१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

घटेन बालविवाह

पाल्पाको माथागढी गाउँपालिका–४, झडेवामा अस्थायी बन्धाकरणका लागि आएका उमेर नपुगेका किशोरी। तस्बिरः मुक्ति/नागरिक

पाल्पा – माथागढी गाउँपालिका–६, गोठादीकी अनिता घर्ती भर्खर २० वर्ष पुगिन्। तर, उनी दुई सन्तानकी आमा भइसकेकी छन्। उनको जेठो छोरा २ वर्षको पुग्यो। काखमा भएको छोरी बल्ल चार महिनाकी भइन्। उनले कक्षा १० मा अध्ययन गर्दा विवाह गरेकी हुन्।

२० वर्ष नपुग्दै विवाह गर्ने उनी एक्ली पात्र भने होइनन्। माथागढी गाउँपालिका–५, दमारकी सरिता रेश्मीले २० वर्ष नपुग्दै विवाह गरिन्। उनको काखमा छोरा हुर्किरहेको छ। रेश्मी बल्ल १८ वर्षकी पुगिन्। यस्तै १८ वर्षमै माथागढी–६ शारदा बाह्रघरेले छोरा जन्माइसकेकी छन्। उनीजस्तै उमेरमा छोरा हुर्काइरहेकी छिन्, अस्मिता गाहा। पढ्ने उमेरमा किशोरी छोराछोरी लिएर अस्थायी बन्धाकरण शिविरमा पुगेका थिए।

माथागढी गाउँपालिकाको प्रायः सबै वडामा बालविवाहको समस्या व्याप्त छ। यहाँका अधिकांश किशोरकिशोरीले साथीभाइको लहलहैमा लागेर पढ्दा पढ्दै आफै विवाह गरेको बताउँछन्। १८ वर्षमै विवाह गरेकी एक किशोरीले भनिन्, ‘पारिवारिक बन्धनमा बस्न निकै कठिन हुने रहेछ। अहिले श्रीमान् बाहिर हुनुहुन्छ, बाहिर जाने मान्छेले संकाको दृष्टिकोणले हेर्दा रहेछन्,’ उनले भनिन्। पढ्ने रहर भएता पनि विवाहपछि सबै सपना चकनाचुर भयो। अहिले आमा बनेको कारण जिम्मेवारी थपिएको महसुस भएको छ।

पाल्पामा बालविवाहको मुख्य कारण पारिवारिक दबाब, लहलहै र आर्थिक कारण रहेको इन्सेकका जिल्ला प्रतिनिधी यज्ञमूर्ति तिमिल्सिनाले बताए। उनी भन्छन्, ‘लैंगिक विभेद, असमानता, गरिबी, अशिक्षा र संस्कारजन्य कारण जिल्लाले बालविवाहलाई प्रोत्साहन भइरहेको छ। यसविरुद्ध खबरदारी सबै तह र तप्काबाट स्थानीय सरकार लाग्नुपर्ने समय आएको छ।’

पाल्पा मगर समुदायको बाहुल्यता रहेको कारण निकै कम मागी विवाह गर्ने चलन हुने गरेको छ। बालबालिकाले सानै उमेरमा विवाह गरेपछि विवाहपछि उनीहरूले विद्यालय पढ्नसमेत छाडेका छन्। घर परिवारको अनुमतिबिना नै बालबालिकाको विवाह हुन्छ, अभिभावकले विवाह गरी आएका बालबालिकालाई तिमीहरू साना छौं भनेर सम्झाउने बुझाउने पनि कम हुन्छ, तिमिल्सिनाले भने। धर्म, संस्कृत र परम्परागत कारण पनि बालबिवाह हुने गरेको छ। त्यस्तै पारिवारिक दबाब, साथीहरूको लहलहै, देखासिकी, गरिबी, अशिक्षा, अन्धविश्वास, सामाजिक सञ्जालका कारण बालबिवाह बढिरहेको पाइन्छ।

बालविवाहले महिला पुरुष दुवैलाई प्रभाव पारेता पनि महिलाहरू बढी पीडित बनेको पाइन्छ। बालमैत्री स्थानीय शासनको आवाज उठिरहेको समयमा बालबालिकाको बाँच्न पाउने, विकास, संरक्षण र सहभागिताको अधिकारसमेत बालविवाहले अवरोध सिर्जना गरेको पाइन्छ।

