१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचनबारे छलफल थाले संसदको अवरोध हट्छः महासचिव पोख्रेल

संगम घर्ति मगर
बाग्लुङ–नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले संविधान संशोधन प्रस्ताव स्थगित गरेर निर्वाचन सम्बन्धी छलफल सुरु गरे संसदको अवरोध तत्काल हट्ने बताएका छन्। प्रेस चौतारी बाग्लुङले आइतबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोख्रेलले निर्वाचनबारे छलफल गर्न एमाले सधैं तयार रहेको बताए।

‘निर्वाचन गरेर संविधान कार्यान्वयन गर्ने बेला सरकारले संशोधनको नाटक गरेर निर्वाचन टार्ने प्रयास गरेको छ,’ उनले भने, ‘यदी सरकार निर्वाचनबारे छलफल गर्न आउँछ भने एमाले तयार छ।’ वर्तमान सरकार निर्वाचनबाट भागिरहेको उनको आरोप छ। ‘निर्वाचन भयो भने हाम्रो अवस्था के होला भनेर हिसाब किताब गरेर बस्नेहरुको कारण निर्वाचन सम्बन्धी कुरा ओझेल परेको छ,’ पोख्रेलले भने, ‘स्थानीय तह पुनर्संरचना आयोगले प्रतिवेदन बुझायो भने निर्वाचन गर्ने बाध्यता पर्छ भनेर प्रधानमन्त्री जी भागिरहनुभएको छ ।’

निर्वाचन भए संविधान कार्यान्वयनमा जाने भएकाले हिजो संविधान जारी नगर भन्नेहरुले अहिले संविधान कार्यान्वयनमा अवरोध गरेको उनले दाबी गरे। ‘हामीलाई संविधान जारी नगर्न भनेका हुन्, तर हामीले संविधान जारी गर्यौं,’ महासचिव पोख्रेलले भने, ‘संविधान जारी भएपछि हेरौंला कसरी कार्यन्वयन गर्दा रहेछौं भनेर भन्नेहरुले नयाँ रुपमा संविधान संशोधन प्रस्ताव ल्याएर कार्यान्वयन हुन नदिने चलखेल गरेका छन्।’

अहिलेको संविधान संशोधन प्रस्ताव असंवैधानिक भएकाले यसबारे संसदमा कुनै छलफल नहुने पोख्रेलले तर्क गरे । ‘यो संशोधन प्रस्ताव संविधानको धारा २७४ मा गरिएको स्पष्ट व्यवस्थाको खिलाफमा छ,’ उनले भने, ‘पारित हुने त परको कुरा यसबारे छलफल समेत हुँदैन ।’ संविधान संशोधन प्रस्ताव नेपालको सामाजिक सद्भाव खलबल्याउने गरी आएको उनको जिकिर छ ।

अहिलेका सरकारवादी दलहरुलाई आस र त्रास देखाएर केपी ओली सरकार ढालिएको पोख्रेलले आरोप लगाए । ‘पहिले ओली सरकार गिराएर तिमी प्रधानमन्त्री हौं भन्ने आस देखाए, त्यसपछि हामीले भनेको मान्दैनौं भने, तिमीलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउँछौं भनेर त्रास देखाएर ओली सरकार ढालियो,’ उनले भने। फरक प्रसङ्गमा पोख्रेलले संविधानको दायरा भित्र रहेर काम नगरेका कारण लोकमानसिंह कार्की माथि महाअभियोग लगाइएको बताए । ‘संविधान र नियम कानुन भन्दा माथि कोही छैन,’ उनले भने,‘सबैले आफ्नो दायरामा रहेर काम गर्नुपर्छ, यसमा इजार कस्ने वस्त्र खोल्ने कुरै आउँदैन ।’
 

प्रकाशित: १० पुस २०७३ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App