१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जनप्रतिनिधिसँग जनताका गुनासै गुनासा

वीरेन्द्रनगर- स्थानीय तहले गरेका काम कारबाहीलाई लक्षित गर्दै सिम्ता गाउँपालिका–२ का मदन खड्का साहित्यमा यसरी प्रस्तुत हुन्छन्।
‘विद्यालयमा स्वास्थ्य परीक्षण कहिलेबाट आउँछ,
हरेक वर्ष सरकारले आशा मात्र छाउँछ
किसानहरूका माग कहिले पूरा गर्ने,
किन, भेरीगंगाको शिक्षा क्षेत्र व्यवस्थित नहुने ?’ उनीमा मात्र स्थानीय तहको कामप्रति वितृष्णा छाएको छैन। भेरीगंगास्थित रामघाटकी शान्ता डाँगीलाई पनि स्थानीय तहले जनअपेक्षाअनुसार काम गर्न नसकेको अनुभूति हुन्छ। सुन्दर नेपाल संस्थाले आयोजना गरेको साझासभा कार्यक्रममा शान्ताले जनप्रतिनिधिले यसभन्दा अघि गरेका प्रतिबद्धता स्मरण गराइन्।

‘भेरीगंगाका स्थानीय प्रमुखले किसानले उत्पादन गरेका सामाग्रीको बजारिकणलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाउनु भएको थियो,’ विगतका प्रतिबद्धता स्मरण गराउँदै उनले भनिन्, ‘खै त बजारिकणको समस्या समाधान भएको? हामीले उत्पादन गरेका सामाग्री बजार अभावका कारण कुहिएर खेर गइरहेका छन्।’ स्थानीय तहको चुनावमा उम्मेदवारले गाउँमा एम्बुलेन्स सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे पनि पूरा हुन नसकेको यहाँका बासिन्दाले यहाँका जनप्रतिनिधिलाई स्मरण गराए।

एउटा एम्बुलेन्स नहुँदा बिरामीलाई सार्वजनिक यातायात तथा बोकेर स्वास्थ्य संस्थासम्म लिनुपर्ने बाध्यता भएको गुनासो व्यक्त गरे। यहाँको एक विद्यालयमा अध्ययनरत छात्रा श्रीजना रसाइलीले विद्यालयमा भौतिक पूर्वाधार अभावमा पठनपाठनमा समस्या भएको बताइन्। राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन मुहान र निकास आसपासका बासिन्दाले मुआब्जा नपाएको गुनासो पनि यहाँका बासिन्दाले राखेका थिए। उक्त आयोजनामा रातो लाजपूर्जा, सेतोपूर्जा र सार्वजनिक जग्गा अतिक्रमण गरिएको छ।

यहाँको झन्डै ३३ हेक्टर जमिन (करिब दुई सय परिवार) को मुआब्जा पाउन नसकेको नरबहादुर थापाले बताए। सुकुम्वासीको अव्यवस्थित बसोबासले दुःख झेल्दै आएको भन्दै उनले भने, ‘सुकुम्वासीको व्यवस्थित बसोबास हुनुपर्छ र मुआब्जा पनि समयमै पाउनु पर्छ।’

‘किसान परिचयपत्र पाएको वर्षदिन भइसक्यो,’ यहाँका किसान झुमा खड्का (खत्री) ले भनिन्, ‘यसको काम देखिएको छैन।’ बाकसमा मात्र राख्ने काम भएको भन्दै उनले किसान परिचयपत्र प्रयोगमा आउन नसकेको बताइन्। त्यस्तै खडकबहादुर शाहीले ज्येष्ठ नागरिकले सरकारद्वारा तोकिएको सेवा सुविधा पाउन नसकेको गुनासो गर्दै उक्त व्यवस्था कार्यान्वयन गर्नुपर्ने बताए।

हाल स्वास्थ्यचौकी रामघाटलाई प्रदेश सरकारले ल्याव सञ्चालनका लागि सामाग्री उपलब्ध गराएको छ। तर स्थानीय तहले जनशक्ति पदपूर्ति गर्न नसक्दा अहिले प्रयोगविहीन भएको छ। यो सञ्चालनका लागि स्थानीय सरकारले तदारुकता देखाउनु पर्ने कार्यक्रममा सहभागी भएकाले बताएका थिए। ल्याव सञ्चालन नहुँदा यहाँका स्थानीय महँगो गाडी भाडा तिरेर छिन्चु, मेहलकुना, वीरेन्द्रनगरलगायतका क्षेत्रमा जानुपर्ने बाध्यता छ।

यहाँका जनताले शुद्ध खानेपानी खान नपाएको भन्दै लालबहादुर सिंहले केही आयोजना अधुरा हुँदा समस्या भएको बताए। विद्यालय, सरकारी तथा गैरसरकारी संस्था तथा सार्वजनिक स्थलमा अपांगमैत्री संरचना नहुँदा अपांगले दुःख खेप्नु परेको सहभागीको भनाइ छ। भाषण मात्रभन्दा पनि भाषणलाई व्यवहारमा उतार्न सके समाज परिर्वतन हुन समय नलाग्ने यहाँको बासिन्दाको भनाइ छ। यहाँका बासिन्दाको अपेक्षाअनुसार काम गर्न नसके पनि त्यसका लागि केही आधारहरू तयार भएको प्रतिनिधिसभाका सदस्य (सांसद) धुव्रकुमार शाहीले बताए। उठेका गुनासालाई सम्बोधन गर्दै उनले केही काम भए पनि सबै पूरा हुन नसकेको बताए।

यहाँ बन्न लागेको विमानस्थलका लागि आफू प्रतिबद्ध भएको भन्दै उनले रामघाटलाई कृषि क्षेत्रको नमुना बनाउने उद्घोष गरे। यहाँको जग्गा विवाद जटिल भएको भन्दै उनले यसको कार्यविधि तयार हुँदै गएको बताए। उक्त कार्यविधि बनेपछि जग्गा विवाद समाधान हुने उनले आश्वासन दिए। त्यस्तै उक्त कार्यक्रममा भेरीगंगा नगरपालिकाकी उपमेयर रेणु आचार्यले स्थानीय तहलाई अधिकार दिन कन्जुस्याइँ हुँदा केही काम गर्न समस्या भएको स्वीकार गरिन्।

‘बजेट पर्याप्त छैन,’ उनले भनिन्, ‘जनताका अपेक्षा धेरै छ।’ थोरै थोरै बजेट बाँडफाँड गर्दा कामको प्रतिफल नदेखिएको उनको भनाइ छ। जनता आवास कार्यक्रममा यहाँका दुई सय घरपरिवार छनोट भएको उनले जानकारी दिइन्।

 

प्रकाशित: ११ माघ २०७६ १०:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App