१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

उपकुलपतिबारे चिकित्सक र कर्मचारी दुई ध्रुवमा

धरान – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको उपकुलपति पदमा नियुक्ति प्रक्रिया अघि बढेसँगै यहाँका चिकित्सक तथा कर्मचारीमा प्रतिष्ठान भित्रकै वा बाहिरबाट नेतृत्व ल्याउने भन्ने बहस सुुरु भएको छ।

प्रतिष्ठानका प्राध्यापक, चिकित्सक र कार्यरत कर्मचारी भित्रैबाट र बाहिरबाट उपकुलपति बनाउनुपर्ने भन्दै दुई ध्रुवमा बाँडिएका छन्। एक पक्ष प्रतिष्ठानभित्र योग्य, सक्षम र राम्रा प्राध्यापक भएकाले उनीहरूमध्येबाट बनाउनुपर्ने माग गरिरहेका छन् भने अर्को पक्ष भित्रकै व्यक्ति उपकुलपति हुँदा विगतको दुई उपकुलपतिको कार्यकालमा जस्तो गुटबन्दी र खिचातानी मौलाउने भएकाले बाहिरबाटै योग्य व्यक्ति ल्याउनुपर्ने धारणा राखिरहेका छन्। उपकुलपति कस्तो आउला भन्नेबारे कर्मचारीको छलफल र बैठक पनि बाक्लिएको छ।

उपकुलपतिका लागि प्रतिष्ठानभित्रका झन्डै एक दर्जन प्राध्यापकले पनि मन्त्रालयमा आवेदन दिएका छन्। मन्त्रालयले आवेदकमध्ये १६ जनाको सूची तयार गरेको बताइए पनि नाम सार्वजनिक भएको छैन। प्रतिष्ठानमा भने भित्रकै प्राध्यापक कि बाहिरको व्यक्ति नेतृत्वमा आउनु ठिक भन्ने बहस भइरहेको छ। प्रतिष्ठानभित्रैबाट उपकुलपति बनाउनपर्छ भन्ने खुलेरै लागेका छन्। आवेदन दिनेहरू भित्रकै प्राध्यापक पनि भएकाले बाहिरबाट बन्नुपर्छ भन्ने पक्ष भने मिडियासँग परिचय खुलाउन चाहँदैनन्। आवेदक छनोट समितिले सिफारिस गर्ने तीन जनाको नामभित्र आफू पर्न शक्ति केन्द्र धाइरहेका छन्। स्वास्थ्यमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले तीन जनाको नाम कुलपति तथा प्रधानमन्त्रीसमक्ष सिफारिस गर्नेछ। प्रधानमन्त्रीले तीन जनामध्ये एकलाई उपकुलपति नियुक्त गर्नेछन्।

प्रतिष्ठानस्थित चिकित्सा तथा दन्त चिकित्सा शिक्षण कल्याण समाजले स्वास्थ्यमन्त्री तथा सिफारिस समितिका संयोजक भानुभक्त ढकाललाई माग पत्र पठाउँदै प्रतिष्ठानभित्रकै योग्य व्यक्तिलाई उपकुलपति बनाउन माग गरिसकेको छ। ‘यहाँ तलब पनि कम छ, जीवनभर यही रिसर्च गछौं, पढाउछौं र सेवा पनि गछौं। यही नेतृत्व गर्न सक्ने समक्ष प्राध्यापक पनि छन्,’ समाजका अध्यक्ष डा.विष्णु पोखरेल भन्छन्, ‘प्रतिष्ठान र यहाँको समस्यालाई राम्ररी बुझेको, समाधान गर्नसक्ने यहीँको सक्षम र योग्य व्यक्ति छनेर उपकुलपति बनाउनुपर्छ।’

