१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भारतले सार्वजानिक गरेको नक्सा नेकपाद्वारा अस्विकार

फाइल फोटो

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले नेपाली भूमि समेटेर भारतले जारी गरेको नक्सा अस्वीकार गर्ने निर्णय गरेको छ। 

आइतबार सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर भारतले जारी गरेको नक्सा अमान्य र अस्वीकार गर्ने निर्णय गरेको हो।

बैठकले महाकाली नदीको मुहान लिम्पियाधुरा रहेको निष्कर्ष निकाल्दै कालापानी, लिम्पिायाधुरा, लिपुलेक र सुस्ता लगायतको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना इण्डो प्यासिफिक रणनीति अन्तर्गत होइन भन्ने कुरा अमेरिकालाई औपचारिक र आधिकारिक रुपमा स्पष्ट पार्न अनुरोध गर्ने निर्णय गरिएको बताए।

अमेरिकाले एमसीसी इण्डो प्यासिफिक अन्तर्गत होइन भन्ने प्रष्टीकरण दिएपछि यसमा रहेका अन्य भाषा परिमार्जन गर्ने विषयमा प्रधानमन्त्री र सरकारसँग छलफल गर्ने निर्णय गरिएको बताए। 

स्थायी कमिटी सदस्य भीम रावलले एमसीसीको विषयमा बैठकमा उठेका विषयहरु सरकरले स्पष्ट पार्नुपर्ने र अमेरिकाले पनि यो इण्डो प्यासिफिक अन्तर्गतको परियोजना होइन भनेर प्रष्ट पार्नुपर्ने निर्णय भएको बताए।

यसको जिम्मा पार्टीको सचिवालयलाई दिइएको उनले बताए। स्थायी कमिटीले पार्टी अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन केही संशोधनसहित पारित गरेको छ।

त्यसैगरि महासचिव विष्णु पौडेलद्वारा जारी विधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिइ आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने गरी पारित गरिएको प्रवक्ता श्रेष्ठले बताए।

केन्द्रीय कमिटी बैठक पुस २३ गतेका लागि बोलाइएको छ। पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्रकृया छिटो अगाडी बढाउने निर्णय पनि बैठकले गरेको छ।

पछिल्लो समय सडक दुर्घटनाहरु बढिरहेको सन्दर्भमा दुर्घटना न्युनीकरणका लागि समग्र पक्षको अध्ययन गरी तदारुकताका साथ कदम चाल्न सरकारलाई अनुरोध गरिएको छ। साथै दुर्घटनामा ज्यान गुमाएका परिवारलाई उचित राहत र घाइतेहरुको उपचार गर्ने सम्बन्धमा पनि सरकारको ध्यानाकर्षण बैठकले गरेको छ।

पार्टी एकीकरणका बाँकी रहेका काम केन्द्रीय कमिटी बैठक अगाडी नै सम्पन्न गर्नुपर्ने निर्णय स्थायी कमिटीले गरेको छ। मंसिर २९ बाट बसेको स्थायी कमिटी बैठक आइतबार सातौँ दिन सम्पन्न भएको हो। बैठकमा प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य समस्याका कारण सहभागी भएनन्।

प्रकाशित: ६ पुस २०७६ १२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App