१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

रेसको अनुभव

सुयोमान सिंह बस्न्यात,
कक्षा–४,
अरुणिमा सेकेण्डरी स्कूल, आरुबारी, काठमाडौं

गएको फागुन २, ३ र ४ गते फर्पिङको हात्तीवनमा ‘नवौं हिमालयन आउटडोर फेस्टिभल’ भयो। उक्त फेस्टिभलमा विभिन्न कार्यक्रम भएको थियो। सोमध्ये साइकल रेस पनि एक थियो। जसअन्तर्गत ‘क्रस कन्ट्री’ ‘डाउन हिल’ र ‘नाइट अप हिल’ विधाको साइकल रेस भएको थियो। जसमा विभिन्न उमेर समूहका महिला र पुरुषको छुट्टाछुट्टै रेस भए। बच्चाहरूको चाहिँ १३ वर्षमुनि उमेर समूहको क्रस कन्ट्री साइकल रेस भएको थियो। जसमा मैले पनि भाग लिएको थिएँ।

उक्त रेसका लागि नाम दर्ता गर्ने हात्तीवनसम्म साइकल पुर्‍याउने, ल्याइदिने, रेसको दिन खाना लगायतको सम्पूर्ण व्यवस्था मेरो लागि कान्तिपथस्थितको पञ्च–अष्टनारायण (प्यांक) साइकल पसलले गरेको थियो। उक्त हिमालयन आउटडोर फेस्टिभलका लागि प्यांक साइकल पसलले पनि सहयोग गरेको रहेछ। अझ बच्चाहरूको साइकल रेस प्यांककै पहलमा समावेश गरिएको रहेछ।

मैले धेरै वटा साइकल र्‍यालीमा भाग लिएको छु। अझ काठमाडौंबाट जनकपुरसम्म दुई पटक साइकलमै यात्रा गरेको छु। तर, ममा रेसको अनुभव थिएन। रेसको हुने दिन नजिक आउँदै थियो। रेसमा मैले दोस्रो मात्रै भएको सपना देख्न थालें।

रेसमा यो मेरो पहिलो सहभागिता भए पनि म रेस जित्छु भन्ने आत्मविश्वास थियो। फागुन ३ गते बाबा र म बिहान १० बजे हात्तीवन पुग्यौं। त्यहाँ पुग्दा विदेशी र नेपालीहरूको घुइँचो थियो। हामी त्यहाँ पुग्दा दौडको तयारी भइरहेको रहेछ। केहीबेरमै ससाना भाइबहिनीहरू र ठूल्ठूला मान्छेहरूको दौड एकैसाथ शुरू भयो। दौड सकिएपछि ठूला मान्छेहरूको साइकल रेस भयो। करीब १ बजेतिर १३ वर्षमुनिका बच्चाहरूको साइकल रेस शुरू भयो। रेसमा विदेशीहरू पनि सहभागी थिए। रेसको लागि अरू जस्तै म पनि लाइनमा बसें। रेस हुनुअघि सबैको नाम बोलाइयो। त्यही क्रममा प्यांकबाट राइडर नं. २३१ सुगोगमान सिंह बस्न्यात भनेर मेरो नाम पनि बोलाइयो। मैले पनि यस भन्दै हात उठाएँ। अनि मनमनै पहिला हुन्छु भन्ने लाग्यो। रेस शुरू भयो। केहीबेरसम्म म सबैभन्दा अघि थिएँ। केहीबेरपछि एउटा विदेशीले मलाई पछ्यायो। उसको र मेरो कडा प्रतिस्पर्धा भयो।

उसले मलाई उछिन्यो। कस्तो अचम्म सपनामा देखे जस्तै विपनामा पनि म दोस्रो भएँ। रेसमा भाग लिन पाउनु नै मेरा लागि ठूलो कुरा थियो। झन् पहिलो सहभागितामै दोस्रो हुँदा खुशी लाग्यो। उक्त कार्यक्रममा अल्ट्रा म्याराथुनको विश्व च्याम्पियन दिदी मीरा राई पनि आउनुभएको थियो। उहाँले मलाई ‘बधाई छ सुयोग बाबू’ भन्नुभयो। मैले उहाँसँग फोटो पनि खिचें। यत्तिकैमा ५ बजेतिर बिजेताहरूलाई पुरस्कार वितरण कार्यक्रम शुरू भयो। मैले द्वितीय भएबापत तक्मा, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरें। त्यतिबेला मेरो खुशीको सीमा रहेन। बेलुका पार्टी र सांगीतिक कार्यक्रमको व्यवस्था थियो। घर टाढा भएकोले बाबा र म उक्त कार्यक्रममा सहभागी नभई घर फर्कियौं। प्यांक साइकल पसलको तिरेक अकंल तथा विजयरत्न अंकललाई धेरै धन्यवाद। उहाँहरूले गर्दा नै मैले रेसबारे थाहा पाएँ। उहाँहरूले नै रेसमा मेरो सम्पूर्ण व्यवस्था मिलाइदिनु भएको थियो।

प्रकाशित: ८ चैत्र २०७६ ०१:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App