१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

नलाङमा फक्रिएको लालुपाते

विकेण्ड मनाउन, मधुमासमा रमाउन र पारिवारिक यात्रा गर्न धादिङको नलाङ उपयुक्त छ । यहाँ तालिम÷गोष्ठी चलाउन पनि सकिन्छ । वर्षैभरि शीतल हुने डाँडामा हिउँदका बेला पहारिलो घाम ताप्न पाइन्छ । बैंशालु लालुपातेसँग पिरती गाँस्दै हरेक दिन नलाङ हिमालसँग आँखा जुधाउँछ ।

कुनै पनि ठाउँमा एउटा राम्रो होटल वा रिसोर्ट बन्यो भने त्यहाँको चिनारीले व्यापकता पाउँछ । बिस्तारैबिस्तारै पर्यटन बगैंचामा रंगबिरंगका फूलहरू फुल्न थाल्छन् । आखिर पर्यटनले सम्भावनाका ढोका खुलाउँछ । त्यस्तै एउटा पर्यटन बगैंचा हो–नलाङ ।

धादिङको पश्चिम–दक्षिण भेकमा उभिएको नलाङ (१,५५० मिटर) स्वच्छ हावापानी, हिमाली सौन्दर्य र ग्रामीण जीवनशैलीका लागि प्रख्यात छ । सुन्तला गाउँको चिनारी बनाएको नलाङबाट २२० डिग्रीमा हिमाली शृङ्खला देखिन्छ । धौलागिरिदेखि अन्नपूर्ण, लमजुङ, मनास्लु, लाङटाङ, गणेश हिमाल हुँदै गौरीशंकर हिमाल टलक्क टल्केको देखिन्छ । 

गाउँको शिरान शिद्धलेकमा शिद्धबाबा बसेका छन् । बाबाको दर्शनले मनोकामना पूरा हुने जनविश्वास छ । मन्दिरमा शिवरात्रिका दिन मेला लाग्छ । जसरी हवाईजहाजको झ्यालबाट हेर्दा तलतल कुहिरोको तलाउ देखिन्छ त्यस्तै सिद्धलेकबाट हेर्दा ह्वाइट लेक देखिन्छ ।

प्याराग्लाइडिङ र रक क्लाइम्बिङका हिसाबले समेत नलाङ उपयोगी छ । पहिलापहिला विदेशीहरू हप्तौं बसेर डाँडाबाट ग्लाइडर उडाउँथे । डाँडाबाट व्यावसायिक रुपमा प्याराग्लाइडिङ गराउन सकिन्छ ।

नलाङ क्षेत्रमा मिश्रित समुदायको बसोबास छ । नेवार, मगर, गुरुङ, कामी, बाहुन, क्षेत्री, ठकुरी, दमाइ, गिरी, पुरी आदि मिलेर बसेका छन् । खेतीपाती र पशुपालन यहाँको मुख्य पेशा । गाउँमा धान, मकै, कोदो, मास, गहत र मस्याङ राम्रो उत्पादन हुन्छ । त्यस्तै तरकारीहरूमा रायो साग, मुला, काउली, बन्दा, फर्सी, घिरौंला आदि फलाइन्छ । त्यस्तै गाईभैंसी, कुखुरा र बाख्रा पालिन्छ ।

गाउँ सुन्दर हुनेवित्तिकै आफैँ पर्यटन गन्तव्य बन्दैन । त्यसका लागि चाहिने  पूर्वाधार विकास हुनु पर्छ । शिद्धलेक गाउँपालिका–२ नलाङलाई पर्यटकीय केन्द्र बनाउने श्रेय जान्छ पर्यटनकर्मी मेघराज नहर्कीलाई । उनले जन्मथलोलाई पर्यटन गाउँ बनाउन सन् २००१ मा श्रीवन नेचर क्याम्प खोले । माओवादी जनयुद्ध उत्कर्षमा रहेका बेला खोलिएको क्याम्पका कारण पर्यटक कम भित्रिए । तैपनि नलाङ चर्चित बन्यो ।

पर्यटन विकाससँगै गाउँको आर्थिक उन्नतिमा टेवा पुर्‍याउने उनको लक्ष्य छ । उनले शिद्ध सेवा समाज संस्थामार्फत गाउँमै पहिलो चोटी एम्बुलेन्स भिœयाए । शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान गरे । अचेल गाउँलेमा पर्यटन चेतना विस्तारका काम गर्दैछन् । 

नेपालको पर्यटनमा ४५ वर्ष बिताइसके उनले । हिप्पी युगमा १५ वर्षकै उमेरमा पर्यटन क्षेत्रमा होमिएका नहर्कीसँग हिप्पीसँगका धेरै सम्झना छन् ।

नलाङमा श्रीवन नेचर क्याम्प खोल्दा उनी सौराहामा ‘जंगल लगुन’ रिसोर्ट सञ्चालन गरिरहेका थिए । समय बदलियो, उमेरले उकाली चढ्दै छ । यतिबेला उनी ५८ वर्षमा हिँड्दै छन् । विसं २०७० देखि भने उनी नलाङमै केन्द्रित भएका छन् ।

उनको क्याम्पमा २० कोठा छन् । एकै रात ४५ जना अटाउँछन् । उनी ३५ सय रुपैयाँको प्याकेजमा लन्च, बेड, ब्रेकफास्ट र डिनर सुविधा दिन्छन् । दुई रात डाँडामा बसेर योग, ध्यान र आराम गर्न सके राम्रो हुन्छ ।  
काठमाडौं नजिकैको गन्तव्य नलाङ विकेण्ड मनाउन, मधुमासमा रमाउन र पारिवारिक यात्रा गर्न उपयुक्त छ । गाउँमा तालिम/गोष्ठी चलाउन पनि सकिन्छ । वर्षैभरि शीतल हुने डाँडामा हिउँदका बेला पहारिलो घाम ताप्न पाइन्छ । बैंशालु लालुपातेसँग पिरती गाँस्दै हरेक दिन नलाङ हिमालसँग आँखा जुधाउँछ ।

कसरी पुग्ने : काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै फुर्केखोला ७० किमि । फुर्केखोलाबाट पुल तरेर धादिङबेसीतिर ९ किमिमा बैरेनी । बैरेनी–नलाङ कच्ची बाटो १० किमि । बैरेनीबाट जिपमा नलाङ ।  
        
 

प्रकाशित: ४ माघ २०७६ ०६:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App