१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

उखुको मूल्य ५ सय ३१ रुपैयाँ सिफारिस

रौतहट- उद्योग मन्त्रालय र कृषि मन्त्रालयको आपसी समन्वयमा सोमबार उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३१ रूपैयाँ कायम गरी मन्त्रिपरिषदमा सिफारिस गरिएको छ। उद्योगी र कृषकले आपसी छलफलबाट उखुको मूल्य निर्धारण गर्न नसकेपछि दुवै मन्त्रालयले मूल्य तय गरेर अनुमोदनका लागि मन्त्रिपरिषदमा सिफारिस गरेका हुन्।

उद्योग मन्त्रालयमा सोमबार बसेको बैठकले किसान र उद्योगी दुवै पक्षलाई मान्य हुने गरी उक्त मूल्य निर्धारणका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजान लागेको हो। दुवै मन्त्रालयका तर्फबाट लगिने प्रस्ताव मन्त्रिपरिषदले पारित गरेपछि उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३१ रुपैयाँ निर्धारण हुने बताइएको छ।

यसअघि उद्योग मन्त्रालयमा २ पटक र अन्य स्थानमा ४ पटक गरी ६ पटकसम्म भएको वार्ता उखुको मूल्य निर्धारणमा असफल भएका थिए। उखु उत्पादक कृषकले प्रतिक्विन्टल ५ सय ५६ रुपैयाँ पाउनुपर्ने र उद्योगीले प्रतिक्विन्टल ५ सय १३ रुपैयाँ मात्र दिन सक्ने अडान राखेपछि मूल्य निर्धारण हुन सकेको थिएन। क्रसिङ सिजन सुरु भइसकेको र चिनी उद्योग सञ्चालन गर्नुपर्ने बेला भइसकेपछि मूल्य निर्धारण नभई उखु नबेच्ने किसानको अडानपछि चिनी उद्योग सञ्चालनमा आउन सकेका छैनन्।

उद्योग मन्त्रालयमा उद्योगमन्त्री नविन्द्रराज जोशी, उद्योग सचिव, कृषि सचिव लगायतको रोहबरमा बसेको बैठकले उद्योगीले भनेको र कृषकले माग गरेको मूल्यको बीचको ५ सय ३१ रुपैयाँ तोकेर क्याबिनेटमा अनुमोदनको लागि सिफारिस गरेपछि आफूहरु राजधानीबाट तराई फर्केको उखु उत्पादक महासंघ नेपालका अध्यक्ष कपिलमुनि मैनालीले बताए।

प्रकाशित: १२ पुस २०७३ ०४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App