१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कोरोना प्रभावले अधिकांश होटलका बुकिङ रद्द

काठमाडौं - चीनबाट फैलिएको कोरोना भाइरसका कारण नेपालमा आउने चिनियाँ पर्यटकको संख्या घट्दो क्रममा छ। सन् २०२०को पहिलो महिनाको तुलनामा दोस्रो महिनामा २० प्रतिशत मात्रै चिनियाँ पर्यटक नेपाल भित्रिएका छन्। नेपाल र चीनसँगको सिधा हवाई सेवा प्रभावित रहेको यो बेला भाइरसको असर काठमाडौंका मझौला तथा तारे होटलसम्मै पुगेको छ। सरकारले भ्रमण वर्ष सफल पार्न चीनबाट मात्रै पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेपनि उक्त लक्ष्य प्राप्तिहालको होटल अकुपेन्सी हेर्दा असम्भव देखिन्छ।

भ्रमण वर्षमा नेपाल आउने योजना बनाएका अधिकांश चिनियाँ पर्यटकले बुकिङ रद्द गर्दा होटल व्यवसायमा प्रत्यक्ष असर पुगेको छ। चिनियाँ पर्यटक नेपाल आउन छाडेको र कोरोनोको त्रासकै कारण अन्य मुलुकका पर्यटकको नयाँ बुकिङमा समेत असर परेको सम्बद्ध होटल व्यवसायीले जानकारी गराएका छन्। पर्यटन व्यवसायमा कोरोनाले ठूलो धक्का दिने देखिएपछि व्यवसायीहरु विकल्प खोज्न थालेका छन्। उनीहरु कोरोनाको प्रभावले व्यवसायमा देखिएको जोखिम कम गर्न तथा अन्य पर्यटकीय बजार खोज्न छलफलमा जुटेका छन्। बानेश्वरस्थित एभरेस्ट होटलका बजार निर्देशक सुशील लामाका अनुसार कोरोना भाइरसको प्रभावले जनवरी अन्त्यदेखि अप्रिलसम्मका बुकिङ रद्द भइसकेका छन्।

कोरोनाकै कारण भुटान, ताइवान, भारत, कोरिया, जर्मनी तथा युरोपिएन मुलुकबाट आएका बुकिङ समेत रद्द

‘भ्रमण वर्षको पूवार्धमै सञ्चालनमा आएको होटलमा चिनियाँ पर्यटकसँगै अन्य मुलुकका पर्यटकको संख्यामा समेत ह्रास आएको छ। उनले भने, ‘कोरोनाकै कारण भुटान, ताइवान,भारत,कोरिया जर्मनी तथा युरोपियन मुलुकबाट आएका बुकिङ समेत रद्द भएका छन्।’ पर्यटकको सिजनलाई लक्ष्य गरी आएका बुकिङ रद्द हुनाले होटलको सेवा प्रभावित बन्न पुगेको उनको भनाइ छ। एउटा समूह आउँदा १० देखि १५ कोठा बुक हुने गरेको बताउँदै उनले भाइरसकै कारण हालसम्म १५ समूहले बुकिङ रद्द गरिसकेको जानकारी गराए। पछिल्लो समय भारतबाट आउने पर्यटकमा समेत कोरोनाको असर परेको उनको भनाइ छ। लाजिम्पाटस्थित होटल सांग्रिलाका ग्रुपसेल्स म्यानेजर बबिता पाण्डेले चिनियाँ पर्यटकको बुकिङ रद्द हुँदै गर्दा अन्य देशका पर्यटक समेत पातलो हुँदै गएको बताइन्।

