१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

जाडोमा कुन–कुन रोगको जोखिम ?

सरुवा रोगको हकमा जाडो मौसमलाई स्वस्थ मौसमको रुपमा लिइन्छ । तर केही जटिल नसर्ने रोग र सीमित सरुवा रोगको हकमा जाडो मौसम कठोर मौसमको रुपमा चिकित्सक लिन्छन् । चिकित्सकहरु भने विभिन्न दीर्घरोगी तथा वृद्ध–वृद्धा बालबालिकाका लागि जाडो मौसम जोखिम रहेको औल्याउँछन् । यस किसिमका रोगीले यो मौसममा विशेष हेरचाह  नगरे जाडोकै कारण ज्यान जोखिममा पुग्छ । कतिपयको थाहै नपाई मृत्युसमेत हुन सक्छ । बाथरोग, मुटुजन्य रोग, श्वास–प्रश्वासको रोग छालामा देखिने रोग यो मौसममा बढ्ने कारण यी रोगका बिरामीलाई जाडोमा रोग जटिल बनेर हैरान पार्छ ।

जाडोमा मुटुजन्य रोगीलाई जोखिमै जोखिम
श्वासप्रश्वास तथा मुटुजन्य रोग लागिसकेका मानिस जाडोमा बढी जोखिममा पर्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल बताउँछन् । डा. अनिलका अनुसार रगतमा उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, मोटोेपना, मधुमेहका मानिसका लागि जाडो महिना खतरनाक महिना हो । जाडोको कारणले यी रोग बढ्छन् । यस्तो समस्या भएका बिरामीले नियमित चेकअप गर्ने र रगतको स्थिति सामान्य राख्नु पर्छ । यो समस्या नियन्त्रण नभएमा उच्चरक्तचाप, कोलेस्ट्रोल बढेर मुटु तथा रगतका अन्य नली बन्द भई हृदयाघात, मस्तिष्काघात, पक्षघात तथा मुटु बन्द हुने जस्ता समस्या हुन सक्छन् । शरीरमा उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, मधुमेह भइसकेका, मुटुरोग पहिचान नभएका तर स्वस्थ मानिएका व्यक्ति पनि जाडोकै बेला जोखिममा हुने डा. अनिल बताउँछन् । ‘उनीहरुभित्र रोग लुकेर बसेको हुन्छ, जाडोमा एक्कासि देखिन सक्छ,’ उनले भने ।

यो सँगै लामो समयदेखि रक्सी र चुरोट सेवन गरिरहेका व्यक्ति पनि जाडोमै जोखिममा पर्छन् । डा.अनिलका अनुसार जसको पहिल्यै मुटुको धड्कन बढ्ने समस्या भएका, वाइपास सर्जरी गरिसकेका, वृद्ध–वृद्धाहरु जसको मुटुरोग पहिचान भइसकेको हुँदैन, उनीहरु पनि बढी जोखिममा हुन्छन् । यस बाहेक मिर्गौला, दम, मधुमेहका दीर्घरोगीहरु पनि मुटुरोगको जोखिममा हुन्छन् । उनीहरुमा जाडोमा एक्कासि मुटुको समस्या देखिन सक्छ । उनीहरुले नियमित स्वास्थ्य जाँच गरी नियमित औषधि खाएर रोग नियन्त्रणमा राख्नु पर्छ । ‘उनीहरु ढुक्कसँग बस्न मिल्दैन, यस्ता बिरामीको मुटुको धड्कन बढ्न सक्छ,’ डा.अनिलले भने । सामान्य मानिस भने यी कुरादेखि त्यति डराउनु पर्दैन । उनीहरु मर्निङ वाकमा निस्कन सक्छन् ।

