१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

शिवरामले उल्टाए अग्रता

काठमाडौं – नेपाल पूर्वनम्बर एक प्रोफेसनल गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुर्स २०१९–२० अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन अग्रता उल्टाएका छन्।

पार–७२ को गोकर्ण गल्फ कोर्समा मंगलबार लयमा फर्किएका शिवरामले सात अन्डर ६५ को उत्कृष्ट प्रदर्शन गरेसँगै कुल ६ अन्डर १ सय ३८ स्कोरसहित दोस्रो दिन अग्रता उल्टाएका हुन्। त्यससँगै शिवरामले दोस्रो स्थानका भुवन नगरकोटी र नव प्रो. गल्फर शुक्रबहादुर राईमाथि ६ स्ट्रोकको अग्रता लिएका छन्। सोमबारको पहिलो दिन तीन गल्फर भुवनसँगै दीपक थापामगर र सञ्जय लामाले अग्रता लिएका थिए।

मंगलबार भने तीनैले खराब प्रदर्शनको सामना गरे। भुवन र शुक्रबहादुर राई कुल इभन पार १ सय ४४ को स्कोर कार्डमा छन्। दोस्रो दिन भुवनले दुई ओभर ७४ को खराब प्रदर्शन गर्दा शुक्रबहादुरले इभन पार–७२ मा खेलेका थिए। रामे मगर (७१ स्कोर), रवि खड्का (७३), सञ्जय लामा (७५ स्कोर) र दीपक थापामगर कुल एक ओभर १ सय ४५ को कार्डमा छन्।

टंकबहादुर कार्की र रमेश अधिकारीले कुल दुई ओभर १ सय ४६ स्कोर बनाए। दोस्रो दिन टंकले तीन ओभर ७५ को बिर्सनलायक प्रदर्शन गर्दा रमेशले दुई अन्डर ७० को स्कोर गरेका थिए। भुवनकुमार रोक्काले मंगलबार दुई ओभर ७४ स्कोर बटुलेसँगै कुल तीन ओभर १ सय ४७ स्कोर बनाएका छन्।

एमेच्योर गल्फर सुवास तामाङ, धनबहादुर थापा र कुमार कामीले संयुक्त चार ओभर १ सय ४८ को स्कोर बटुलेका छन्। १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता सुवासले दोस्रो दिन ७१ स्कोर बटुलेका थिए। धनबहादुरले ७३ स्कोर र कुमार कामीले ७७ स्कोर बनाएका थिए। त्यस्तै कुल ९ ओभर ५३ स्कोरपश्चात् कट नियम लागू गर्दा २३ प्रोफेसनल र तीन एमेच्योर गल्फरले ३६ होलको खेल पार गरेका छन्।

प्रो. गल्फरहरू जयराम श्रेष्ठ (१४९स्कोर), दिनेश प्रजापति (१५०), प्रदीपकुमार लामा(१५०), सचिनप्रसाद भट्टराई (१५० स्कोर), पशुपति शर्मा (१५०),बलभद्र राई (१५२), कृष्णमान राजवाहक (१५२), रामकृष्ण श्रेष्ठ (१५२), विपिन तामाङ (१५३), शिवराम पौडेल (१५३) र सुनील केसी (१५३) ले बाँकी ३६ होलको प्रतिस्पर्धा तय गरेका छन्। एमेच्योरतर्फ सुवास तामाङले रितेश तामाङमाथि पाँच स्ट्रोकको अग्रता बनाएका छन्।

सुवासले दोस्रो दिन एक अन्डर ७१ स्कोर बनाउँदा रितेशमाथि फराकिलो अग्रता बनाएका हुन्। रितेशले भने दोस्रो दिन तीन ओभर ७५ स्कोर बनाउँदा कुल ९ ओभर १ सय ५३ स्कोर बनाका छन्। कुल ४३ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गरेको प्रतियोगिताको कुल पुरस्कार राशि ७ लाख रुपैयाँ छ। विजेताले १ लाख २५ हजार, उपविजेताले ८० हजार र तेस्रोले ५८ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। शीर्ष २१ गल्फरले नगद पुरस्कार पाउनेछन्।

प्रकाशित: ९ पुस २०७६ ०४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App