coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘हलिउड विक’ मा प्रशंसा बटुल्दै आर्थर गन

काठमाडौं – सांगीतिक रियालिटी सो ‘अमेरिकन आइडल’ को १८ औं संस्करणको टप २० मा छानिएका नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) ले ‘हलिउड विक’ राउन्डमा प्रस्तुति दिएका छन्।

अमेरिकन आइडलले औपचारिक युट्युब च्यानलमा राखिएको ‘हलिउड विक’ राउन्डमा ‘नमस्ते’ अभिवादन गर्दै उनले ब्ल्याक त्रोज्सको ‘हार्ड टु ह्यान्डल’ गीत सुनाएलगत्तै निर्णायकबाट प्रशंसा बटुलेका थिए।

उनको गायन प्रस्तुतिबाट अमेरिकन आइडलका निर्णायकहरू गायिका केटी पेरी, लुका ब्रायन र लियोनल रिची प्रभावित भएका थिए। निर्णायक रिचीले केटीलाई दिवेशको स्वरले आफूलाई गायक बब मार्लीको स्मरण गराएको बताएका थिए। ‘दिवेशको स्वर र स्टेज प्रस्तुतिले मलाई गायक बब मार्लीको स्मरण गराइरहेको छ,’ निर्णायक रिचीले केटीलाई भने।

‘हलिउड विकमा सहभागी निर्णायक र दर्शकहरू मेरो प्रस्तुतिमा झुमेको देखेर खुसी लाग्यो,’प्रस्तुतिलगत्तै दिवेशले भने। यसअघि उनले अमेरिकाको कन्सासमा आयोजना भएको अडिसनको दौरान निर्णायकहरूलाई नमस्कार गर्दै बब डिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’ गीत गाएका थिए।

पाँच वर्षदेखि अमेरिकामा रहेका उनको सांगीतिक प्रस्तुतिबाट प्रभावित भएका निर्णायकहरू प्रशंसा गर्दै सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका थिए। उनले सन् २०१८ मा आठ वटा गीतसहित ‘ग्रहण’ नामक एल्बम निकालेका थिए। सात वर्षअघिदेखि सांगीतिक यात्रा सुरु गरेका उनी जोन मार्टिन, निक ड्र्याक, बब डिलन, बुक्का व्हाइट, रोबर्ट जोनसन, हाउलिन उल्फ र जोन लि हूकरको गीतहरूबाट प्रभावित छन्। उनको औपचारिक युट्युब च्यानलमा ‘म’, ‘खोज’ र ‘कर्णाली’ लगायत गीतहरू राखिएका छन्।

प्रकाशित: ५ चैत्र २०७६ ०३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App