१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गोरखाका प्रवलिकरण लाभग्राहीले अनुदान नै लिएनन

गोरखा- भूकम्पमा आशिंक घर भत्किएका पीडितलाई प्रवलिकरण गर्न सरकारले पुनर्निर्माण प्राधिकरण मार्फत एक लाख रुपैयाँ अनुदान दिने निणर्य ग¥यो। समान्य मर्मत गरेर बस्न मिल्ने अर्थात ‘रेट्रोफिटिङ’ गर्न मिल्ने घरलाई प्राविधिक नाप जाँचपछि प्रवलिकरण लाभग्राही कायम गरिएको हो। गोरखामा पाँच हजार तीन सय ५० घरधुरी प्रवलिकरण लाभग्राहीमा कायम भएपनि पूर्ण क्षतिमा तीन लाख लिने आसले धेरैले दोस्रो किस्ता लिएका छैनन्।

एक हजार आठ सय १७ प्रवलिकरण लाभग्राहीले पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएका छन्। दोस्रो किस्ताको ५० हजार लिएपछि पूर्ण क्षतिमा जान नपाइने हुँदा उनीहरु अहिले पनि पूर्ण क्षतिको आशमा दोस्रो किस्ता लिएका छैनन्। ती बाहेकका लाभग्राहीले प्रवलिकरणमा सिफारिस भएर पहिलो किस्ता लिँदा पूर्ण क्षतिमा जाने बाटो बन्द हुने आशंकाले पहिलो किस्ता समेत लिएनन्। प्रवलिकरण लाभग्राहीमा परेका मध्ये दुई जनाले दोस्रो किस्ताको रकम लिएको जिल्ला आयोजना कार्यन्वयन इकाई (जिमाली) का प्रमुख रामशरण आचार्यले बताए। जिल्लाभर अहिलेसम्म सातवटा घर मात्रै प्रवलिकरण भएको छ। तीमध्ये ५ वटा भारत सरकार सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको सहयोगमा बनेको हो।

‘तीन लाख नै पाईन्छ कि भन्ने आशमा प्रवलिकरण लाभग्राहीले अनुदान लिएका छैनन्’ जिमालीका प्रमुख आचार्यले भने ‘अब त्यो सम्भावना कम छ।’ दुई हजार एक सय तीन जना भूकम्प पीडितले आफू प्रवलिकरणबाट पूर्ण क्षति लाभग्राहीमा जान इच्छुक रहेको भन्दै निवेदन दिएका थिए। तीमध्ये राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ७१ जनाको मात्रै पूर्ण लाभग्राहीमा सिफारिस गरेको छ। पूर्ण क्षति लाभग्राहीबाट प्रवलिकरणमा जान चाहेका २० जनामध्ये १४ जनाको सिफारिस भएको इकाईले जनाएको छ।

भूकम्पको केन्द्रबिन्दु जिल्ला गोरखामा ७१ हजार एक सय ६९ लाभग्राही कायम भएका छन्। ६७ हजार पाँच सय ७१ जनाले अनुदान सम्झौता गरेका छन् भने ६४ हजार एक सय ८९ जनाले पहिलो किस्ता लिएका छन्। ६२ हजार एक सय ३४ ले दोस्रो किस्ता र ५७ हजार सात सय ८५ ले तेस्रो किस्ताको अनुदान लिएका छन्। ४४ हजार आठ सय ७१ घर भने निर्माण पूरा भएको जिल्ला आयोजना कार्यन्वयन इकाई (भवन) कि  प्रमुख सुनिता श्रेष्ठले बताइन्। तेस्रो किस्ता लिएका घर पनि निर्माण सम्पन्नको चरणमा छन्। प्राविधिक खटिनुअघि गोरखामा एक सय ४१ घर बनिसकेकोमध्ये ६६ घर मात्र अनुदान पाउन योग्य सूचीमा सिफारिस भएका छन्।

प्रकाशित: ३ माघ २०७६ ०९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App