ती पात्र हुन्– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन। तत्कालीन नेकपा (माओवादी)का लडाकु कमान्डरका रूपमा रोल्पाको होलेरीमा आक्रमण गर्न जााँदा उनी २४ वर्षे तन्नेरी थिए। समयले थाहै नपाई नेटो काटिरहेको हुन्छ। अंग्रेजीमा लोकप्रिय भनाइ छ– टाइम फ्लाइज लाइक एक एरो। अर्थात् काँड छुटेजस्तै गरी समय हामीलाई छाडेर अघि बढ्छ। वास्तवमा होलेरीको त्यो बेलाको आक्रमण स्मृतिबाट बिस्तारै बाहिरिँदै छ। स्वयं त्यसमा सहभागी भएकाहरूले समेत कतिपय प्रसंग बिर्सिन थालिसकेका छन्।
संयोगले यसपटक माओवादी ‘जनयुद्ध’को उद्गम थलोमध्ये एक– रोल्पाको होलेरीमा आयोजित ‘राष्ट्रिय मिडिया सम्मेलन’मा सहभागी हुने अवसर मिल्यो। ‘जनयुद्ध’ सुरु गर्दाको त्यो समयबारे त्यसकै कर्ताका मुखबाट केही सुन्ने अवसर पनि पाइयो। त्यसले हामीलाई फेरि एकपटक त्यही समयमा पुगेर स्मृतिका केस्रा केलाउन बाध्य पा-यो।
रुन्टीगढी गाउँपालिकाले राष्ट्रिय मिडिया सम्मेलन आयोजना गरेको हो। गाउँपालिकाले राष्ट्रिय मिडिया सम्मेलन आयोजना गर्नु आफैंमा परिवर्तित समयको एक द्योतक हो। पहिले–पहिले राष्ट्रिय सम्मेलन त काठमाडौंमा गरिन्थे। यतिबेला एउटा गाउँपालिका सरकारले पनि उत्तिकै हैसियत राख्न सक्छ। गत वर्ष यही गाउँपालिकाले अक्षर सम्मेलन आयोजना गरेको थियो। संघीयताको अभ्यास हुन नथालेको भए पालिका सरकारसमेत यति सशक्त सायदै हुने थिए।
अहिले संघीय, प्रदेश र स्थानीय गरी ३ तहका सरकारले आफ्नो काम आफैं व्यवस्थित गरिरहेका छन्। यी सबै सरकार आआफ्नै तहमा सक्रिय छन्। पालिका सरकार आफैंले आफ्ना कार्यक्रम तय गरी अघि बढ्न सक्ने संवैधानिक व्यवस्था छ।
तत्कालीन माओवादी विद्रोहको उठान तथा अवतरण र अहिलेको अभ्यासका हिसाबले रोल्पाको होलेरी एउटा अध्ययन क्षेत्र हो।
रुन्टीगढी गाउँपालिकाले यतिबेलाका जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री वर्षमान पुनदेखि राष्ट्रिय, क्षेत्रीय र स्थानीय तहसम्मका पत्रकारलाई आमन्त्रण गरेको थियो। मिडिया सम्मेलन मात्र होइन, बितेका २५ वर्ष सम्झना गर्ने एउटा महत्वपूर्ण अवसरसमेत बन्यो– यो कार्यक्रम। मिडिया सम्मेलनपूर्व मन्त्री पुनले होलेरी चौकी आक्रमण गरेको ठाउँमा बनाइएको स्मारक उद्घाटन गरे। त्यो स्मारक निर्माण पनि गाउँपालिकाले नै गरेको हो। स्मारकमा उभिएर मन्त्री बोलिरहेका थिए। रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा छेउमा उभिए। एकैछिनमा उनले समेत यसबारे आफ्ना धारणा राखे। तर, सर्वसाधारणलाई अनौठो लागिरहेको थियो– कसरी यस्तो परिवर्तन भइरहेको छ ?
