१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपा ‘केन्द्र’ मा गौतम

फाइल तस्बिर

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकले उपाध्यक्षमा चयन गरेसँगै वामदेव गौतम शक्तिशाली भएका छन्। उनी यसअघिदेखि नै संगठन विभागको संयोजक छन्। विधान संशोधन गरेर संगठन विभागको अधिकार थपेसँगै पार्टी कार्यकर्ता परिचालनको जिम्मा विभागलाई नै दिएपछि गौतम शक्तिशाली भएका हुन्। नेकपामा करिब आठ लाख संगठित सदस्य छन्।

संगठन विभागलाई नियमावलीअनुसार ६ वटा अधिकार रहेकामा अहिले थपेर ११ बनाइएको छ । पार्टीमा दुई अध्यक्षपछि उपाध्यक्ष हुने भए पनि वरियतामा भने दुई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालपछि मात्रै उनको वरियता कायम गरिएको छ। उपाध्यक्ष भएपछि दुई अध्यक्षबीचको सन्तुलन कायम गर्ने भूमिका पनि उनलाई आइपरेको छ। विधानले गौतमलाई अध्यक्षको अनुपस्थितिमा अध्यक्षको अधिकार र कर्तव्य प्रयोग र पालना गर्ने, अध्यक्षलाई सहयोग गर्ने, केन्द्रीय कमिटीले तोकेको काम गर्ने तोकेको छ। विधानकै आधारमा तयार नियमावलीमा संगठन विभागको प्रमुखलाई पार्टी कमिटी परिचालनको अधिकार थपिएको छ। सो अधिकार र जिम्मेवारी पाएपछि बुधबारबाट शनिबारसम्म उपाध्यक्ष गौतम २ नं. प्रदेशको पार्टी काममा निस्कने भएका छन्। गौतम निकट स्रोतका अनुसार पार्टीले दिएको जिम्मेवारीअनुसार सातवटै प्रदेशमा संगठन निर्माण र परिचालनमा जाने उनको योजना छ।

दुई वर्षअघि संघीय संसद्को निर्वाचनमा पराजित भएपछि उनले सांसद बन्न पटकपटक निर्वाचन लड्ने असफल प्रयास गरेका थिए। संसद्मा जिम्मेवारी निर्वाह गर्न नपाएका गौतमलाई पार्टी परिचालनको जिम्मेवारी दिएर नेकपाको केन्द्र भूमिकामा स्थापना गर्न लागिएको एक नेताले नागरिकलाई बताए। ‘उहाँलाई दुई अध्यक्षबीच सन्तुलन कायम गर्ने र पार्टी संगठन निर्माण तथा परिचालनको समेत जिम्मेवारी छ’, उनी निकट एक नेताले भने।

उपाध्यक्ष भएलगत्तै आफ्नो निवासमा बधाई दिन आएका नेताहरुलाई उनले गुटबन्दीमा नलाग्न निर्देशन दिएका थिए। आफू निकटका नेताहरुलाई पार्टीलाई बलियो बनाउन लाग्न र गुटबन्दीमा नलाग्न उनले सुझाव दिएका हुन्। ‘अबदेखि पार्टीभित्र कुनै पनि गुटबन्दी हुँदैन। कोही पनि नेताहरुले गुट चलाउनुहुन्न। तपाईंहरु पनि गुटबन्दीमा सहभागी नहुनुस्’, गौतमलाई बधाई दिन पुगेका एक नेताले उनको भनाइ उद्धृत गरे। उनले भने, ‘हामीलाई यस्तो निर्देशन आयो। उहाँ निकै उत्साही देखिनुभयो।’

यसकारण गौतम शक्तिशाली
साउन ३१ मा बसेको नेकपा सचिवालय बैठकले गौतम प्रमुख र जनार्दन शर्मा उपप्रमुख रहेको संगठन विभाग बनाएको थियो । त्यसपछि २९ असोजमा विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी सदस्य थपिएका थिए। त्यसपछि बनेको नियमावलीअनुसार विभाग ३५ सदस्यीय रहने व्यवस्था गरियो। ३० असोजमा बसेको विभागको पहिलो बैठकले पार्टी नियमावलीमा संशोधन, संगठित सदस्यता नवीकरण, संगठनात्मक कामलाई गति दिन तत्काल गर्नुपर्ने काम, पार्टीका नेता–कार्यकर्ता तथा सदस्यले पालना गर्नुपर्ने आचारसंहिताजस्ता विषयमा कार्ययोजना बनाई सचिवालयमा पेस गरेको थियो । त्यसअनुसार संगठन विभागलाई शक्तिशाली बनाउन नेकपाले पार्टी नियमावलीमै परिवर्तन ग-यो।

नेकपाले ५ माघमा जारी गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख भएअनुसार १३ पुसको सचिवालय बैठकले संगठन विभागले पेस गरेको कार्ययोजना परिमार्जनसहित पारित गरेको थियो । त्यति बेला संगठन विभागलाई बलियो बनाउने प्रस्ताव नेता गौतमले नै पार्टी सचिवालयमा पेस गरेका थिए। संशोधित नियमावलीअनुसार संगठन विभागलाई केन्द्रीय कमिटीमातहतका पार्टी कमिटीहरूमा समस्या उत्पन्न भए समाधान हुन नसकेको अवस्थामा कुनै पनि कमिटीको बैठकमा भाग लिन पाउने व्यवस्था गरिएको छ। त्यहाँको समस्या समाधानको पहलकदमी संगठन विभागले लिन पाउने अधिकार पाएको छ। त्यस्तै पार्टी विधान, नियमावली र संगठनात्मक सिद्धान्तबमोजिम कमिटीहरू सञ्चालित भएनभएको जाँचबुझ गर्ने, पार्टी सदस्य तथा कमिटीहरूको चेतना, क्षमता र कामबारे जानकारी लिन र सम्बन्धित कमिटी एवं पदाधिकारीहरूलाई आवश्यक सुझाव दिने अधिकार पनि संगठन विभागले पाएको छ। आवश्यकताअनुसार पार्टीद्वारा प्रत्यक्ष सञ्चालित जनवर्गीय, सामुदायिक र अन्य संगठनहरूको अनुगमन, निरीक्षण र मूल्यांकन गरी सम्बन्धित संगठन तथा तिनका पदाधिकारीलाई सुझाब दिन सक्ने अधिकारसमेत संगठन विभागले पाएको छ । यसले गर्दा गौतम प्रमुख रहेको विभाग बलियो हुनुका साथै उनी पार्टीभित्र केन्द्र भागमा देखिएका छन्।

तत्कालीन एमालेमा हुँदा २०५१ सालमा उनलाई उपमहासचिवको जिम्मेवारी दिइएको थियो। एमालेको नौ महिने सरकार ढलेपछि उनको उपमहासचिव पद फिर्ता भयो। त्यति बेला पनि गौतमले संगठन विभाग र कार्यकर्ता परिचालनको काम गरेका थिए। पार्टी विभाजनपछि महासचिव बनेका गौतम २०५७ सालमा एकीकरणपछि भएको महाधिवेशनमा उपाध्यक्ष पदमा निर्वाचित भए। उनी एमालेको दुईपटक उपाध्यक्ष हुँदा पनि पार्टीको केन्द्र भागमै थिए।

प्रकाशित: २१ माघ २०७६ ०१:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App