coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

कोरोना कहर

विनोद रायमाझी/गोपीराम स्याङ्तान

चीनमा उत्पन्न कोरोना भाइरसको संक्रमण अहिले नेपाललगायत विश्वका २५ देशमा फैलिइसकेको छ र अन्य मुलुकमा पनि फैलिने क्रममा छ। यो भाइरस गत (२०१९) डिसेम्बर ३१ मा पहिलोपटक चीनको हुबेई प्रान्तको उहान सहरका मानिसमा देखिएको थियो। लक्षण र जिन सन् २००३ र २०१२ मा देखिएको कोरोना भाइरससँग मिल्दोजुल्दो देखिएकाले यसको नाम– नोबल कोरोना भाइरस (नोकोभा– २०१९) राखिएको हो। उहान सहरमा देखापरेको १ महिनामै यो भाइरस २५ देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ। कमजोर स्वास्थ्य प्रणाली भएका देशमा नोबेल कोरोना भाइरसको संक्रमण महामारीका रूपमा फैलिन सक्ने भन्दै यसको रोकथाममा विश्व एकजुट हुन डब्ल्युएचओले आह्वान गरेको छ। चीनका ३१ प्रदेश र  केन्द्रीय सरकार यसको संक्रमण न्यूनीकरणमा जोडतोडसाथ लागिरहेका छन्। अहिलेसम्मको अवस्था हेर्दा यो भाइरसको संक्रमण अझ धेरै मुलुकमा फैलिने निश्चितजस्तै देखिन्छ। अहिलेसम्म १४ हजार ३ सय संक्रमित भइसकेका छन् भने ३ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। जसमा १ सय ३६ संक्रमित चीनभन्दा बाहिर अर्थात् अन्य मुलुकमा भेटिएका छन्। लक्षणबिना पनि नोकोभा–२०१९ मानिसको शरीरमा रहन सक्ने भएकाले संक्रमितको संख्या अझै धेरै हुन सक्ने विज्ञहरूको भनाइ छ।

करिब अढाई सय संक्रमित भने व्यक्तिको उपचार सफल भएको र निको भएकाले उनीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन्। चीनबाहिर फिलिपिन्समा पनि कोरोना भाइरसको संक्रमणबाट ४४ वर्षीय चिनियाँ नागरिकको मृत्यु भएको छ।

कोरोना, जनावरबाट सर्ने आरएनए प्रजातिको एउटा ठूलो समूहको भाइरस हो। जुन भाइरसले पशुपन्छी र मानिसको श्वासप्रश्वास प्रणालीमा संक्रमण गर्छ। यो भाइरसको प्राकृतिक बासस्थान जंगली जनावर भए पनि यही जनावर हो भनेर अहिलेसम्म पुष्टि हुन सकेको छैन। तर केही वैज्ञानिकले त्यो चमेरो हुन सक्ने अनुमान गरिरहेका छन्। मानिसमा कोरोना भाइरस खासगरी जनावरबाटै सर्छ। कोरोना पहिलोपटक सन् १९६० मा श्वासप्रश्वासमा समस्या भएका कुखुरा र रुघाखोकी लागेका मानिसमा देखिएको थियो। त्यसबेला संक्रमण गम्भीर प्रकारका नभएकोले खासै खोजी गरिएन। 

यसको संक्रमणबाट बच्न सकेसम्म भीडभाडमा नजाने, बाहिर हिँड्दा अनिवार्य रूपमा एन–९५ मास्क लगाउने, संक्रमण फैलिएका क्षेत्रमा भ्रमण नगर्ने, स्यानिटाइजर र साबुन–पानीको प्रयोग गर्ने, बिरामी तथा रुघाखोकी लागेका मानिस नजिक नजानेजस्ता सावधानी अपनाउनुपर्छ।

सन् २००२ र २००३ मा दक्षिण चीनको गुअङ्डोङ प्रदेशबाट सुरु भएर विश्वका ३० भन्दा बढी देशमा कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण फैलिएको थियो, जसलाई सार्स (सर्भर अक्युट रेस्पिरेटरी सिन्ड्रोम) नामकरण गरिएको थियो। सार्सबाट ८ हजा ९६ व्यक्ति संक्रमित भएका थिए भने ८ सय जनाजतिको मृत्यु भएको थियो। र, तीमध्ये ९० प्रतिशात मानिस चीन र हङकङका मात्रै थिए। त्यस्तै सन् २०१२ मा मध्यपूर्वी क्षेत्रको साउदी अरेबियाबाट कोरोनाकै अर्को नयाँ प्रजातिको संक्रमण फैलिएको थियो, जसलाई मर्स (मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम) नाम दिइएको थियो। त्यसबेला मर्स विश्वका २४ देशमा फैलिएको थियो र जसबाट २ हजार ४ सय ९४ मानिस संक्रमित भएका थिए भने तीमध्ये ८ सय ५८ जनाको मृत्यु भएको थियो। मर्सबाट हुने मृत्युको दर सार्सबाट हुने भन्दा बढी थियो। विश्व स्वास्थ्य संगठनका अनुसार नोकोभा– २०१९ बाट हुने मृत्युको दर ३ प्रतिशतभन्दा कम देखिएको छ तर यसअघि देखिएका मर्स र सार्स भाइरसबाट हुने मृत्युको दर क्रमशः करिब ४० प्रतिशत र १५ प्रतिशत थिए। कोरोना भाइरस संक्रमणको अहिलेसम्म खास उपचार वा खोप उपलब्ध छैन।

