१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फेरि हिमपातले सास्ती

बिहीबार रातिदेखिको हिमपातले सेताम्य डोल्पा सदरमुकाम दुनै। तस्बिर : विष्णुप्रसाद देवकोटा/नागरिक

प्रदेश ब्युरो

काठमाडौं – हिउँदे वर्षासँगै शुक्रबार हिमाली र पहाडी जिल्लामा हिमपात भएको छ। हिमपातले चिसो बढाउँदा र बाटो अवरुद्ध गर्दा जनजीवन कष्टकर बनेको छ। विद्यालय सञ्चालन तथा टेलिफोन सेवा पनि अवरुद्ध भएको छ।

जुम्ला संवाददाता धनबहादुर बुढाका अनुसार कर्णाली अञ्चलमा हिमपात र वर्षाले चिसो बढेको छ। चिसोले बालबालिका र बुढाबुढी बढी प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले निरन्तरको हिमपातले जनजीवन निकै सकसपूर्ण रहेको बताए। हिमपातको समयमा जिल्लावासीलाई बाहिर नजान र लामो यात्रा नगर्न उनले सुझाव दिएका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाले न्यानो कपडा लगाउन, घरबाहिर ननिस्कन र प्राकृतिक तथा मानवीय विपद् जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना गरेको छ।

हिमपातका कारण जुम्लाबाट लामो तथा छोटो दूरीका यातायात सञ्चालन हुन सकेका छैनन्। हिमपातले दैनिक उपभोग्य सामान लिएर सर्वसाधारण आउजाउ गर्न सकेका छैनन्। हुम्ला, डोल्पा, मुगु र जुम्लाका धारामा बरफ जम्ने, पाइप फुट्ने, विद्युतका पोल ढल्ने तथा तार चुँडिने समस्या बढेको छ। जुम्ला तिला गाउँपालिका–९ का शेरबहादुर बोहोराले पानी जमेर धारा बन्द हुँदा खानेपानी समस्या भएको बताए।

डोल्पा संवाददाता विष्णुप्रसाद देवकोटाका अनुसार सदरमुकाम दुनैमा समेत बाग्लो हिउँ जमेको छ। माघमा हिउँ पर्नुलाई डोल्पालीहरु शुभ मान्छन्। यो महिनामा परेको हिउँले गहुँ, जौ, उवा र तरकारी बालीको उत्पादकत्व बढाउने त्रिपुराकोटका कालुप्रसाद हमालले बताए।

डोल्पा र जुम्लाको सीमामा पर्ने जगदुला गाउँपालिकाको मौरे भरभरे र मुडकेचुलाको भालु लेकमा भारि हिउँ जमेपछि दुई जिल्लाबीचको आवतजावत बन्द भएको छ। सदरमुकाम दुनैका सरकारी कार्यालयको कामकाजसमेत प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए। हिमपातले डोल्पाको जुफाल विमानस्थल बन्द भएको छ।

यातायात तथा सञ्चार अवरुद्ध, चिसोले जनजीवन कष्टकर। न्यानो कपडा लगाउन, घरबाहिर ननिस्कन र प्राकृतिक तथा मानवीय विपद् जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनको सुझाव।

बझाङ संवाददाता जगत खड्काका अनुसार लगातार पाँचौं पटक हिमपात भएपछि चिसो बढेसँगै सरकारी कामकाजमा समस्या हुनाका साथै जनजीवन कष्टकर बनेको छ। बुधबार साँझदेखि वर्षासँगै भारी हिमपात जारी छ। ५ फिटभन्दा बढि हिउँ जमेको साइपाल गाउँपालिका–५ का वडाध्यक्ष जयमल रोकायाले बताए। उनले भने, ‘चिसोका कारण वृद्ध र बालबालिकामा निमोनिया, खोकी र दम देखिएको छ।’ समयमै खाद्यान्न ढुवानी नहुँदा खाद्य संकट पनि हुने देखिएको उनले बतााए। हिमपात भएपछि विद्यालय बन्द गरिएको जय पृथ्वी नगरपालिका ११ स्थित निलकटी निमाविका प्रधानाध्यापक धनराम जोशीले बताए।

बाजुरा संवाददाता कृष्ण ओलीका अनुसार हिउँ पहिरोको जोखिम पनि बढेको छ। शुक्रबार दिउँसो हिउँपहिरोमा पुरिएर नौवटा बाख्रा मरेका छन् भने १४ वटा बेपत्ता भएका छन्। हिमाली गाउँपालिका–३ बिच्छ्यामा दिउँसो हिउँपहिरो आएर भेडीगोठ पुरेको प्रहरीले जनाएको छ।

चिसोले विद्यालय बन्द भएका, आवतजावतसमेत असहज बनेको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए। पोरखे लेकमा भारी हिमपातकै कारण यातायात बन्द भएको छ। जसका कारण कोल्टी क्षेत्रमा दैनिक उपभोग्य समान ढुवानीमा समस्या देखिएको छ। हिमपातपछि कोल्टी विमानस्थल बन्द भएको छ। मौसम बिग्रिएसँगै टेलिफोन सेवासमेत अवरुद्ध भएको छ।

रसुवा संवाददाता हिमनाथ देवकोटाका अनुसार रसुवागढी नाकाबाट आयात निर्यात ठप्प भएको छ। चीनको केरुङमा बिहीबार बिहानदेखि निरन्तर हिमपात भएका कारण आयातनिर्यात रोकिएको केरुङमा रहेका व्यवसायी पुरुषोत्तम पौडेलले बताए। ‘बिहीबार पाँचवटा गाडीमा लोड भयो’, उनले भने, ‘हिउँ पर्न नरोकिएपछि दिउँसोबाट लोडको काम रोकिएको छ।’ अहिले पनि त्यहाँ हिउँ परिरहेको छ। सडक तथा सामग्री लोड गर्ने ठाउँमा हिमपात भएका कारण बिहीबार दिउँसोदेखि सवारीसाधन सञ्चालन हुन नसकेका उनको भनाइ छ। हिउँमा गाडी चिप्लिने भएकाले चिनियाँ पक्षले सवारीसाधन सञ्चालन गर्न दिएको छैन।

गोरखा संवाददाता नरहरि सापकोटाका अनुसार तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिकाका सामागाउँ, छेकम्पारलगायत धार्चे गाउँपालिकाको लाप्राकमा बाक्लो हिउँ परेको हो। हिउँ अत्यधिक परेसँगै मनास्लु पदमार्गका विभिन्न ठाउँमा पहिरो बगेको छ। हिउँ पहिरोका कारण मनास्लु पदमार्ग बन्द भएको वडा नम्बर ४ का अध्यक्ष पेम्बाडुन्डुप लामाले बताए। नामरुङ गाउँभन्दा पाँच सय मिटरमाथि हिउँ पहिरो खसेको उनले बताए। पहिरोले ल्हो र प्रोकबीचको पदमार्ग पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ। लार्के प्रहरी चौकीले शुक्रबार बिहानैदेखि पहिरो आसपास भएर आउजाउ गर्न रोक लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओम अधिकारीले बताए।

प्रकाशित: ४ माघ २०७६ ०१:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App