यस्ता बिरामीहरु सकेसम्म बिहान र साँझमा घरबाहिर निस्कनु हुँदैन । यस्ता बिरामीले घाम उदाएपछि मात्र हिँडडुल गर्ने, नियमित व्यायाम गर्ने गर्नुपर्छ । जाडोमा नियमित व्यायाम गर्नु परेमा घरभित्रै गर्न मिल्ने र घाम लागेपछि गर्ने व्यवस्था मिलाउनु उचित हुने उनी सुझाउँछन् ।  यो मौसममा न्यानो राख्न मानिसहरु बढी रक्सी तथा मासुको प्रयोग गर्ने चलन छ । मासु र रक्सीले न्यानो बढाउनुभन्दा पनि उल्टै मुटुजन्य रोग निम्ताउने अनिलको तर्क छ । सकेसम्म जाडोमा मदिराको सेवन नगर्ने र मासु पनि कम मात्रामा प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।

मुटुजन्य रोगको जोखिम समूहले जाडो मौसममा विशेष हेरचाह गर्न चिकित्सकको सुझाव छ । जाडोबाट बच्ने, घाम उदाएपछि हिँड्ने, दीर्घरोगीले औषधि नियमित सेवन गर्ने, खानपान तथा चिसोसित लापरबाही नगर्ने, नियमित स्वास्थ्य जाँच गर्ने, चुरोट–रक्सी सेवन नगर्ने, चिल्लो तथा मासुजन्य पदार्थको कम प्रयोग गर्ने गरेमा चिसोको जोखिमबाट बच्न सकिने चिकित्सकको सुझाव छ ।

जाडोमा दम तथा एलर्जीले हैरान
चिसोमा बढी मात्रामा देखिने रोगहरुमा भाइरल संक्रमण ज्वरो, निमोनियाँ, रुघाखोकीको समस्या हुन्छ ।  चिसोको एलर्जी छ भने उनीहरुलाई जाडो मौसम काल नै बन्ने गर्छ ।  यी रोगको समयमै उपचार भएन भने निमोनियाँ भई फोक्सोमा थप संक्रमण हुन्छ । यी मौसमी संक्रमणबाहेक पहिलादेखि नै आस्थामा (युवा उमेरमै हुने श्वासको रोग) भएका मानिस, बालबालिका र वृद्धमा हुने दम बढेर दुःख दिन्छ । चिसोको कारण खोकी बढ्ने, श्वास फेर्न गाह्रो हुने, दम बढ्नेजस्ता समस्या बढ्छ । चिसो वातावरणमा बढ्ने प्रदूषणको कारण पनि एलर्जी बढ्छ नै । ‘चिसोको एलर्जी छ भने त्यस्ता बिरामीलाई चिसोमा बढ्तै च्याप्छ,’ डा.विष्टले भने । चिसोको एलर्जी भएकालाई श्वास फेर्न गाह्रो हुने, खोकी लाग्नेजस्ता समस्या हुन्छ । 

पछिल्लो समय वातावरणमा देखा परेको प्रदूषणको कारण युवा उमेरमै आस्थामाको रोग बढेको डा.विष्ट बताउँछन् । जाडोको बेला न्यानो राख्नका लागि हामी कहाँ आगो, मक्कल, गुइँठा बाल्ने चलन छ । न्यानो राख्न बालिने यी कुराले पनि एलर्जी तथा दमको रोगीलाई सकस हुने भएकोले धुवाँजन्य आगो बाल्न नहुने चिकित्सकको सुझाव छ । जोखिममा रहेका बिरामीहरु धुलोधुवाँबाट बच्ने, घाम लागिसकेपछि मात्र घरबाहिर निस्कने, श्वास–प्रश्वासका बिरामी चिसोमा मर्निङ वाकमा ननिस्कने, चिसो पानीको प्रयोग नगर्ने, मनतातो पानीले मात्र नुहाउने तथा हातमुख धुने, चिसोबाट बच्न पञ्जा तथा मोजाको प्रयोग गर्ने, न्यानो लुगा लगाउने, कोठाभित्रै व्यायाम गर्ने, धुलो धुवाँमा ननिस्कनेलगायतका सावधानी अपनाउनु पर्छ । पछिल्लो समय वातावरण प्रदूषणको कारण नेपालसहित भारत, चीनसमेत प्रभावित बनिरहेको र कम उमेरमै दम रोगीको संख्या बढिरहेको चिकित्सक औंल्याउँछन् । ‘पचास वर्ष नकाटेकाहरुमा आस्थामा बढेको देखिन्छ, चुरोट नखानेमा पनि दमको रोग बढेको देखिन्छ,’ उनले भने ।