माथागढी गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाले मगर समुदायमा बालविवाह भएको तथ्यांकमा देखिएको र यसको न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम गर्दै आएको बताए। बालविवाहको तथ्यांक संकलन गरिरहेका छौं। बालमैत्री गाउँपालिकाको एउटा सूचक पनि भएकाले हामी यकिन तथ्यांक आइसकेपछि यसलाई निर्मुल पार्न अभियान नै चलाउँदै छौं। ‘बालविवाह भएको भोजमा जनप्रतिनिधि तथा कर्मचारी सहभागी हुने गरेका छैनौ,’ अध्यक्ष थापाले भने, ‘बालबालिका तथा महिलाको बजेटबाट सचेतनाका कार्यक्रम हुँदै आएको छ। स्थानीय सरकार आइसकेपछि केही कमी हुँदै गएको छ।’

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जिसीले सानै उमेरमा गरिने विवाहले छिटो बच्चा जन्मिने जसका कारण मातृ मृत्युदर र शिशु मृत्युदरसमेत उच्च बनेको बताए। उनी भन्छन्, ‘बालविवाहले स्वास्थ्य, सामाजिक, आर्थिक समस्या देखिएका छन्। किशोरकिशोरी बीचमै पढाइ छाड्ने, वैदेशिक रोजगार बढ्ने, सम्बन्धविच्छेदका घटना बढ्ने तथा आत्महत्या हुनेजस्ता नकारात्मक असर देखा पर्ने गरेको छ।’

जिल्लाको मगर, कुमाल र दलित समुदायमा सानै उमेरमा भागेर विवाह गर्ने चलन पनि छ। पूर्वखोला गाउँपालिका–४, देवीनगरकी रिता थापाले कलिलै उमेर विवाह गर्दा अनिच्छित गर्भधारण, अपरिपक्वता, आम्दानीको स्रोत नहुने जस्ता समस्या देखिएको बताइन्। उनी भन्छिन्, ‘सानो उमेर विवाह गर्दा घर परिवारमा समस्या हुनुका साथै जागिर नहुने र पति पनि सानै हुँदा झनै समस्या हुने रहेछ।’

पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिका–१, ख्याहाको कुमाल समुदायमा एक वर्षअघिसम्म पनि १२ देखि १८ वर्षकै उमेरमा विवाह गर्नेको संख्या उच्च रहेको स्थानीय नारायण कुमालले बताए। उनी भन्छन्, ‘अति विपन्न र पछाडि परेको समुदाय भएका हँुदा यो समुदायमा चेतनाको कमीकै कारण शिक्षाको पहँुच नहुँदा बाल विवाह हुने गरेको छ। गाउँपालिकामार्फत सचेतनामुलक कार्यक्रमले भने यसमा कमी आएको छ।’

माथागढीमा बालविवाहका कारण किशोरीले समस्या खेप्नुपरेको ठहर गर्दै नेपाल परिवार नियोजन संघ पाल्पाले, स्वास्थ्य कार्यालयसँगको समन्वयमा गरेको स्थायी तथा अस्थायी बन्धाकरण शिविर आयोजना गरेको थियो।

आइतबार सम्पन्न शिविरमा ४३ जना सेवाग्राहीमा उमेर नपुगेका ८ बढी किशोरीले सेवा लिएको बताइएको छ। संघका शाखा प्रबन्धक शोबाकान्त न्यौपानेले यौन र प्रजनन शिक्षाको कमी, सामाजिक र सांस्कृतिक कारणले गर्दा पनि बालविवाह भइरहेको बताए। उनी भन्छन्, ‘२० वर्षमुनिको विवाहका कारण गर्भपतन गराउनेहरूको संख्यामासमेत वृद्धि हुने गरेको छ। सानो उमेरमा गर्भाधारण हुँदा महिलाहरूमा आङ खस्ने, पाठेघर खस्ने र समग्र स्वास्थ्य प्रणाली नै बिग्रिन सक्छ। लैङ्गिक असन्तुलन बालविवाहको कारक तत्व हो।’

जिल्लाका ग्रामीण भेगमा हरेक वर्ष कलिलो उमेरमै विवाह गरी जन्मिएका १२ देखि १५ नवजात शिशुको मृत्यु हुने गरेको स्वास्थ्य कार्यालयको तथ्यांक रहेको छ। जिल्लाको कचल, कोलडाँडा, सत्यवती, बल्ढेगंढी, जुठापौवा, कसेनी, बाकामलाङ्ग, सहलकोट, मित्याल, भिरुबास, गोठादी, पोखराथोक, जल्पा, हेक्लाङ्ग लगायतका स्थानमा बालविवाह हँुदै आएको छ। सामाजिक समस्याको रहेको बालविवाह पाल्पामा पनि न्यूनीकरण हुन सकेको छैन। नेपालको मुलुकी ऐन २०२० को विवाहवारी महलमा अभिभावकको मन्जुरीमा १८ र मन्जुरीबिना २० वर्ष नपुगी विवाह गर्नु नै बालविवाह भनि उल्लेख गरिएको छ। बालविवाहलाई कानुनले दण्डनीय मानेको छ।

प्रकाशित: ७ माघ २०७६ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App