१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भारतको सहज जित

अकल्यान्ड – श्रेयस ऐयरले आफूलाई भारतीय क्रिकेटको नयाँ स्टारका रूपमा प्रमाणित गरेको दिन आइतबार घरेलु टोली न्युजिल्यान्डलाई ७ विकेटले पराजित गरेको छ।

केएल राहुलको अर्धशतकसँगै युवा खेलाडी श्रेयस ऐयरले पनि उत्कृष्ट प्रदर्शन गरेपछि पाहुना टोली भारत दोस्रो ट्वान्टी–२० क्रिकेटमा ७ विकेटको सानदार जित निकाल्न सफल भएको हो। लगातार दोस्रो जितसँगै भारतले न्युजिल्यान्ड विरुद्धको पाँच ट्वान्टी–२० शृंखलामा २–० को अग्रता बनाएको छ।

अकल्यान्डस्थित इडेन पार्कमा घरेलु टोली न्युजिल्यान्डले दिएको १ सय ३३ रनको लक्ष्य भारतले १७.३ ओभरमा मात्र तीन विकेटको क्षतिमा भेटाएको थियो। भारतको जितमा ओपनर केएल राहुलले अर्धशतक बनाउँदा श्रेयस ऐयरले ४४ रनको योगदान गरे। ५० बल खेलेका राहुलले ३ चौका र २ छक्काको मद्दतमा ५७ रन बनाउँदा अविजित रहे। श्रेयस ऐयरले ४४ रनको योगदान दिए। ३३ बल खेलेका ऐयरले १ चौका र ३ छक्का प्रहार गरे। कप्तान विराट कोहली ११ रनमा टिम साउथीको बलमा टिम सेफर्टबाट समातिए। ओपनर रोहित शर्मा ८ रनमा टिम साउथीको बलबाट क्याच भएका थिए। बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले २ विकेट आफ्नो नाममा लेखाउँदा इश सोधीले एक विकेट निकाले।

यसअघि टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर भारतविरुद्ध १ सय ३२ रन जोड्न सफल भएको थियो। न्युजिल्यान्डका लागि मार्टिन गुप्टिल र टिम सेफर्टले सर्वाधिक ३३-३३ रन बनाए। कोलिन मुनरोले २६ रन बनाउँदै पवेलियन फर्किंदा रोस टेलरले १८ तथा कप्तान केन विलियम्सनले १४ रनको पारी खेले। बलिङतर्फ भारतका रवीन्द्र जडेजाले २ विकेट हात पार्दा जसप्रीत बुमराह, शार्दूल ठाकुर र शिवम् दुवेले १-१ विकेट लिए। यसअघि पहिलो ट्वान्टी–२० खेलमा भारत ६ विकेटले विजयी भएको थियो। तेस्रो टी–ट्वान्टी खेल आगामी बुधबार हुनेछ।

प्रकाशित: १३ माघ २०७६ ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App