नोबेल कोरोना भाइरस
चीनको उहान सहरमा उत्पन्न भएको नयाँ प्रजातिको कोरोना भाइरसले अहिले विश्वलाई नै आतंकित बनाइरहेको छ। तर यो कतिको प्राणघातक छ भन्ने पुष्टि हुन बाँकी नै छ। फैलिँदो संक्रमणले गर्दा विश्वभरका स्वास्थ्यकर्मी तथा विज्ञका लागि यो ठूलो चिन्ताको विषय बनेको छ। नाबवेल कोरोना भाइरस– २०१९ (नोकोभा– २०१९) जनावरबाट मानिसमा सर्छ र त्यसपछि श्वासप्रश्वासमा समस्या र खोकी लाग्छ। साथै जनावरको नपाकेको मासु आदिबाट पनि यो भाइरस सर्छ। त्यस्तै भाइरस रहेको कपडा वा अन्य सामान, संक्रमित व्यक्तिसँग हात मिलाउँदा, सँगै बस्दा वा छुँदा पनि यो भाइरस सर्न सक्छ। एक व्यक्तिबाट अर्कोमा भाइरस सर्न नदिन हरेक अस्पतालले आइसोलेसन वार्ड स्थापना गरी संक्रमितको उपचार गर्नुपर्छ।

अहिलेको नाबेल कोरोना भाइरसको संक्रमण गति हेर्दा, यो एक संक्रमितबाट कम्तीमा २ स्वस्थ मानिसलाई सर्न सक्ने देखिन्छ। तर सबै स्वस्थ मानिसलाई सर्छ भन्ने पनि हुँदैन। किनकि अनुसन्धानअनुसार बालबालिका, ५० वर्षमाथिका, मुटु, मिर्गाैलाका रोगी, एचआइभी, क्षयरोग, मधुमेहलगायत भएका मानिसलाई कोरोना सर्ने सम्भावना बढी देखिएको छ। सामान्य अवस्थामा हाम्रो शरीरको जैविक प्रतिरोध क्षमताले कोरोना भाइरसलाई ठीक पार्न सक्छ। भर्खरै उपलब्ध वैज्ञानिक स्रोतका अनुसार कोरोना भाइरस बिनालक्षण पनि मानिसको शरीरमा रहन सक्छ। संक्रमणको लक्षण सामान्य रुघाखोकीजस्तै हुन्छ तर त्यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने फोक्सोमा असर पर्छ र बिरामीको मृत्यु हुन्छ।  खास लक्षण र प्रयोगशाला परीक्षणबाट मात्रै यो भाइरस पहिचान हुने भएकाले यसबाट संक्रमित यति नै छन् भनेर किटान गर्न गाह्रो छ।

नेपालमा यसका जोखिम
सन् २०१९ भन्दा पहिले नेपालमा कोरोना भाइरस भेटिएको यकिन तथ्यांक नभए पनि अहिले देखिएको नोबेल कोरोना भाइरसबाट एकजना नेपाली विद्यार्थी संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ, जो चीनको उहानबाट फर्किएका थिए। चिकित्सकको निगरानीमा उपचारपश्चात् उनलाई डिस्चार्ज गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम बढेको भन्दै उपचारका लागि तयारी अवस्थामा रहन देशका सबै  अस्पताललाई निर्देशन दिइसकेको छ। साथै काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षण सुरु गरिसकेको छ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र मन्त्रालयलाई भाइरस नियन्त्रणका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। संक्रमण फैलिएको चीन, नेपालसँग सीमा जोडिएको मुलुक भएको तथा दुई देशका नागरिकको आवतजावत बढी हुने भएकाले नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा छ। तैपनि अहिलेसम्म नेपालमै रहेका कुनै व्यक्तिमा यो भाइरसको संक्रमण भएको पुष्टि भएको छैन। यो समय चीनमा नयाँ वर्षको लामो बिदा हुने र चिनियाँ नागरिकका लागि प्रमुख पर्यटकीय गन्तव्य नेपाल नै भएकाले उनीहरू नेपाल भ्रमणमा आउँदा पर्यटकीय स्थलहरूमा संक्रमण फैलिन सक्ने खतरा छ।