२५ वर्षअघि लुकेर आक्रमण गरिएको ठाउँमा वर्षमान उभिएका छन्। त्यतिबेलाको एउटा विद्रोही कमान्डर यतिबेला मन्त्रीका रूपमा त्यहाँ छन्। २५ वर्ष एउटा व्यक्तिको जीवनमा लामो हुन्छ। २५ वर्षमा एउटा व्यक्तिले जीवनमा आर्जन गर्नुपर्ने गरिसक्छ। राष्ट्रको जीवनमा भने यो धेरै लामा नहुन पनि सक्छ।
वस्तवमा एउटा मुलुकले चाहेमा २५ वर्षमा कायापलट गर्न सक्छ। त्यसका निम्ति पात्रता महत्वपूर्ण हुन्छ। हामी सबैको ध्यान प्रणालीगत परिवर्तनमा मात्र धेरै गएको छ। पात्रतातर्फ कम ध्यान जाँदाको परिणति आज देखिँदै छ। प्रत्येकपटक परिवर्तनको उत्कट अपेक्षा मुलुक र नागरिक जीवनमा आउने परिर्वनकै निम्ति भए पनि त्यसमा जहिले तुषारापात भएको छ।
‘जनयुद्ध’को त्यो कालखण्डबारे चर्चा गरिरहँदा मन्त्री पुन हामीबीच रुकुमको खारामा भएको भेट सम्झिरहेका थिए। २०५६ सालमा खारा आगजनी र स्थानीय व्यक्तिको हत्यासम्बन्धी समाचार संकलनका बेला उनलाई हामीले देखेका थियौं। अपराह्नतिरको समयमा माओवादी लडाकुसहितको एउटा पत्रकार सम्मेलनमा अगाडिपट्टि बन्दुक लिएर बसेका कल्कलाउँदा युवा नै वर्षमान पुन ‘अनन्त’ थिए।
२५ वर्षअघि एक तन्नेरी, परिवर्तनको उत्कट चाहना राखेर ‘जनयुद्ध’मा होमिएका थिए। त्यतिबेला उनी जति वर्षका थिए, अहिले त्यसको ठीक दोब्बर उमेरका भएका छन्। त्यतिबेलाको तन्नेरी जोशमा यतिबेला प्रौढताले ल्याएको होस देखिन थालिसकेको छ।
पुनले मिडिया सम्मेलनको सुरुमा होलेरी आक्रमणको भित्री कथा सुनाए। त्यो बेला आफूले बनाएको योजना सफल बनाउन अपनाएका रणनीति बताए। लुकेर आक्रमण गर्न आएको त्यो क्षण र अहिले मन्त्रीका रूपमा जानकारी गराइरहेको समयबीच ठूलो अन्तर आइसकेको छ। त्यसबेला भाग्दै र लुक्दै हिँड्नुपरेको थियो। अहिले मन्त्रीको झण्डावाल गाडी, सुरक्षा गार्ड र सहयोगीसहित उनी हिँडेका छन्। उनीप्रति सबैको आकर्षण देखिन्छ। यस्तै आकर्षण अहिले रहेका धेरै पदासीनप्रति छ।
पहिलोपटक खारामा भेटिएका उनले आफ्नो परिचय दिएका थिएनन्। त्यसबेला परिचय दिने अवस्था पनि थिएन। अझ पत्रकारलाई भेट्न हुन्छ÷हुन्न भन्ने अन्तरद्वन्द्वकै बीच त्यो भेटघाट कार्यक्रम आयोजना गरिएको थियो। त्यो भेटका बेला एकजना दाह्रीवाल भलाद्मी बोलेका थिए। शान्ति प्रक्रिया पूरा भएपछि तिनै व्यक्ति अहिलेका मन्त्री जनार्दन शर्मा रहेछन् भन्ने खुलेको थियो।
‘मैले तपाईंलाई चिनेको थिएँ, तर तपाईंले मलाई चिन्नुभएको थिएन,’ पुनले त्यो बेलाको भेट सम्झाउँदै भने। २०५८ असार २८ मा माओवादीले पुनः होलेरी प्रहरी चौकीमा आक्रमण गरेको थियो। यो घटनापछि सेना परिचालन गर्ने विषयमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र दरबारबीच असमझदारी भएपछि गिरिजाले राजीनामा दिनुपरेको थियो। त्यसबेला तत्कालीन शाही नेपाली सेना र माओवादी लडाकुबीच आमनेसामनेको स्थिति भए पनि स्थानीयस्तरमा वार्ता गरेर उनीहरू बिनामुठभेड बिदा भएका थिए। त्यो घटनापछि माओवादी र दरबारबीच साँठगाँठ रहेको टिप्पणीसमेत हुन थालेको थियो। त्यही घटनापछि मुलुकको राजनीतिमा दूरगामी प्रभाव पार्ने निर्णय भएका छन्। सरकारलाई आवश्यकता पर्दा सेना परिचान गर्न नसकिने रहेछ भन्ने त्यो बेला महसुस भयो। अझ सेना राजाको प्रत्यक्ष प्रभावमा रहेका कारण परिचालन सम्भव नभएको बुझाइ थियो, त्यो बेला।
समय व्यतीत भएको छ। यससँगै केही भौतिक परिवर्तन पनि भएका छन्। त्यतिबेलाका दुर्गम र विकट भनिएका ठाउँसम्म सडक विस्तार भएको छ। विगतमा रोल्पाको होलेरीसम्म हिँडेर जानुपथ्र्यो। अहिले त्यहाँसम्म पुग्ने गरी बाटो बनिसकेको छ।
