१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

डोला उठाउँदै प्रचण्डद्वारा मिथिला परिक्रमाको उद्घाटन

धनुषा- नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मिथिलाविहारी भगवानको डोला उठाउँदै मिथिला परिक्रमाको उद्घाटन गरेका छन्। मिथिलाविहारी मन्दिर पुगेका प्रचण्डले हेलिकोप्टरबाट पुष्पवृष्टिसमेत गरेका थिए।

उनले सो अवसरमा परिक्रमा प्रारम्भ हुने स्थलमा धर्मशाला बनाउने घोषणा गरेका छन्। परिक्रमाको आज उद्घाटन गर्दै प्रचण्डले परिक्रमा प्रारम्भ हुने स्थल धनुषाको मिथिलाविहारी नगरपालिकाको कचुरीको मिथलाविहारीको मन्दिर नजीक धर्मशाला बनाउने घोषणा गरेका हुन्। उनले भने, 'यहाँ धर्मशालाका बनाउनुपर्ने ठूलो आवश्यकता रहेको छ। यस कारण यहाँ धर्मशाला बनाउन पार्टीका तर्फबाट र मेरोतर्फबाट तपाईंहरुलाई पूर्ण सहयोग रहन्छ, मेरातर्फबाट हुने हरेक किसिमको सहयोग गर्न तयार छु। धर्मशाला निर्माणमा कुनै कमी रहन दिन्न।'

मिथिला मध्यमा परिक्रमाले नेपाल र भारतका लागि महाकुम्भ भएको भन्दै प्रचण्डले दुवै देशको धार्मिक संस्कृति आदानप्रदानमा ठूलो योगदान पुर्‍याइरहेको बताए। आफू पहिलोपटक प्रधानमन्त्री रहेका बेला पनि परिक्रमा मार्गका लागि सहयोग गर्ने अवसर पाएको स्मरण गर्दै उनले मिथिलाविहारी परिषद गठन गर्न पनि आफ्नो सहयोग रहने प्रतिवद्धता व्यक्त गरे।

विश्वकै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा आजदेखि विधिवत् सुरु भएको छ। मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ। एक सय ३३ किलोमिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो सङ्ख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुको सहभागिता रहने गरेको छ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत् रुपमा सुरु भएको हो।

प्रकाशित: ११ फाल्गुन २०७६ १०:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App