‘कोरोनाकै कारण चिनियाँ पर्यटकले गरेका बुकिङ रद्द हुने क्रम छ,’ उनले भनिन्, ‘अन्य मुलुकबाट आएका बुकिङ समेत रद्द हुनेक्रम बढेको छ। नयाँ बुकिङमा पनि असर देखिएको छ।’ कोरोनाकै कारण काठमाडौं र पोखराका होटलको फेब्रुअरीदेखि मार्चसम्मका बुकिङ रद्द भएको पाण्डेले जानकारी दिइन्। कोरोनाको असर होटल याक एन्ड यतीमा पनि गहिरै परेको छ। होटल स्रोतका अनुसार चिनियाँ पर्यटकले बुकिङ बन्द गरेका छन् भने पहिले गरिएका बुकिङ पनि अन्तिम समयमा आएर रद्द भएका छन्। स्रोतले बताए अनुसार जनवरीको तेस्रो सातादेखि उक्त होटलमा कुनै चिनियाँ पर्यटक आएका छैनन्। चिनियाँ पर्यटकको बुकिङ रद्द हुँदा ८० हजार डलरसम्म नोक्सान भएको तथा गत जनवरीदेखि हालसम्म चार सयभन्दा बढी कोठा बुकिङ रद्द भएकोस्रोतले बतायो।

होटल याक एन्ड यतीमा फेबु्रअरी ८, ९ र १० मा चिनियाँ राजदूतावास लगायतको तीनदिने बृहत् सम्मेलन समेत रद्द गरेको थियो। कोरोनाको कारण राजधानीमा रहेका अन्य तारे होटलदेखि पर्यटकस्तरीय होटलसम्ममा गहिरो प्रभाव परेको अन्नपूर्ण होटलका एक अधिकारीले जानकारी गराए। नाम नखुलाउने सर्तमा उनले भने, ‘कोरोनाकै कारण अन्नपूर्णले ५० प्रतिशत भन्दामाथि अकुपेन्सी गुमाएको छ। हाल होटलमा चिनियाँ पर्यटक देख्न समेत मुस्किल भएको बताउँदै उनले पहिले आएका बुकिङ रद्द हुँदा होटलमा अन्य मुलुकका पर्यटकको संख्यामा पनि कमी आएको जानकारी दिए। चिनियाँ नयाँ वर्षलक्षित पर्यटकले अग्रिम बुकिङसहित कतिपय सम्मेलनको बुकिङ पनि रद्द गरेको स्रोतले जनाएको छ।

तरहोटल संघ नेपाल (हान)ले चिनियाँ पर्यटकले चार–पाँच महिना पहिलेदेखि होटल बुकिङ गर्ने गरेकाको र हाल त्यहाँको कानुन अनुसार नै भ्रमणमा रोक रहेकाले केही बुकिङ रद्द हुनु स्वाभाविक भएको जनाएको छ। नयाँ वर्षलाई मध्यनजर गर्दै नेपाल भ्रमणको योजना बनाइसकेका पर्यटक नेपाल आउन नपाउँदा अग्रिम बुकिङ रद्द भएको हान स्रोतको भनाइ छ। हालसम्म कोरोनाको असरले कति जति रकम नोक्सान भयो भन्न नमिल्ने भएपनि सरकारले अभियानमार्फत नेपाल भाइरसमुक्त रहेको खबर संसारभर दिन खोजेकाले चाँडै होटलहरु भरिभराउ हुने हानको अपेक्षा छ। सञ्चार माध्ययमले बढी नै ठाउँ दिँदा भयावह जस्तो देखिएपनि सोचे जस्तो अवस्था नरहेको र अन्य मुलुकबाट आउने पर्यटकको संख्यामा कुनै असर नपरेको स्रोतको दाबी छ।

बंगलादेशबाट बर्सेनि ३० हजारको संख्यामा पर्यटक नेपाल आउने गरे पनि त्रिभुवन विमानस्थलमा भएको युएएस बंगला एयरको विमान दुर्घटनापछि उक्त संख्या पाँच हजारमा झरेको बताउँदै नेपाल सुरक्षित भएको प्रचार नगरे देशको पर्यटन उद्योग नै घराशयी बन्न सक्ने हानको आकलन छ। हानले भ्रमण वर्ष सचिवालयसँग चिनियाँ पर्यटकको विकल्पबारेछलफल गरेको जनाउँदै चिनियाँ पर्यटकको विकल्प भारत, बंगलादेश, मध्यपूर्व, दक्षिण पूर्वी एसियाली लगायत मुलुकबाट पर्यटक भिœयाउन छलफल भइरहेको जनाएको छ।

प्रकाशित: ९ फाल्गुन २०७६ ०४:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App