८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

चिनियाँ राजनीतिमा कोरोना चुनौती

येन येन आङ

चीनका राष्ट्रपति सी चिनफिङले माओत्सेतुङपछिका नेताहरूको तुलनामा धेरै शक्ति आफ्नो हातमा लिएपछि चीन भित्र र बाहिरका धेरैले उनी राजनीतिक रूपमा चुनौतीविहीन रहेको निष्कर्ष निकाले। तर कोरोनाभाइरसको प्रकोपले उनको शासनको आधारभूत कमजोरी उदांगिएको छ।

कुनै सत्ता परिवर्तन नभई र पश्चिमी राष्ट्रले भन्ने गरेको प्रजातान्त्रीकरण प्रक्रियाबिनै व्यापक राजनीतिक परिवर्तन सम्भव छ भन्ने उदाहरण वर्तमान चीनले प्रस्तुत गरेको छ।  सन् १९७८ मा सत्तामा आएपछि देङ साओपिङले सुरु गरेको सुधार र खुलापनका कारण यो सम्भव भएको हो। चिनफिङले बहुदलीय चुनाव अस्वीकार गरे पनि उनले चीनको कम्युनिस्ट पार्टीको दिशा र यसभित्रको शक्ति बाँडफाँडमा व्यापक परिवर्तन गरिदिएका छन्।

सन् २०१९ डिसेम्बर महिनामा उहान प्रान्तबाट सुरु भएको कोरोनाभाइरसको प्रकोपका कारण चीनमा यस्तै प्रकारका ऐतिहासिक परिवर्तन आउन सक्ने देखिएको छ। कोरोनाभाइरस इपिडेमिक नाइन्टिन अर्थात् कोभिड–१९ भनेर चिनिएको यो महामारी चीनको कम्युनिस्ट पार्टीलाई यसै टरेर जाने संकटजस्तो देखिएको छैन। अन्तर्राष्ट्रिय समुदाय अब चीनमा के होला भन्ने विषयमा तयार रहन आवश्यक छ। सामान्यतया सहीतवरले सम्बोधन नगरिए पनि एउटा प्रकोपले मात्र चीनको सत्तालाई टुट्न दिँदैन। पछिल्ला ४ दशकको अनुभवले के देखाउँछ भने चीनको कम्युनिस्ट पार्टीले सन् १९८९ को तियानमेन  स्क्वायर, सन् २००३–२००४ को सार्स प्रकोप र सन् २००८ को विश्वव्यापी आर्थिक संकटजस्ता ठूलठूला संकट थेग्न सकेको थियो। त्यतिबेला पनि केही आलोचकले चिनियाँ कम्युनिस्ट पार्टीको सत्ता ढल्ने भविष्यवाणी गरेका थिए।

के प्रस्ट छ भने कोभिड– १९ को महामारीपछि चीनको राजनीति र शासन प्रक्रिया उही रहने छैन। राष्ट्रपति चिनफिङ र उनका समर्थकले अवलम्बन गरेका केन्द्रीकृत शासन प्रणालीका सोच भताभुंग भइसकेको छ।

राष्ट्रपति सी चिनफिङअगाडि चीनको शासन प्रणाली अनुकूलन, विकेन्द्रीकरण र मेरो विचारमा प्रत्यक्ष हस्तक्षेपमा आधारित थियो। त्यतिबेला नागरिक समाज र ठूलाबडाको कर्तुतको भण्डाफोर गर्ने पत्रकारिता ह्वात्तै बढेको थियो।  
अहिलेको अवस्था अलि भिन्न छ। सन् २०१२ मा सत्तामा आएपछि चिनफिङले देशभित्र राजनीतिक नियन्त्रण र अन्तर्राष्ट्रिय क्षेत्रमा सर्वशक्तिमान राष्ट्रको महत्वाकांक्षालाई अगाडि बढाएका छन्। उनको यो नीतिले चीनका निजी लगानीकर्तालाई चिन्तित र पश्चिमा शक्तिलाई बेचैन र अमेरिकासँगको तनावलाई बढाउने काम गरेको छ। यी सबै कारणले चीनमा आर्थिक मन्दी निम्त्याएको छ। कोभिड–१९ को महामारीले चीनको यो संकटलाई अझ गहिरो र केही भन्न नसकिने स्थितिमा पु¥याएको छ।

