१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

साँघुरो बाटोमा ‘साइड’ दिँदा दुर्घटना

तस्बिर : नगेन्द्र/नागरिक

सुर्खेत- सुर्खेतको चिंगाड गाउँपालिकाबाट सदरमुकाम वीरेन्द्रनगर आउँदै गरेको यात्रुवहाक जीप बुधबार बिहान रातानाङ्ला–धरमपोखरा सडकखण्डको राउटे गल्छी नजिकै दुर्घटना भयो। तीन जनाले ज्यान गुमाए। चार जना गम्भीर घाइतेको उपचार भइरहेको छ। घाइतेका अनुसार चालकको लापरबाही र साँघुरो सडकको कारण जीप दुर्घटना भएको हो।

‘वीरेन्द्रनगरबाट आएको गाउँपालिकाको गाडीलाई साँघुरो र भिरालो सडकमा साइड दिँदा जीप भिरबाट खस्यो,’ घाइते चिंगाड गाउँपालिकाका वीरबहादुर गाहाले भने, ‘चालकले जीप ब्याक गरेर खुल्ला ठाउँमा ल्याइदिएको भए घटना हुन्थेन।’ बिहान आठ बजे चिंगाड गाउँपालिकाको गौडेनीबाट छुटेको नमस्ते सुर्खेत यातायात प्रालिको ०२–००१ ज०००७ नम्वरको जीप साढे नौ बजे वीरेन्द्रनगर नगरपालिका–१५ को राउटेगल्छी मोडमा दुर्घटना भएको थियो। सडकबाट साढे चार सय मिटर तल जीप खस्दा चिंगाड गाउँपालिका–६ भोर्जनीका ५२ वर्षीय देवबहादुर खड्का, वीरेन्द्रनगर नगरपालिका–१५ रतुका ४० वर्षीय खड्कबहादुर बुढाथोकी र ३९ वर्षीया गोमा बुढाथोकीको मृत्यु भयो। खड्कबहादुर र गोमा श्रीमान–श्रीमती हुन्।

घाइतेहरुका अनुसार चालकले जीप सुरुदेखि नै तीव्र गतिमा गुडाइरहेका थिए। जीपका सञ्चालक पनि सँगै थिए। जीपका मालिक नरबहादुर नेपालीले पनि विस्तारै हाँक्न भनिरहेका थिए। ‘चालकलाई विस्तारै चलाउन यात्रु र साहुले पटक–पटक आग्रह गरेका थियौं,’ उनले भने, ‘हाम्रो आग्रहलाई उनले नसुनेझै गरेँ।’

दुर्घटनास्थल सुर्खेत र दैलेखको सिमानामा पर्छ। दुर्घटनास्थलको एक किलोमिटर वरपरको क्षेत्रमा अधिक मोडहरु छन्। ‘मोडमा विस्तारै साइड काटेको भए दुर्घटना हुन्थेन,’ प्रत्यक्षदर्शी चिंगाड गाउँपालिका उपाध्यक्ष मनमाया आचार्यले भनिन्, ‘जीप तीव्र गतिमा भएका कारण सिधै भिरबाट खस्यो।’ उनले दुर्घटनास्थल अत्यन्तै साँधुरो भएकाले साइड लिने ठाउँ पनि नभएको बताइन्।

दुर्घटनामा चिंगाड गाउँपालिका–६ पाम्काका वीरबहादुर गाहा, चन्द्राकुमारी गाहा, जीपका मालिक वीरेन्द्रनगर–४ चिसापानीका नरबहादुर नेपाली र वीरेन्द्रनगर–१६ कि लक्ष्मी ज्ञवाली घाइते भएका छन्। घाइते मध्ये चन्द्राकुमारी र जीप चालकको अवस्था गम्भीर छ। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रवी रावलका अनुसार तीव्र गतिमा रहेको जीपले मोड काट्न नसक्दा भिरबाट खसेको हो। ‘स्पिडमा आएको जीप मोडमा काट्न नसक्दा दुर्घटना भएको देखिन्छ,’ उनले भने, ‘घटनास्थल मुचुल्का सकिएको छ, विस्तृत अनुसन्धान गरिरहेका छौं।’

 

 

 

प्रकाशित: २१ फाल्गुन २०७६ १०:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App