जाडो मौसममा दम तथा चिसोको एलर्जी भएका बिरामीले फलफूल तथा सागपातले चिसो हुने भ्रम रहेको पाइन्छ । यस्ता खानेकुरा खानाले दमका रोगीलाई दम नबढ्ने डा.विष्टको सुझाव छ । जाडोको बेलामा पनि सबै प्रकारका फलफूल मिलाएर खान सकिने डा. विष्ट बताउँछन् । त्यसैगरी यो मौसममा हुन सक्ने भाइरल संक्रमणको जोखिमबाट बच्न फ्लुबिरुद्धको खोप लगाउन सकिन्छ ।

जाडोमै छालाका रोग बढ्ने
जाडो मौसममा छालामा केही नयाँ समस्या हुने र पहिल्यै भएका केही छालाका रोगहरु जटिल बन्ने चिकित्सक बताउँछन् । नेपालमा छालामा सुुख्खापना बढ्ने, लुतोको संक्रमण बढ्ने, कोल्ड सेन्सेटिभ रोग, सिंगोरिक डर्माटाइटिस र सारोसिस डर्माटाइटिसलगायतका रोगहरु बढ्ने छाला रोग विशेषज्ञ बताउँछन् । जाडो मौसममा छालाका रोगी तथा अन्य व्यक्ति पनि सतर्क हुन आवश्यक छ ।

नेपालमा जाडो महिनामा बढी देखिने रोगमा पर्छ छाला सुख्खा हुने समस्या । चिसो वातावरणको कारण छाला सुख्खा हुने गर्छ । त्यसमा पनि पहिलादेखि नै सुख्खा रहेको छाला जाडोको कारण बढी प्रभावित हुन्छ । छाला बढी सुख्खा हुने, चिलाउने हुन्छ । चिलाएको ठाउँमा घाउ हुने र थप संक्रमण हुने समस्या हुन्छ । छाला सुख्खा हुने समस्या भएका तथा नभएका दुवैले जाडो मौसमको सुरुमै छालाको हेरचाह गर्नुपर्ने वीर अस्पतालकी छाला रोग विशेषज्ञ डा. लैला लामा बताउँछिन् । उनका अनुसार चिकित्सकको सुझावमा मोस्चराइजर क्रिम लगाउने वा तेलले मालिस गर्ने गरेमा छालालाई नरम राख्न सकिन्छ ।

जाडोमै बढ्ने रोग हो सिंगोरिक डर्मटाइटिस र सोरासिस डर्माटाइटिस हुन् । यी दुवै रोग वंशाणुगत कारणले हुने रोग हो कोल्ड सेन्सेटिभ डिजेज । यो चिसोको कारणले मात्र शरीरका विभिन्न भागमा देखिन्छ । यो भएमा नाक, कान, औंलाका टुप्पाहरु रातो हुने, जोर्नी तथा औंला सुन्निनेजस्ता समस्या देखिन्छ । चिसोमा यस्ता रोग देखिने व्यक्तिहरुले आफ्नो शरीरको समस्या बुझेर समयमै सतर्क हुनुपर्छ । यस्ता व्यक्तिहरुले न्यानो लुगा प्रयोग गर्ने, खुट्टामा मोजा, टोपी, गलबन्दीको प्रयोग गर्ने, यी अंगहरुमा सिधै चिसो पानी नपार्ने, मनतातो पानीले मात्र मुख तथा हात धुने गरेमा यो समस्यालाई नियन्त्रणमा राख्न सकिन्छ । हेरचाह नगरेमा नाक, मुख, औलालगायतका अंगहरुमा घाउ हुने जोखिम हुन्छ ।

