१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भागबन्डा स्वार्थले खस्किँदै त्रिवि

काठमाडौं- तीन महिने डिन नियुक्त गरेर त्रिभुवन विश्वविद्यालयको गुणस्तर खस्काएको आरोप लागिरहेका बेला उपकुलपति तीर्थ खनियाले फेरि शुक्रबारदेखि लागू हुनेगरी दुईजनालाई निमित्त डिन बनाएका छन्। वनविज्ञान अध्ययन संस्थान र मानविकी संकायमा तीनमहिने नियुक्ति पाएका डिन प्राडा कृष्णराज तिवारी र चिन्तामणि पोखरेलको म्याद सकिएपछि उपकुलपति खनियाले उनीहरूलाई नै निमित्त डिनको जिम्मेवारी दिएका हुन्। वनविज्ञान अध्ययन संस्थानका डिन चिरञ्जीवी उपाध्याय र मानविकी संकायका डिन पोखरेलको चारवर्षे अवधि असोज २ मा सकिएको थियो।

मानविकी संकायका सहायक डिन निलमकुमार शर्माका अनुसार विश्वविद्यालयका पदाधिकारीबिच राजनीतिक भागबन्डा मिल्न नसक्दा डिन नियुक्तिमा समस्या थपिँदै गएको हो। त्रिविमा उपकुलपति खनिया कांग्रेसको कोटामा, शिक्षाध्यक्ष सुधा त्रिपाठी माओवादी कोटामा र रजिस्ट्रार डिल्लीराम उप्रेती एमाले कोटामा नियुक्त भएका हुन्। 'तीनै पदाधिकारीबीच योग्य र सक्षम व्यक्तिभन्दा पनि आआफ्नै दल निकटका व्यक्ति नियुक्त गर्ने होडबाजीका कारण त्रिविको शैक्षिक, प्रशासनिकलगायत सबै काम प्रभावित भएका छन्', सहायक डिन शर्माले भने, 'पूर्णकालीन डिन नियुक्ति नहुँदा विश्वविद्यालयको छवि धमिलिँदै गएको छ।' अल्पकालीन डिन नियुक्तिले सेमेस्टर प्रणालीको परीक्षा र नतिजा प्रकाशनमा ढिलाइ भएको उनले बताए।

शर्माका अनुसार पदाधिकारीबीचको खिचातानीका कारण नयाँ सम्बन्धन र विषय थपका काम पनि रोकिएको छ। विश्वविद्यालयमा मानविकी संकायअन्तर्गत स्नातकमा कम्प्युटर एप्लिकेसन विषयका लागि दुई सयभन्दा बढी कलेजले निवेदन दिएका छन्। स्नातकोत्तरमा समाजशास्त्र, अर्थशास्त्र, मानोविज्ञान, नेपाली, अंग्रेजीलगायतका विषय थपका लागि सयभन्दा बढी कलेजको माग आएको छ।

विद्यावारिधि गर्ने विद्यार्थीको प्रमाणपत्रमा निमित्त डिनको हस्ताक्षर भएमा अन्तर्राष्ट्रिय मान्यता नहुने भएकाले विद्यार्थीले प्रमाणपत्र लिन नमानेको शर्माले बताए।

त्रिविका प्रवक्ता भोला ढकालका अनुसार त्रिविमा चार संकाय र पाँच अध्ययन संस्थान छन्। शिक्षाशास्त्र संकाय र कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा डिन पद साउनदेखि खाली छ। असोज २ गते वनविज्ञान अध्ययन संस्थान, व्यवस्थापन संकाय र मानविकी संकाय पनि डिनविहीन भए। विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा रामप्रसाद खतिवडा तीन महिनाका लागि डिन नियुक्त भएका छन्। शिक्षा शास्त्र संकायमा उपकुलपति तीर्थ खनियाले तीनमहिने नियुक्ति पाएका नेत्रप्रसाद धिताललाई नै कात्तिकदेखि लागू हुने गरी निमित्त दिएका छन्।

प्रवक्ता ढकालका अनुसार कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका डिन नरेन्द्र चौधरीको चारवर्षे पदावधि साउनमा सकिएपछि श्यामशंकर झालाई तीनमहिने दिइएको थियो। मंसिर ८ मा तीन महिना पुगेपछि उपकुलपति खनियाँले झालाई नै निमित्त डिनमा नियुक्त गरेका छन्।

