं, त्यो अनलाइनमा पनि गर्न हुँदैन। र, अनलाइनमा हामीले गर्ने सबै कुरा ‘फुटप्रिन्ट’का रूपमा रहन्छन्। त्यो अभिलेख भविष्यमा आफ्नै निम्ति प्रत्युत्पादक नहोस् भन्नेमा पनि ध्यान दिन आवश्यक छ। संसारका जुनसुकै कुनामा बसेर गरिएको भए पनि यस्ता हर्कतबापत दण्डित हुनुपर्ने अवस्था आउँछ।

असल पत्रकारिता ‘फेक न्युज’ मा फस्टाउँदैन। अहिले भ्रम चिर्न पनि परम्परागत पत्रकारिताको आवश्यकता झनै बढेको छ। त्यही भएर अहिले फेरि ‘प्रिन्ट इज प्रुफ’ अर्थात् ‘छापिएका कुरा नै प्रमाण’ हुन् भनी भारतीय पत्रपत्रिकाले भर्खरै गरेको विज्ञापन पनि यसको उदाहरण हो। अतः ‘फेक न्युज’बाट नझुक्किऔं, विश्वसनीय माध्यमबाट सुसूचित हुँदै अहिले व्याप्त कोरोना संक्रमण (सन्त्रास)बाट आफूलाई बचाऔं।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

Ncell Footer Ad