जाडोमा बढी सताउने बाथरोग
जाडो आयो कि बाथरोगीका लागि कठिन मौसम बन्ने गर्छ । बयोधा अस्पतालका बाथरोग विशेषज्ञ लवराज लोहनीका अनुसार जाडोमा जोर्नीमा असर पुगेको छ भने जुनसुकै बाथले सताउन सक्छ । तैपनि केही बाथरोगले जाडोमा धेरै दुःख दिन्छन् । यी केही बाथहरूमा विशेष हेरचाह गरेर बच्न सकिन्छ । जाडोमा बढी बढ्ने बाथहरुमा गठियाँ, स्क्रेलोड्रमा र मेरुदण्डको बाथ र युरिकएसिड बाथले बढी सताउँछ । जाडोमा बढी सताउने बाथमा पर्छ गठियाँ बाथ । यो बाथ भएका बिरामीमा चिसो बढेपछि बिहान उठ्दा हातखुट्टाका जोर्नी कक्रक्क हुने, उठेको केही बेरपछि बिस्तारै सामान्य अवस्थामा आउने जस्ता लक्षण बढ्छन् । यो बाथका बिरामीहरु चिसोबाट बच्न नियमित चिकित्सकको निगरानीमा औषधि सेवन गर्ने, चिसोमा धुलो, धुवाँवाट बच्ने गरेमा यो बाथको हैरानीबाट बच्न सकिन्छ । कसैलाई यो वा अरु कुनै पनि बाथको लक्षणको शंका लागेमा सुरुमै बाथरोग विशेषज्ञकहाँ पुगी जाँच गरेमा निको हुने र ढिला गरी उपचार गर्न पुगेमा निको नहुने डा. लवराज लोहनी बताउँछन् ।

डा. लोहनीका अनुसार चिसोमै सताउने अर्को बाथ हो स्क्रेलोड्रमा । यो बाथ बढी जसो महिलामा हुन्छ ।
यो बाथरोग लागेका बिरामीको जोर्नीका रगतका नसाहरु पहिल्यै साँघुरो भइसकेको र चिसोको कारण थप साँघुरो भई हात तथा खुट्टाका औंलाहरु सुन्निने, औंलाको रंग रातो या नीलो हुने र कतिपय अवस्थामा कुहिएर झर्ने पनि सम्भावना हुन्छ । यो बाथका बिरामीले जाडोमा न्यानो रहने, हातमा पञ्जाका साथै खुट्टामा मोजाको प्रयोग गर्नुपर्छ ।

त्यसैगरी जाडोमा यी बिरामीलाई फोक्सोमा पनि समस्या बढ्छ, रगतको कमी हुने, रगत बाग्लो हुने र कतिपय अवस्थामा मस्तिष्काघात समेत हुने जोखिम हुन्छ ।

मेरुदण्डको बाथ पुरुषमा बढी हुन्छ । यो बाथले पनि जाडो मौसममा बढी सताउँछ । यो बाथ भएमा जाडो मौसममा कम्मर तथा ढाड दुख्ने, बिहान उठ्दा कक्रक्क, राति सुतेको बेला कोल्टो फेर्न गाह्रो हुन लगायतका समस्या हुन्छ । पछि गएर यो बाथले शरीरका अन्य जोर्नीमा असर गर्नुको साथै मिर्गौला तथा मुटुमा समेत असर पुग्छ । मेरुदण्डको बाथ भएका बिरामीले जाडोमा चिसोबाट बच्ने र चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गरेमा यसबाट बँच्न सकिन्छ ।  जाडोको नाममा हामीले खाइने गलत भोजनको कारण युरिक एसिड बाथ बढेर जाने चिकित्सक बताउँछन् । न्यानो राख्ने बहानामा खाइने रक्सी तथा रातो मासुको बढी प्रयोगले युरिक एसिड बाथ बढ्छ ।

त्यसैगरी जाडोमा बढी खाना खाइने कारण तौल बढेर पनि युरिक एसिड बाथमा समस्या आउने डा.लोहनी बताउँछन् । जुनसुकै बाथ भए पनि जाडोमा चिसो पानी, चिसो वातावरणबाट बचेर थप क्षतिबाट बच्न सकिन्छ । तर केही बाथहरुमा विशेष हेरचाह गर्नु आवश्यक रहेको डा. लोहनी बताउँछन् ।

 

 

 

 

 

प्रकाशित: २० पुस २०७६ ०६:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App