यो महामारी कायम रहिरहँदा व्यवसायका लागि आफूलाई खुला राख्न र साना तथा मझौला व्यवसायमा आउने संकट सामना गर्न, बेरोजगारी र मूल्यवृद्धि नियन्त्रण  गर्न चीनलाई ठूलो चुनौती छ। एकपटकमा एउटा संकट सामना गर्न सक्षम भए पनि चिनियाँ नेतृत्वलाई एकैपटक यति धेरै चुनौती सामना गर्न यसअघि कहिल्यै परेको थिएन। अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री तथा एसिया सोसाइटीका वर्तमान अध्यक्ष केभिन रुडले हालै एक लेखमा यो संकट समाधान भएपछि पनि चीनको भोलिको शासन प्रक्रियामा खास परिवर्तन नहुने दाबी गरेका छन् तर स्थिति त्यति सजिलो छैन। वास्तवमा चिनफिङको एकल नेतृत्वमा दरार आइसकेको छ।

उदाहरणका लागि– कोरोनाको महामारी सुरु भइसक्दा पनि सरकारले यसलाई ढाकछोप गरेको भनेर आमजनसमुदाय आक्रोशित हँुदा पनि राष्ट्रपति चिनफिङ सार्वजनिक हुन सकेनन्। जनवरी २८ मा विश्व स्वास्थ्य संगठन प्रमुख टेड्रोस अथानोम घब्रेससँग भेटघाट गरे पनि उनी चुप रहे। फेब्रुअरी ५ तारिखमा कम्बोडियामा प्रधानमन्त्री हुनसेनसँगको वार्तालापपछि मात्र उनी सार्वजनिक भए। चीनका सञ्चारमाध्यममा हरेक दिन छाइरहने राष्ट्रपति चिनफिङ यत्रो ठूलो महामारीमा चुप रहनुलाई पर्यवेक्षकहरू शक्तिमा रहेको उनको एकछत्र नियन्त्रण संकटमा परिसकेको ठान्छन्।

वर्तमान अस्थिरताको स्थितिले राजनीतिक परिवर्तनको दिशा निर्देश गर्न सक्छ। यसमा ३ सम्भावना छन्। पहिलो–  एकदमै खराब परिस्थितिमा चीनको वर्तमान शासन सत्ता समाप्त हुन सक्छ। चीनलाई आलोचना गर्नहरू यो पढ्दा खुसी भइहाल्नुपर्ने स्थिति छैन, किनभने निरंकुश शासनको अन्तपछि त्यो देश प्रजातान्त्रीकरणउन्मुख भइहाल्छ भन्न सकिँदैन। यस्तो स्थितिमा गृहयुद्धको सम्भावना रहन्छ। जसरी सद्दाम हुसेनलाई अमेरिकाले सत्ताच्युत गर्दा इराकमा गृहयुद्ध छेडियो। त्यस्तै स्थिति लिबियामा छ।

चीभित्रै शक्तिका लागि हिंस्रक शक्ति संघर्ष भएमा समग्र विश्व समुदायका लागि विनाशकारी हुनेछ। भाग्यवश, त्यो स्थिति आउने सम्भावना छैन। चीन अत्यधिक तनावमा रहे पनि यसको अर्थतन्त्र ठप्प भएको छैन। कोलम्बिया विश्वविद्यालयका साङ जिन वाईका अनुसार चीनमा विकास भएको ई–कमर्सका कारण मानिस घरमै बसेर सपिङ गर्न सक्छन्। दसौं हजार चिनियाँ भाइरसबाट संक्रमित भए पनि र सरकारप्रति धेरै मानिस आक्रोशित भए पनि चीनका अधिकतर जनता यो महामारीबाट विचलित देखिएका छैनन्।

