३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

गाइभैंसीलाई सुत्केरी भत्ता

नुवाकाेट – ककनी गाउँपालिकाले पशुपालन र दुग्ध व्यवसायलाई प्रोत्साहन गर्न गाइभैंसीलाई सुत्केरी भत्ता वितरण गर्न थालेको छ।

आव ०७६/७७ को नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार गाउँपालिकाको पशु सेवा शाखाले वडा नं ८ बाट गाइभैंसीलाई सुत्केरी भत्ता वितरण गर्न थालेको हो। साउन यता वडा नं ८ थानसिङमा ७५ वटा गाइभैंसी सुत्केरी भएका थिए। सुत्केरी भएका ७५ वटा गाइभैंसीका किसानलाई तीन हजारका दरले प्रोत्साहन भत्ता वितरण गरिएको पशु सेवा शाखाका प्रमुख बाबुकाजी पाण्डेले बताए।

कुनै किसानले पालेको गाइभैंसी सुत्केरी भए गाइभैंसीको बाच्छाबाच्छी देखिने गरी दूध दोहिरहेको फोटो, किसानको नेपाली नागरिकताको फोटोकपी, वडा कार्यालयको सिफारिससहितको निवेदन पशु सेवा शाखामा उपलब्ध गराउनुपर्ने छ। पशु सेवा शाखामा प्राप्त निवेदनको आधारमा किसानको घरमा गाउँपालिकाबाट अनुगमन गर्न गएपछि मात्र गाइभैंसीलाई सुत्केरी भत्ता वितरण गरिने पशु सेवा शाखाका प्रमुख पाण्डेले बताए। केही दिन पछि वडा नं ७ चतुरालेमा रहेका सुत्केरी गाइभैंसीको अनुगमन गरिने उनले बताए।

एक दिने पशु स्वास्थ्य शिविर
ककनी गाउँपालिका वडा नं ३ चाउथेस्थित ढोकाभञ्ज्याङमा एकदिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। ककनी गाउँपालिकाको पशु सेवा शाखाले आयोजना गरिएको पशु स्वास्थ्य शिविरमा एक सय १२ घरमा पालिएको पशुपक्षीको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको छ। शिविरमा पशुचौपायको गोवरपरीक्षण, गाइभैंसीको कृत्रिम गर्भाधानको साथै बोकालाई खसी पार्ने सेवा प्रदान गरिएको थियो। साथै कुखुरा, बाख्रा, गाइ, गोरु, भैंसी लगायतलाई जुका र नाम्लेको औषधि र भिटामिन निःशुल्क प्रदान गरिएको पशु सेवा शाखाका प्रमुख बाबुकाजी पाण्डेले जानकारी बताए।

पशु सेवा शाखाले अभियानकै रुपमा पशु स्वास्थ्य शिविर सञ्चालन गरिरहेकाले गाउँपालिकाको पत्येक वडामा उक्त कार्यक्रम सञ्चालन गरिने प्रमुख पाण्डेले बताए।

प्रकाशित: ६ फाल्गुन २०७६ ०४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App