१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आर्मी फाइनल प्रवेश

मध्यमाञ्चलका खेलाडीको प्रहार रोक्ने आर्मीका किपर विकेस कुथुको असफल प्रयास ।

धरान–नेपाल आर्मी  जारी साताैं राष्ट्रिय खेलकुद अन्र्तगतको पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहीबार मध्यमाञ्चल क्षेत्रलाई सडन डेथमा ७–६ गोलअन्तरले हराउँदै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो। अघिल्लो दिन बुधबार ९० मिनेटको निर्धारित समय र थप ३० मिनेटको खेलमा पनि आर्मी र मध्यमाञ्चल क्षेत्रले निर्णायक गोल गर्न नसकेपछि अनिर्णित बनेको खेलको बिहीबार टाइब्रेकरबाट छिनोफानो भएको हो ।

बिहीबार भएको टाइब्रेकरमा आर्मीका राष्ट्रिय खेलाडी नवयुग श्रेष्ठको पहिलो प्रहार नै मध्यमाञ्चलका गोलकिपर दिपेश यादवले रोकेका थिए । आर्मीका जितेन्द्र कार्की, दिपक गुरुङ, सुमन अर्याल र किपर विकेस कुथुले गोल गरे। मध्यमाञ्चलका सञ्जिव कार्कीको पहिलो प्रहार गोलमा परिणत भएपनि यरिक विष्टको दोस्रो प्रहार पोलमा ठोक्किएर बाहिरिएको थियो। कुलदिप कार्की, सन्तोष सिहं र आदित्य शाक्यको प्रहार गोलमा परिणत भयो ।

टाइब्रेकरमा पनि बराबर भएपछि खेलको छिनोफानो सडन डेथबाट भएको थियो। सडन डेथमा आर्मीका दिप लामा, पदम तामाङ र राजु तामाङले गोल गरे भने मध्यमाञ्चलका निरबहादुर आले, दिपेश हेन्जनले मात्र गोल गरे । निर्णायक प्रहारमा जितबहादुर मगर गोल गर्न चुकेपछि आर्मीले फाइनल यात्रा तय गर्यो। जितबहादुरको प्रहार गोलकिपर विकेस कुथुले रोकेका थिए। खेलको म्यान अफ दि म्याच मध्यमाञ्चलका श्याम बाबु क्याप्छाकी मगर घोषित भए । उनलाई सेनाका खेलकुद विभाग प्रमुख तथा प्रमुख सेनानी रामकाजी राना मगरले नगद ५ हजार र ट्रफी प्रदान गरे ।

आर्मी र मध्यमाञ्चलबीच बुधबारको निर्धारित र अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि टाइब्रेकरतर्फ धकेलिएको खेल समय अभावको कारण अनिर्णित अवस्थामा नै स्थगित गर्नुपरेको थियो । आर्मीले अध्यारो भएको भन्दै टाइब्रेकर खेल्न अस्वीकार गर्दै बिहीबार पुनः पूरा ९० मिनेटको खेल खेल्नुपर्ने माग गरेको थियो । तर, आयोजक र मध्याञ्चलको अडानको कारण बिहिबार सिधै टाइब्रेकरबाट नै खेलको छिनोफानो भएको हो । पराजित मध्यमाञ्चलले बिहीबार दिउँसो पुनः तेस्रो स्थान(कास्य पदक)को लागि नेपाल पुलिस क्लबसँग खेल्नेछ भने आर्मीले स्वर्ण पदकको लागि शुक्रबार फाइनलमा एपिएफ क्लबसँग खेल्नेछ ।
 

प्रकाशित: १४ पुस २०७३ ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App