हिजोका दुर्गम ठाउँमा बाटो बन्नु आफैंमा सुखद स्थिति हो। हिजो भागेर हिँडेका राजनीतिक नेता÷कार्यकर्ता आज देश सञ्चालनको उपल्लो स्थानमा छन्। तर, मुलुकलाई अहिलेको अवस्थासम्म ल्याउने क्रममा पीडित भएका व्यक्तिका मुद्दा अहिलेसम्म सम्बोधन गरिएको छैन।
जुन कार्यक्रममा पुनले होलेरी आक्रमणका अन्तरकथा सुनाइरहेका थिए, त्यहीं एकजना पिता भैरवबहादुर विक आफ्ना पीडा पोखिरहेका थिए। मन्त्रीका कुरा सुनेर ‘आफूखुसी’ भएको उल्लेख गर्दै उनले सादा पोसाकमा आएका नेपाली सेनाले आफ्ना पुत्रको हत्या गरे पनि कुनै कार्बाही नभएको गुनासो गरे। पीडित परिवारले राज्यबाट केही सहयोग पाए पनि आफन्तजन गुमाउनुको क्षतिपूर्ति केहीबाट हुन सक्दैन।
संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा सम्बोधन नगरेका कारण पीडित परिवारमा यस किसिमको पीडाबोध छ। मन्त्री पुनले सबै ‘सहिदका परिवार’का खरका छानालाई टिनको छानामा परिवर्तन लागिपरेको जानकारी दिए। यही कार्यक्रम अन्यत्र पनि लागू हुने तयारीमा रहेको उनले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापा पुगेर आइतबार सबैका छाना फेरिने उद्घोष गरिसकेका छन्।
त्यो बेलाका आन्दोलनकारीले उपल्ला पद पाए पनि सर्वसाधारणले के उपलब्धि पाए भन्ने प्रश्न त्यहाँ पनि उठ्यो। ठट्यौली गर्दै मन्त्री पुनले आफूले उपलिब्धका रूपमा मन्त्री पद पाएको उल्लेख गरे पनि अपेक्षाअनुरूप काम गर्न नसकेको भन्ने आफूलाई पनि नलागेको होइन भने। तैपनि उनले अब त्यो बेलाका क्रान्तिकारी आदर्शभन्दा समृद्ध राष्ट्र निर्माणतर्फ लाग्नुपर्छ भन्ने आग्रह गरे।
माओवादीले हिजो बोकेकैजस्तो आदर्श बोकेर अहिले अन्य समूह हिँड्न खोज्नु उचित हुँदैन भन्ने पनि स्पष्ट सन्देश पनि उनले दिएका थिए। पुनको यो सन्देश तत्कालीन माओवादीमै सरिक भएका केही पूर्व‘सहयोद्धा’प्रति थियो। तत्कालीन माओवादी विद्रोहको उठान तथा अवतरण र अहिलेको अभ्यासका हिसाबले होलेरी एउटा अध्ययन क्षेत्र हो। त्यो बेला ती पहाडलाई सम्पूर्ण परिवर्तनका निम्ति आन्दोलित गरिएको थियो। यतिबेला ती परिवर्तनका वाहक आफैं राज्यसत्ता सञ्चालन गर्ने अवस्थामा छन्।
तर, अहिले केही सीमित विकास निर्माणका कामबाहेक बाँकी प्राकृतिक स्रोत दोहनमै सीमित हुँदै छन्। होलेरी आसपासका सुन्दर डाँडाहरू प्राकृतिक अवलोकनका निम्ति भन्दा खानी र ढुंगा/गिटीका निम्ति खन्ने तयारी हुँदै छ। यसले यी ठाउँ, पर्यटन विकासभन्दा प्राकृतिक स्रोत दोहनतर्फ उन्मुख हुने खतरा बढ्दै छ।
होलेरीबाट ५ किलोमिटर टाढाको दहवन केही समय माओवादी लडाकुको शिविर बन्दै अहिले नेपाली सेनाको क्याम्पमा रूपान्तरण भएको छ। होलेरीबाट साढे ३ किलोमिटर परको मुरुल्लेलेक सिमेन्ट कारखानाका निम्ति चुनढुंगा निकाल्ने गरी वातावरणीय अध्ययन भइसकेको छ। अबका केही वर्षमा होलेरीको प्राकृतिक स्वरूपसमेत समाप्त हुनेछ।
स्थानीय गाउँठाउँको परिवर्तन प्राकृतिक स्रोत दोहनका निम्ति मात्र हुँदा हिजोको त्यो परिवर्तनको उत्कट आकांक्षासमेत धुलिसात हुनेछ। २५ वर्षको उमेरमा सशस्त्र विद्रोहमा प्रवेश गरेका र अहिले ५० वर्षमा प्राकृतिक स्रोतको दोहनलाई नै विकास भन्नुपर्ने अवस्थामा रहेका वर्षमान पुनजस्ता नेताहरूले आफू ७५ वर्ष पुग्दा कस्तो नेपाल होस् भन्ने परिकल्पना गरेका होलान् ? अहिलेदेखि नै घोत्लिनु आवश्यक छ।
प्रकाशित: ६ फाल्गुन २०७६ ०३:५३ मंगलबार