दोस्रो सम्भावना भनेको माथिल्लो तहको नेतृत्वमा परिवर्तन हो। राष्ट्रपति चिनफिङ पनि नियन्त्रणमुखी घरेलु नीति र अन्तर्राष्टिय क्षेत्रले लिएको कडा रवैयाका लागि दोषमुक्त छैनन्, जुन कुरा कोभिड–१९ अघि नै प्रकट भइसकेको थियो। कोरोनाभाइरसका विषयमा सुरुमा सूचना दिने डाक्टर ली वेनलियाङको मृत्युले राष्ट्रपति चिनफिङको माथिबाट तल हेर्ने ‘टपडाउन एप्रोच’ को वास्तविकता छर्लङ्ग भएको छ। ती डाक्टरको मृत्युपछि अनलाइनमा सरकारको व्यापक विरोध मात्र भएन, राष्ट्रपति चिनफिङको लोकप्रियता तथा विश्वसनीयतामा समेत प्रश्न उठेको छ।

संवैधानिक रूपमा कार्यकाल नतोकेका कारण राष्ट्रपति चिनफिङ जीव्नभर राष्ट्रपति हुन सक्छन्। तर सन् २०२२ मा अहिलेको कार्यकाल समाप्त हुँदा राष्ट्रपति चिनफिङ फेरि राष्ट्रपति हुने÷नहुने विषय एउटा खुला प्रश्न बनेको छ। चीनको शासकीय प्रणालीमा एक नेतामा अत्यधिक शक्ति रहने गरेकाले त्यस नेताको प्रभाव समाजमा र अन्तर्राष्ट्रिय सम्बन्धमा रहने गर्छ। सन् २०२२ अघि नै वा सन् २०२२ मा नयाँ नेताले राष्ट्रपति चिनफिङलाई प्रतिस्थापन गर्ने हो भने राष्ट्रपति चिनफिङले अवलम्बन गरेका पछिल्ला नीतिले तोकेका प्राथमिकताको पुनर्मूल्यांकन हुनेछ  र विश्वले चीनप्रति र उसको अन्तर्राष्ट्रिय भूमिकाका विषयमा आफ्नो सोच पनि परिवर्तन गर्नुुपर्नेछ।

तेस्रो सम्भावना भनेको राष्ट्रपति चिनफिङ पदमा रहिरहने हो। त्यसका लागि उनले  शक्ति अन्य प्रतिस्पर्धी समूहलाई हस्तान्तरण गर्नेछन् र आफू तुलनात्मक रूपमा कमजोर भूमिकामा रहनेछन्। चीनमा यस्तो पहिला पनि भएको छ। चीनलाई१० वर्षमै बेलायत हाराहारी पु-याउने उद्देश्यसहित सन् १९५८ देखि १९६२ सम्म सञ्चालित ग्रेट लिप फरवार्ड नाम गरेको माओत्सेतुङको अभियानका कारण चीनमा  ३ करोड किसानको मृत्यु भएको थियो। यो घटनापछि माओत्सेतुङ अवकाश लिन त बाध्य भए तर सर्वाेच्च नेताको रूपमा रहिरहे। तर सन् १९६६ मा सांस्कृतिक क्रान्तिका नाममा उनी फेरि चर्चामा आए र चीनलाई थप १ दशक संकटमा पारे।

अब के प्रस्ट छ भने कोभिड–१९ को महामारीपछि चीनको राजनीति र शासन प्रक्रिया उही रहने छैन। राष्ट्रपति चिनफिङ र उनका समर्थकले अवलम्बन गरेका केन्द्रीकृत शासन प्रणालीका सोच भताभुंग भइसकेको छ। कोरोनाभाइरसबारे सूचना दिने चिनियाँ डाक्टर लीको ‘एउटा स्वस्थ समाजको एक मात्र आवाज हुन हुँदैन’ भन्ने अन्तिम वाक्यले करौडांै चिनियाँको दिमागमा जरा गाडेको छ र सरकारले गर्ने सेन्सरसिपले आफूहरूको जीवन जोखिममा परेको अनुभूति उनीहरूलाई भएको छ।

लेखक येन येन आङ मिचिगन विश्वविद्यालयकी राजनीति शास्त्रकी प्रोफेसर हुन्।
प्रोजेक्ट सिन्डिकेट, एन आर्वर

प्रकाशित: ७ फाल्गुन २०७६ ०४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App