२६ भाद्र २०८१ बुधबार
image/svg+xml
समाज

अपराधिक कार्यमा महिलाको संलग्नता बढ्दो

काठमाडौं – मानव बेचबिखन तथा विभिन्न अपराधिक कार्यमा महिलाभन्दा पुरुषहरू कै संलग्नता बढी देखिएको छ। छर पछिल्लो समय त्यस्ता अपराधिक कार्यमा महिलाको संलग्नता पनि बढ्दै गएको तथ्यांकले देखाएको छ। विभिन्न प्रलोभनमा परेर महिलाहरू त्यस्तो कार्यमा संलग्नता हुने गरेको प्रहरीले जानकारी दिएको छ। आर्थिक अवस्था कम्जोर तथा पारिवारिक समस्याका कारण पछिल्लो समय महिलाहरू अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ।

प्रहरी तथ्यांकअनुसार १० वर्षयता आठ सय ८८ जना महिला बेचबिखन तथा मानव तस्करमा संलग्न रहेका छन्। उनीहरूले विभिन्न षडयन्त्र तथा लोभ लालच देखाइ बेचबिखनका विदेशी मुलुकमा पु¥याउने गरेको प्रहरीले जनाएको छ। यस्तो कार्यमा संलग्नमध्ये धेरै जसो वैदेशिक रोजगारमा गएर फर्किएका नै रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) गोविन्द थपलियाले बताए।

अपराधिक कामको बारेमा जानकारी पाएका महिलाहरू नै यस्तो कार्यमा संलग्न हुने गरेको उनको भनाइ छ। वैदेशिक रोजगारमा गएका महिलाहरू पुरुषसँग मिलोमतो गरी अपराधमा संलग्न हुने गरेका अनुसन्धानबाट देखिएको उनले बताए। विदेशमा धेरै तलब सुविधा भएको काम लगाइदिने जस्ता विभिन्न प्रलोभन देखाएर महिलाहरूले नै महिला तथा कतिपय पुरुषसमेत विदेशसम्म पु¥याउने गरेको एसपी थपलियाको भनाइ छ। महिलाहरू विदेशबाट फर्किएर दलाल र एजेन्टसँग मिलोमतो गरेर बेचबिखन कार्यमा संलग्न हुने गरेको प्रहरीले अनुसन्धानले देखाएको छ। ‘अहिले वैदेशिक रोजगारका कारण परिवार विचलन बढेको छ,’ एसपी थपलियाले भने, ‘धेरै महिलाहरू आफ्नो परिवार छोडेर अर्कैसँग अवैध कार्यमा लागेका छन्, त्यसमा पनि विदेश गएर फर्किएका र उत्तै बस्ने महिलाहरू बढी छन्।’

ब्युरोको तथ्यांक अनुसार २०७४/०७५ मा सबैभन्दा बढी एक सय ६६ जना महिलाहरू बेचबिखन कार्यमा संलग्न थिए। यो अहिलेसम्मकै उच्च तथ्यांक हो। २०७५/२०७६ मा एक सय १७ जना महिला मानव बेचबिखनमा संलग्न भएपछि प्रहरीले पक्राउ गरेको थियो। त्यसभन्दा अघिको तथ्यांक केही कम भएको बताइएको छ।

यसबाहेक लुटपाट, चोरी, अवैध सामान ओसारपसारलगायतका कार्यमा पनि महिलाको संलग्नता देखिएको प्रहरीले बताएको छ। प्रहरी प्रधान कार्यालयकाअनुसार चालु आर्थिक वर्षको अहिलेसम्म लागुऔषध, हत्या, अपहरणजस्ता कार्यमा संलग्न भएका २० जनाभन्दा बढी महिला पक्राउ परेका छन्। उनीहरूलाई अपराध हेरेर कानुनीअनुसार कारबाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीको तथ्यांकअनुसार बेचबिखनमा पीडित हुने महिलाको संख्या पनि बढ्दो रहेको छ। १० वर्षयता बेचबिखनका घटनामा दुई हजार पाँच सय ८० जना महिलाहरू पीडित भएका छन्। सोही अवधिमा घरेलु हिंसा, बालविवाह, अवैध सम्बन्ध, दाइजो, वैदेशीक रोजगारजस्ता कारणबाट १५ हजार दुई सयभन्दा बढी महिला पीडित भएको प्रहरी तथ्यांकले देखाएको छ।

बेचबिखनमा संलग्न रहेका पुरुषको संख्या पनि बढ्दो छ। १० वर्षमा दुई हजार चार सय ६२ जना पुरुष बेचबिखन तथा मानव तस्करमा संलग्न रहेका छन्। ब्युरोको तथ्यांकअनुसार २०७४/०७५ मा सबैभन्दा बढी चार सय ६३ जना पुरुष मानव तस्करमा संलग्न भएपछि प्रहरीले पक्राउ गरेको थियो। यस्तै गत वर्ष चार सय सात जना पुरुष मानव तस्कर कार्यमा संलग्न रहेको प्रहरीको तथ्यांकले देखाएको छ।

प्रकाशित: २७ माघ २०७६ ०३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App