उनले विगतका केही नेतृत्व बदमास भए भन्दैमा सबैको क्षमता र योगदानलाई अवमूल्यन गर्न नहुने पनि बताए। कर्मचारी कल्याण समाजका कार्यवाहक अध्यक्ष उमेश थापा पनि सकेसम्म प्रतिष्ठानभित्रैका योग्य व्यक्तिलाई उपकुलपति बनाउँदा राम्रो हुने बताउँछन्। तर, सरकारले बाहिरका सक्षम र नेतृत्व गर्न सक्ने व्यक्तिलाई पठाएमा पनि आफूहरू स्वागत गर्ने उनको भनाई छ। ‘भित्रैबाट कार्यवाहक उपकुलपति प्रा. डा. गुरु खनाल, प्रा.डा. सञ्जिव शर्मा, प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. पारस पोख्रेल, प्रा.डा.विक्रम श्रेष्ठ, प्रा.डा.पशुपति चौधरीलगायत सरहरूले आवेदन दिनुभएको छ, सबै नै सक्षम र योग्य नै हुनुहुन्छ,’ थापाले भने, ‘उहाँहरूले संस्थालाई राम्ररी बुझ्नुभएको पनि छ, त्यसैले यहीँको कोही एक बनाउँदा राम्रो हुन्छ। तर, सरकारले बाहिरबाट योग्य पठाउँदा पनि अस्वीकार गर्ने भन्ने हुँदैन।’

उपकुलपति प्रतिष्ठानभित्रबाटै बनाउनुपर्छ भन्ने पक्ष जति बलियो छ, त्यसको विपक्षमा पनि प्रतिष्ठानका प्राध्यापक, चिकित्सक र कर्मचारी पनि छन्। तर, उपकुलपति बन्ने दौडमा प्रतिष्ठानकै दर्जन प्राध्यापक भएकाले अफ्ठेरोमा पर्ने डरले उनीहरू खुलेर कुरा गर्न चाहँदैनन्।

विगतमा दुई जना उपकुलपति भित्रकै प्राध्यापक हुँदा प्रतिष्ठानमा गुटबन्दी, द्वन्द्व र खिचातानी मौलाएर संस्थाको साख ओरालो लागेकाले बाहिरबाटै नियुक्ति गर्नुपर्ने यो पक्षको भनाई छ। ‘हामीले भित्रको २ जना भिसी हे-यौं, त्यसैले हाम्रो भन्ने होइन, राम्रो भिसी आउनुपर्छ भन्ने हो,’ ती प्राध्यापक भन्छन्, ‘प्रतिष्ठानलाई भारतको एम्स जस्तो बनाउने कि जनकपुर चुरोट कारखाना जस्तो बनाउने ? एम्स बनाउने हो भने भित्र होस् वा बाहिरको होस्, सक्षम, दीर्घकालीन भिजन भएको, सबैलाई समेटेर नेतृत्व गर्ने व्यक्ति आउनुपर्छ।’

अहिले दुई–चार जना व्यक्तिले आफ्नो स्वार्थको लागि मात्र भित्रको उपकुलपति बन्नुपर्छ भनेर लागिपरेको उनको ठम्याई छ। भित्रबाटै उपकुलपति बनाउँदा पुनः गुटबन्दी सुरु हुने र आग्रह–पूर्वाग्रह भएर काम गर्ने भएकाले संस्था झन् धरासायी हुने उनको तर्क छ। विगतमा पनि प्रतिष्ठानको चार पदाधिकारी मिल्न नसक्दा प्रतिष्ठान लथालिंग भएको थियो। ‘डायनामिक नेतृत्व आएन भने नियमित काम गरेर मात्र केही हुँदैन, संस्था थला पर्छ,’ उनी भन्छन्।

कर्मचारी कल्याण समाजका अध्यक्ष थापा पनि विगतमा प्रतिष्ठानको दुई जना उपकुलपति हुँदा धेरै विवाद र आन्तरिक द्वन्द्व, गुटबन्दीले प्रसय पाएको स्मरण गर्छन्। अहिले पनि भित्रैबाट उपकुलपति बनाउँदा पुनः गुटबन्दी सुरु हुने जोखिम भएको पनि उनी स्वीकार गर्छन्। ‘पहिला बाहिरबाट उपकुलपति आउँदाको अवस्था के थियो र भित्रकै दुई जना हुँदा प्रतिष्ठानको हालत के भयो ? त्यसैले बाहिरबाट आउनै हुँदैन भन्ने होइन, यहाँबाट पनि अन्यत्र पदाधिकारी भएर गएका छन्,’ उनी भन्छन्, ‘भित्रको जो बनाए पनि चरम गुटबन्दी हुने खतराचाहिँ छ। तर, नेतृत्वमा आउनेले र अरु प्राध्यापकले पनि उदारता देखाउने हो भने सहकार्य गर्ने हो भने भित्रबाटै उपकुलपति बन्दा राम्रोचाहिँ हुन्छ।’

प्रकाशित: २० माघ २०७६ ०२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App