२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

दुुवै सदन अवरुद्ध

काठमाडौं – सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोडको कमिसनसम्बन्धी अडियो सार्वजनिकपछि प्रमुख प्रतिपक्षी कांग्रेसले बिहीबार प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै सदन अवरुद्ध गरेको छ। सञ्चारमन्त्री गोकुल बाँस्कोटासँगको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा ७० करोड रुपैयाँ कमिसन संवादको अडियो सार्वजनिक भएकोमा आपत्ति जनाउँदै कारबाहीको माग गर्दै कांग्रेसले संघीय संसद्को बैठक अवरुद्ध गरेको हो।

प्रतिनिधि सभाको बिहीबारको बैठकको सुरुमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुषालले सञ्चारमन्त्री बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने, प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने, सञ्चारमन्त्रीलाई कानुनी दायराभित्र ल्याएर कारबाही गर्नुपर्ने माग गरिन्। जनताले विश्वास गरेर पठाएको सरकारले जनताको करमाथि खेडवाड गर्दै हिडेको उनले आरोप लगाइन्। प्रधानमन्त्रीले ‘म भ्रष्टाचार गर्दैन, गर्नेको मुख पनि हेर्दिन,’ भन्ने कुराको उद्घोष गरेको भए पनि सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको उनले बताइन्। नेपाल सरकारबाट विभिन्न निर्णय गरेर भ्रष्टाचार भइरहेको पनि उनले बताइन्। जनताबाट उठाएको करमा ठग्ने प्रवृत्तिमा प्रधानमन्त्री किन उद्यत् हुनहुन्छ भन्दै उनले प्रधानमन्त्रीलाइ भनिन्, ‘यस्तै भ्रष्टाचारको नमुना गर्नका लागि क्याबिनेट मन्त्रीमा अब्बल मन्त्री भन्नु भएको हो।’ भ्रष्टाचारमा शून्य सहनसिलताको कुरा गरेको धेरै भएको छैन, तर भ्रष्टाचारका कुरा बाहिर आइरहेका छन्,’ उनले भनिन्, ‘हिजो जग्गा फिर्ता गरेको कारणले कारबाही हुन्न भने जस्तै राजीनामा दिएपछि कारबाही हुन्न भन्ने कुरा गरेर हुँदैन, कानुनी कारबाही गर्नुपर्दछ,’ उनले भनिन्। उनको भनाइपछि कांग्रेसका सबै सांसद् आ–आफ्नो स्थानबाट उठेपछि बैठक अवरुद्ध भएको हो। सभामुख अग्नि सापकोटाले सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिएको जानकारी गराएका थिए। उनले लिखित रूपमा औपचारिक राजीनामाको जानकारी नआए पनि अनौपचारिक रूपमा मौखिक राजीनामाको जानकारी आएको भन्दै कांग्रेस सांसदलाई बस्न आग्रह गरेका थिए।

यसैगरी, राष्ट्रियसभाको बैठक पनि अवरुद्ध भएको छ। बैठकमा कांग्रेसका सांसद जितेन्द्रनारायण देवले पनि सञ्चारमन्त्री बाँस्कोटाको ७० करोडको कमिसनसम्बन्धी अडियोबारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिन माग गरे। उनले सञ्चारमन्त्रीको बर्खास्त गर्नुपर्ने, यसबारे छानबिन समिति गठन गर्नुपर्ने, प्रधानमन्त्रीले सदनमा आएर यसबारे जानकारी दिनुपर्ने माग गरेपछि सबै कांग्रेस सदस्य आ–आफ्नो स्थानमा उठेका थिए। त्यसपछि बैठक स्थगित भएको थियो। राष्ट्रियसभाको बैठक निर्धारित समय दिउँसो १ बजे सुरु भएको थियो भने प्रतिनिधिसभाको बैठक १ बजे बोलाइए पनि ३ बजेमात्रै सुरु भएको थियो। सञ्चारमन्त्री कञ्चनपुरमा थिए। प्रधानमन्त्री केपी ओलीले उनलाई तुरुन्त काठमाडौं बोलाइएका थिए।

यता संसद्को सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रक्रिया रोक्ने निर्देशन दिएको छ। बिहीबार बसेको बैठकले अर्को निर्णय नहुँदासम्म सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रक्रिया अघि नबढाउन निर्देशन दिएको छ। समितिको बिहीबार बसेको बैठकले यस सम्बन्धमा सार्वजनिक लेखा समितिले अध्ययन गरिरहेको हुँँदा हाललाई सेक्युरिटी प्रेस स्थापनासम्बन्धी कार्य यथास्थितिमा राख्न निर्देशन दिएको हो।

प्रकाशित: ९ फाल्गुन २०७६ ०३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App