विश्व स्वास्थ्य संगठनका अनुसार जुन देशमा स्वास्थ्य उपचारको व्यवस्था राम्रो छैन, त्यहाँ कोरोना भाइरसले भयावह स्थिति ल्याउन सक्ने सम्भावना छ। धेरै संक्रामक खालको भाइरस भएकाले संक्रमितलाई कम्तीमा १४ दिन आइसोलेसन वार्डमा राखेर उपचार गर्नुपर्ने हुन्छ। नेपालका सबै ठाँउमा सुविधा–सम्पन्न परीक्षण प्रयोगशाला, दक्ष जनशक्ति, प्रशस्त प्रोटेक्टिभ सेफ्टी सामाग्री (संक्रमितलाई निगरानी गर्दा प्रयोग गरिने विशेष सामाग्री) र आइसोलेटेड शै्ययासहितका अस्पताल छैनन्। नेपालका केही सहरमा व्यवस्थित स्वास्थ्य संरचना भए पनि ग्रामीण क्षेत्रमा यसको अवस्था दयनीय छ। त्यसकारण कोरोना भाइरसको संक्रमण फैलियो भने नेपालमा भयावह स्थिति आउने निश्चित छ।  यसको संक्रमण नेपालमा देखिइसकेको अवस्थामा सरकारी तथा निजी–क्षेत्रबाट छिटो र छरितो परीक्षण गर्ने व्यवस्था मिलाउन अत्यन्तै जरुरी भइसकेको छ।  नत्र भने कोरोनाको संक्रमण व्यापक बन्ने लगभग निश्चित छ। यो समयमा चिनियाँ तथा संक्रमण फैलिएका अन्य मुलुकका पर्यटक नेपालमा आइरहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर नोबेल कोरोना भाइरस नेपाल भित्रिने खतरा अधिक छ। तसर्थ विमानस्थलमा व्यवस्थित र कडा निगरानी गरिनुपर्छ।

नोकोभा– २०१९ अर्थात् नोबेल कोरोना भाइरस संक्रमित मानिसमा सामान्य मौसमी रुघाखोकी र अन्य श्वासप्रश्वाससम्बन्धी फ्लुसँग मिल्दाजुल्दा लक्षण देखापर्ने भएकाले शंकास्पद व्यक्तिको नमुना (¥याल÷रगत) परीक्षण गरी भाइरसको कल्चर, इम्युनोलोजिकल तथा आणविक टेस्टबाट भाइरसको प्रजाति पत्ता लगाउने, सीधै भाइरसको बनावट हेर्नेजस्ता जाँच सुविधा–सम्पन्न प्रयोगशालामा गरिनुपर्छ।

अपनाउनुपर्ने सावधानी
अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल, खुला सीमा–नाका, देशका पर्यटकीय स्थलहरूमा विशेष हेल्थ–डेस्क स्थापना गरी परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्छ। शंकास्पद व्यक्तिलाई स्वास्थ्यकर्मी वा चिकित्सकको निगरानीमा आइसोलेसन वार्डमा १४ दिनसम्म उपचार गरिनुपर्छ। स्वास्थ्यकर्मीहरूलाई विशेष तालिम दिई आवश्यक सामाग्रीको व्यवस्थापन गर्दै स्वास्थ्यकर्मी र चिकित्सक सम्मिलित विशेष टोली तयारी अवस्थामा राख्नुपर्छ। संक्रमण पुष्टि हुनासाथ त्यस्ता व्यक्तिलाई आइसोलेसनमा उपचार गर्नुपर्छ। यसो गर्दा संक्रमितबाट अन्य सामान्य मानिसमा भाइरस सर्ने सम्भावना कम हुन्छ। नोबेल कोरोना भाइरस सर्ने तरिका, सरेपछि देखिने मुख्य लक्षण तथा त्यसबाट बच्ने उपायबारे सञ्चारमाध्यमका तर्फबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने हो भने पनि यसको रोकथाममा मद्दत पुग्छ।

अन्त्यमा,  नेपाल सरकारको स्वास्थ्य सेवाअन्तर्गतका विभिन्न निकाय, निजी–क्षेत्र र सबै सरोकारवालाले आपसी समन्वय गरी कोरोना भाइरस फैलिनबाट देशलाई बचाउनुपर्छ। यसको संक्रमणबाट बच्न सकेसम्म भीडभाडमा नजाने, बाहिर हिँड्दा अनिवार्य रूपमा एन–९५ मास्क लगाउने, संक्रमण फैलिएका क्षेत्रमा भ्रमण नगर्ने, स्यानिटाइजर र साबुन–पानीको प्रयोग गर्ने, बिरामी तथा रुघाखोकी लागेका मानिस नजिक नजानेजस्ता सावधानी अपनाउनुपर्छ।
रायमाझी काठमाडौं जीव–विज्ञान अनुसन्धान संस्था,गोपीराम स्याङ्तान, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, त्रिवि

प्रकाशित: २१ माघ २०७६ ०४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App