१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अवैध फँडानीले वन क्षेत्र घट्दै

कैलालीको गौरीगंगा नगरपालिका–७ स्थित सुनपाल सामुदायिक वनसँग जोडिएको राष्ट्रिय वन क्षेत्रमा काटिएका रूखका फेद ।

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–७ सुनपाल सामुदायिक वनसँग जोडिएको राष्ट्रिय वनमा सालका रूख काटिएको भन्दै एक साताअघि स्थानीयले वन कर्मचारीलाई गुहारे । सो कार्यमा सामुदायिक वनका पदाधिकारीकै संलग्न रहेको जानकारी गराइए पनि कर्मचारीले खासै गम्भीरता देखाएनन् ।

स्थानीयको चर्को दबाबपछि भने उक्त सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्षलाई पक्राउ गरियो । स्थानीयका अनुसार उनीहरू पक्राउ पर्ने बेलासम्म करिब ३२ रूख काटिएका थिए । ‘वनका कर्मचारीले सुरुमा सामुदायिक वनका पदाधिकारीलाई नै फोन गरेर राष्ट्रिय वनबाट रूख काटेको गुनासो आइरहेको भन्दै त्यस्तो काम रोक्नसम्म भनेका थिए,’ स्थानीय दिलबहादुर बोहराले भने, ‘रूख कटानी निरन्तर भइरहेपछि हामीले व्यापक दबाब दियौं, त्यसपछि मात्र उनीहरू पक्राउ परेका हुन् ।’

ठूलो संख्यामा रूख काटिँदा पनि वन कार्यालय र कर्मचारी बेखबरजस्तै देखिएपछि स्थानीयले उनीहरूबीच मिलेमतो भएको आशंका गरेका थिए । उनीहरूका अनुसार दबाब नदिएको भए अझै धेरै रूख कटानी भइसक्थे । वन कर्मचारीको समेत संलग्नतामा रूख काटिएको स्थानीयको आरोपपछि डिभिजन वन कार्यालय धनगढीले सबडिभिजन कार्यालय चौमालाका प्रमुख शेरबहादुर भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । आफ्नो कार्यक्षेत्र पर्ने वनमा अनुगमन नगरेको भन्दै सबडिभिजन कार्यालय मसुरियाका प्रमुख सचितानन्द सिंहलाई स्पष्टीकरण सोधिएको डिभिजन वन प्रमुख रामचन्द्र कँडेलले बताए । छानबिन समितिले प्रतिवेदन बुझाएपछि डिभिजनले सहायक वन अधिकृत निराजन कँडेलको संयोजकत्वमा अनुसन्धान समिति गठन ग¥यो ।

अनुसन्धानका क्रममा सुनपाल सामुदायिक वनका अध्यक्ष डिल्लीराज जोशी र कोषाध्यक्ष परशुराम चौधरीको संलग्नतामा रूख कटानी र तस्करी भएको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको कँडेलले बताए । वन कार्यालयको टोलीले विभिन्न ठाउँबाट सालका गोलिया र चिरान गरी तीन सय ४३ क्युफिट काठ बरामद गरेको उनको भनाइ छ । ‘रूख कटानीमा अध्यक्ष र कोषाध्यक्षको प्रत्यक्ष संलग्नता छ,’ उनले भने, ‘अन्यको पनि संलग्नता देखिएको छ, उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिनेछ ।’ १० वटा रूख काटेको फेला परेको र ठूलो वन क्षेत्र भएकाले सबै ठाउँमा हेर्न बाँकी रहेको उनले बताए । राष्ट्रिय वनबाट अवैध रूपमा काठ काट्न लगाएर सामुदायिक वनका उपभोक्ता र काठ मिललाई बिक्री गर्ने गरेको खुलासा भएको उनको भनाइ छ ।

