१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अबको ध्यान उपसभामुखमा

काठमाडौं – प्रतिनिधिसभाको सभामुखको उम्मेवारीसँगै उपसभामुख पद खाली भएको छ। उपसभामुखबाट शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अब यो पदमा कसलाई ल्याउने भन्ने विषय चर्चामा छ। नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी भएकाले उपसभामुख पाउनका लागि आफ्नो तर्फबाट भूमिका खेल्न सुरु गरेको छ। सभामुखको उम्मेदवारी नदिएर नेकपाका उम्मेदवारलाई निर्विरोध हुन सहयोग गरेको विषयले पनि उपसभामुख पाउन कांग्रेसको रणनीति हो कि भन्ने पनि चर्चा हुन थालेको छ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले कांग्रेसले दाबी गर्नु स्वाभाविकै भएको बताए। संविधानको धारा ९१ (२) मा भनिएको छ,– ‘सभामुख र उपसभामुखको निर्वाचन गर्दा प्रतिनिधिसभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नुपर्ने छ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ।’

सभामुखको उम्मेदवारीमा सापकोटालाई अघि सार्दा राजपाले समर्थन गरेकाले कतिपयले राजपाले उपसभामुख पाउने चर्चा गरेका छन्। नेकपाले सभामुखका लागि प्रस्ताव गरेका व्यक्तिको फरक दलबाट राजपा समर्थक बनेपछि उपसभामुख राजपाले पाउँछ कि भन्ने कुराको अड्कल गर्न थालिएको छ। गत पुस २ गते राजपा र नेकपाबीच भएको दुई बुँदे सहमतिले नै उपसभामुख राजपालाई दिने चर्चा राजनीतिबृत्तमा सुरु भएको थियो।

गत मंसिर १४ गते भएको उपनिर्वाचनमा देशैभरि राष्ट्रिय जनमोर्चाले नेकपासँग एकता गरेको थियो। त्यसमा पनि जनमोर्चाको अर्थपूर्ण मत रहेको गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको क्षेत्र नं. २ (ख) मा भएको प्रदेशसभाको उपनिर्वाचनमा नेकपाले राष्ट्रिय जनमोर्चालाई सहयोग गरेको थियो जसबाट राष्ट्रिय जनमोर्चाका सांसद् खिमविक्रम शाही दुईहजार ९७ मत अन्तरले कांग्रेसलाई पराजित गर्दै निर्वाचित भएका थिए। राष्ट्रिय जनमोर्चा र नेकपाको एकता अहिले पनि कायमै छ जसबाट प्युठान १ बाट राष्ट्रिय जनमोर्चाबाट निर्वाचित सांसद् दुर्गा पौडेललाई उपसभामुखमा ल्याउने चर्चा पनि भएको छ।

सभामुखमा नेकपाले अग्नी सापकोटालाई अघि सारेपछि उपसभामुखमा को ल्याउने भन्ने विषयमा नेकपाभित्र भने छलफल भएको छैन। सुरुमा सभामुख र उपसभामुख एकैपटक टुंगो लगाउने कुरा भए पनि उपसभामुखको विषयलाई रोकिएको थियो। सभामुखमा नेकपा भित्र माओवादी खेमाका सापकोटा ल्याउने निर्णयसँगै नेकपाका दुई अध्यक्षबीच उपसभामुखको विषयमा तै चुप मै चुपको स्थिती बनेको छ। जसबाट उपसभामुख कसलाई बनाउने भन्ने विषयमा पार्टीले छलफल नगरेको नेकपाले जनाएको छ।

नेकपाका एक उच्च नेताले भने, ‘उपसभामुख यो नै दलबाट हुन्छ भन्ने भन्न सकिने अवस्था अहिले छैन।’ सभामुखको निर्वाचन १२ गते तोकिएको छ। नयाँ सभामुखले उपसभामुखको निर्वाचन अघि बढाउने छन्। उमेदवारको विषयमा सहमति भएमा नयाँ सभामुख आएको एक हप्ताभित्रै उपसभामुख निर्वाचन हुनेछ। कांग्रेस सभापति शेरबहादुर देउवासँग केही विषयमा सहमति हुने संभावना भएपनि संवैधानिक परिषद्मा उपसभामुख पनि सदस्य भएकाले नेकपाले उपसभामुख कांग्रेसलाई दिन अप्ठ्यारो मानिरहरको स्रोतले बतायो। परिषदले निर्णय गर्दा विपक्षी दलको नेता र उपसभामुख एउटै धारणा आउने हुँदा संवैधानिक परिषदमा नेकपाको निर्णयमा अप्ठ्यारो पर्न सक्ने हुँदा यो पद मधेसी दलमै जान सक्ने एउटा आधार छ।

यता राष्ट्रियसभाका एकतिहाइ सदस्यको पदावधि सकिने भएपछि त्यो पद पूर्तिका लागि बुधबार मतदान छ। मतदानमा प्रदेश २ मा नेकपा र राजपाबीच एकता भएको छ। दुई जना नेकपाले र दुईजना राजपाले मिलेर उमेदवारी दिएका छन्। यो एकताबाट सकारात्मक परिणाम आएमा थप एकताको सम्भावना हुनसक्ने पनि देखिएको छ। राष्ट्रिय जनमोर्चाले राष्ट्रिय दलको मान्यता प्राप्त नगरेकाले यो दलबाट उपसभामुख बनेमा राष्ट्रिय मान्यता प्राप्त नगरेको दल संविधान विपरित हुने भन्दै अदालतमा मुद्दा पर्न सक्ने संभावना पनि देखिन्छ। संविधानले फरक दलको भनेकाले दल कै मान्यता प्राप्त हुनुपर्ने तर्क पनि उठेको छ। संसद्मा राष्ट्रिय जनमोर्चा १ सिट मात्र प्राप्त गरेकाले स्वतन्त्र दलको हैसियतमा छ।

प्रकाशित: ९ माघ २०७६ ०१:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App