यसैगरी विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा चिरिकशोभा ताम्राकारको चार वर्षे अवधि सकिएपछि प्राडा रामप्रसाद खतिवडालाई तीनमहिने नियुक्ति दिइएको थियो। उनको तीन महिना पनि सकिएर मंसिर १२ गतेेदेखि लागू हुनेगरी निमित्त डिनको नियुक्ति दिइएको छ। यसैगरी शिक्षाशास्त्र संकायमा प्राडा प्रकाशमान श्रेष्ठ र व्यवस्थापन संकायको डिन देवराज अधिकारीको पनि चार वर्षे म्याद असोजमै सकिएको हो। शिक्षाशास्त्र संकायमा पनि नेत्रप्रसाद धिताल र व्यवस्थापनमा नवराज अधिकारीलाई तीनमहिने हुँदै हाल निमित्त डिन दिइएको छ।

'विश्वविद्यालयका पाँच अध्ययन संस्थानमध्ये तीन र चार संकायमध्ये तीन निमित्त डिनको भरमा छन्,' प्रवक्ता ढकालले भने, 'दीर्घकालीन सोचका साथ त्रिविलाई अघि बढाउन पूर्णकालीन डिन नै चाहिन्छ।'

विज्ञान तथा प्रविधि अध्ययन संस्थानकी पूर्वडिन ताम्राकारका अनुसार त्रिवि नियमअनुसार डिनको पदावधि सकिनु तीन महिनाअगाबै कार्यकारी परिषद्ले सर्च कमिटी गठन गर्नुपर्ने व्यवस्था छ। कमिटीले सिफरिस गरेका तीन नाममध्ये कार्यकारी परिषद्ले एक जनालाई डिन नियुक्त गर्ने प्रावधान छ। 'हाम्रो पदावधि सकिएको पाँच महिनाभन्दा बढी भइसक्दा समेत सर्च कमिटी गठन हुन सकेको छैन। यसको अर्थ पदाधिकारी असफल हुनु हो,' ताम्राकारले भनिन्, 'पदाधिकारीबीचको राजनीतिक खिचातानीले विश्वविद्यालयको शैक्षिक स्तर खस्कँदै गएको छ।' यही कारण त्रिविमा विद्यार्थी संख्या पनि घट्दै गएको उनले बताइन्।

विगतमा कुनै कारणवश तुरुन्त नियुक्त गर्न नसक्ने अवस्थामा मात्र तीनमहिने डिन नियुक्त गर्ने वा निमित्त दिने व्यवस्था थियो। हालका उपकुलपतिले यसलाई अधिकारको रुपमा प्रयोग गर्न थालेकोमा त्रिविका प्राध्यापक आक्रोशित छन्। 'चार वर्ष कार्यकाल बिताएका डिनलाई समेत किन उपकुलपतिले तीनमहिने अनि निमित्त दिनुभएको?' ताम्राकारले प्रश्न गरिन्, 'तीनमहिने परीक्षण गरेकालाई किन पुनः निमित्त दिने?' सक्षम भए चार वर्षे दिने नत्र हटाइदिनुपर्ने उनको तर्क छ। निमित्त डिनको भरमा त्रिवि चाउँदा दीर्घकालीन शैक्षिक कार्य अघि बढ्न नसकेको उनले बताइन्।

संस्कृत केन्द्रीय विभागका प्रमुख नारायण गौतमले प्राज्ञिक थलोमा निमित्तको संस्कृतिले अन्तर्राष्ट्रिय स्तरमै नकारात्मक असर पार्ने बताए। 'निमित्त डिनलाई आफ्नो पद कहिले खुुस्कने हो भन्ने चिन्ताले उहाँहरू काम गर्न सक्नु हुन्न,' गौतमले भने, 'निमित्तको भरमा विश्वविद्यालय शिक्षा रचनात्मक हुन सक्दैन। त्यसैले पूर्णकालीन पदाधिकारी नियुक्ति अति आवश्यक छ।'

प्रकाशित: ४ पुस २०७३ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App