यो एक प्रतिनिधिमूलक उदाहरण मात्र हो । ठूलो वनक्षेत्र रहेको कैलालीमा वन माफिया र तस्करबाट विभिन्नि ठाउँमा अवैध ढंगले रूख काट्ने, वन फँडानी र अतिक्रमण गर्ने क्रम बढ्दो छ । सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी, काठ व्यवसायी र वनका केही कर्मचारी समेतको संलग्नतामा सामुदायिक वन र राष्ट्रिय वनमा व्यापक रूख कटानी हुने गरेको स्थानीय बताउँछन् ।

‘उपभोक्ता समितिका पदाधिकारी, काठ व्यवसायी, काठ तस्कर, कर्मचारी सबै मिलेर वन सखाप पारिरहेका छन्,’ पहलवानपुरका एक युवाले भने, ‘कुनै बेला हरियो वन नेपालको धन भनेर पढेका थियौं, अहिले हरियो वन माफियाको धन भएको छ ।’ राष्ट्रिय वन र सामुदायिक वनबाट रूख काटेर काठका विभिन्न मिलमा बिक्री हुने गरेको उनको भनाइ छ । उपभोक्ता समितिले काठ ठेकेदारसँग मिलेर पनि वनका रूखहरू काटेर बिक्री गर्ने गरेका छन् ।

यसैगरी चुरे क्षेत्र पनि व्यापक वन फँडानीले विनाश हुँदै गएको छ । ‘माफियाहरुका कारण वनक्षेत्र फँडानी हुँदै गएको छ, अति महत्वपूर्ण चुरे क्षेत्र पनि वन फँडानीले संकटमा पर्दै गएको छ,’ वन संरक्षणकर्मी तथा कैलालीका पूर्ववन अधिकृत रमेश चन्दले भने, ‘चुरे क्षेत्रको वन विनाशले सो क्षेत्रमा भूक्षय हुनुका साथै तराईका बस्तीमा पनि बाढी, कटानलगायत संकट आउने देखिन्छ ।’

डिभिजन वन धनगढीका प्रमुख कँडेलले कैलालीमा ठूलो वनक्षेत्र भएकाले लुकीछिपी रूख कटानी भए पनि पछिल्लो अवधिमा आफूले कडाइ गरेर वन फँडानी नियन्त्रण गर्दै लगेको दाबी गरेका छन् । ‘ठूलो वन क्षेत्र छ, धेरै जनसंख्या छ, अपराध त जहाँ पनि हुन्छ,’ उनले भने, ‘ठूलो जनसंख्या र पहाडबाट बसाइसराइ मुख्य चुनौती बनेको छ ।’

कैलालीमा वनक्षेत्र अतिक्रमण रोक्न र वन संरक्षणका लागि बर्सेनि ठूलो रकम खर्चिने गरेको छ । तर वनक्षेत्र फँडानी र अतिक्रमण बढ्दै गइरहेको छ । कैलालीमा दुई वर्षअघि २१ हजार एक सय ५४ हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा परेको थियो । अहिले बढेर अतिक्रमित वनक्षेत्र २५ हजार हेक्टरभन्दा बढी पुगेको तथ्यांक छ । ‘कैलाली विगतदेखि तीव्र वन फँडानी भएको र अतिक्रमणमा परेको जिल्ला हो,’ उनले भने ।

पहिले कैलालीलाई हेर्ने जिल्ला वन कार्यालयले मात्र हेर्ने गरेकोमा अहिले धनगढी र पहलवानपुरमा वन डिभिजन कार्यालय राखिएका छन् । वन क्षेत्र फँडानी गरेर सुकम्बासी बस्ने, मन्दिर निर्माण गर्ने, संघसंस्थाका भवन निर्माण, विद्यालय, स्वास्थ्य चौकीका भवन निर्माण गर्ने र जनप्रतिनिधिले पनि वडा कार्यालय, खेलमैदानलगायत संरचना निर्माण गर्ने गरेका छन् ।

 

प्रकाशित: १९ माघ २०७६ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App