१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

औद्योगिक प्रदर्शनी स्थल निर्माण तयारी

विराटनगरमा सम्पन्न विराट एक्स्पोका लागि निर्माण गरिएको डोमाइन। डोमाइनको मोडलमा स्थायी प्रदर्शनी स्थल निर्माणको तयारी थालिएको छ। फाइल तस्बिर : नागरिक

विराटनगर - विराटनगर–३ स्थित आयल निगममा औद्योगिक प्रदर्शनी स्थल निर्माणको तयारी गरिएको छ। प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको त्रिपक्षीय साझेदारीमा औद्योगिक प्रदर्शनी स्थल निर्माणको तयारी गरिएको विराटनगर महानगरपालिकाले जनाएको छ।

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीका अनुसार औद्योगिक प्रदर्शनी निर्माण यसै आर्थिक वर्षदेखि सुरू हुने छ। विगतमा भ्यु–टावरसहितको औद्योगिक प्रदर्शनीस्थल निर्माणको तयारी गरिए पनि जग्गा विवाद र विमानस्थललाई अवरोध पुग्ने भएपछि भ्युटावर निर्माण योजना अबरुद्ध भएको थियो।  विराटनगरस्थित सत्य नारायण मन्दिरको नाममा रहेको गुठीको जग्गा उद्योग संगठन मोरङले प्रदर्शनी स्थलका लागि ९० वर्षलाई लिजमा लिइसकेको छ। विराटनगर–३ स्थित आयल निगममा उद्योग संगठन मोरङले लिजमा लिएको जग्गा र करिब चार बिघा जग्गामा प्रदर्शनीस्थल निर्माणको तयारी गरिएको अधिकारीले बताए।

उनका अनुसार प्रदेश, महानगरपालिका र निजी क्षेत्रका प्रतिनिधिको बैठकले चाँडै काम अघि बढाउने तयारी भइरहेको छ। अधिकारीले भने, ‘निर्माणको मोडलका विषयमा त्रिपक्षीय छलफल  निर्माणको काम अघि बढ्छ।’ प्रदर्शनी स्थलका लागि अघिल्लो आर्थिक वर्षमा प्रदेश र महानगरपालिकाले बजेट विनियोजन गरेको भए पनि जग्गा विवादका कारण काम अवरुद्ध भएपछि विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि बजेट निवनियोजन गरेको छैन। चालु आर्थिक वर्षका लागि बजेट विनियोजन नगरे पनि फागुन ३० गते बस्ने नगरसभाबाट औद्योगिक प्रदर्शनी स्थलका लागि बजेटको व्यवस्था गर्ने तयारी भइरहेको अधिकारीले जानकारी दिए। प्रदर्शनी स्थलको संरचनाका विषयमा अनौपचारिक सहमतिसमेत भइसकेको उनले बताए।

‘केहि दिन पहिले विराटनगरमा आयोजना गरिएको औद्योगिक प्रदर्शनीमा प्रयोग भएको डोमाइन स्टाइलको संरचना निर्माण गर्ने विषयमा निजी क्षेत्रसँग अनौपचारिक सहमति पनि भइसकेको छ,’ अधिकारीले भने। आगामी वर्ष विराटनगरमा  आयोजना हुने औद्योगिक व्यापार मेला नयाँ औद्योगिक प्रदर्शनी स्थलमै आयोजना गरिने अधिकारीले दाबी गरे। उनले भने, ‘आगामी वर्ष आयोजना हुने औद्योगिक व्यापार मेला नयाँ प्रदर्शनी स्थलमै आयोजना गरिने छ।’ यता उद्योग संगठन मोरङका उपाध्यक्ष राकेश सुरानाले औद्योगिक प्रदर्शनी स्थल निर्माण कार्य अघि बढेको जानकारी दिए। उनका अनुसार प्रदर्शनी स्थलको डिजाइनलगायत काम अघि बढिसकेको छ। सुरानाले भने, ‘प्रदेश सरकार र बिराटनगर महानगरपालिकासँग छलफल गरेर यसै आर्थिक  वर्षदेखि संरचना निर्माणको काम अघि बढाइन्छ।’ नेपालमा औद्योगिकीकरणको सुरुवात भएको बिराटनगरमा अझैसम्म ओद्योगिक प्रदर्शनी स्थल बन्न सकेको छैन।

यहाँका उद्योगी व्यवसायीले वर्षौंदेखि औद्योगिक प्रदर्शनी स्थल निर्माणको माग गर्दै आएका छन्। सरकारसँग जति माग गरे पनि  आश्वासन बाहेक केही  उपलब्धी नभएपछि उद्योग संगठन मोरङले प्रदर्शनी निर्माणका लागि अगुवाइ गरेर जग्गा लिजमा लिइएको थियो। प्रदर्शनीस्थल निर्माणलाई जग्गा व्यवस्थापन भए पनि विभिन्न कारणले काम भने हुन सकिरहेको थिएन । लामो समयको विवाद र खिचातानीपछि बल्ल प्रदर्शनी स्थल निर्माणको काम अघि बढाउन प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्र तत्पर भएका हुन्। प्रदर्शनी स्थल नहुँदा विराटनगरमा कृषि, औद्योगिक, फुटवयरलगायत  प्रदर्शनी आयोजना गर्न समस्या भइरहेको छ। व्यवस्थित प्रदर्शनी स्थलको अभावमा यस्ता प्रदर्शनीका कारण सहर नै अस्तव्यस्त हुने गरेको छ।

प्रकाशित: १९ फाल्गुन २०७६ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App