१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

‘देशको मुहार चिन्न विश्वविद्यालयलाई हेरे पुग्छ’

केही दिनअघि काठमाडौंमा गाडी चलाइरहँदा मैले ‘नेपाली विद्यार्थीलाई विदेशमा पढ्न पठाउने विज्ञापन’ निकै देखें। बर्सेनि हजारौं नेपाली युवा बिदेसिन्छन् र यसका लागि नेपालको अर्बौं रुपैयाँ खर्च हुन्छ। यसरी बिदेसिनेमध्ये अधिकांश विद्यार्थी उतै बसोबास गर्न थाल्छन्। गाडी चलाइरहँदा ममा यस्तै कुरा खेलिरहेका थिए।

वास्तवमा विदेशमा पढ्ने अवसर पाउनु र हाम्रा युवा विश्वस्तरका संस्थाहरूमा भर्ना हुन योग्य हुनु राम्रै कुरा हो। मेरो आफ्नै शिक्षा र जीवन पनि यसैको उदाहरण हो। जब मैले ‘हाम्रो देशको उच्च शिक्षाप्रति विश्वास गुमिरहेको, तीक्ष्ण बुद्धि भएका हाम्रा हजारौं युवा विदेश पलायन भइरहेको, विदेश नजाने जमातको व्यावसायिक भविष्य सुनिश्चित नभएको र कम गुणस्तरको शिक्षाको अवसरमा चित्त बुझाउनुपर्ने बाध्यता  रहेको’ सुन्छु, म अत्यन्तै दुःखी बन्छु।

त्यो दिन धुलिखेल फर्कंदै गर्दा मैले आफैंलाई सोधिरहेको थिएँ– गलत संस्कारबाट हामीले मुक्त हुनुपर्ने होइन र ? देशका लागि नयाँ र राम्रो काम गर्ने उद्देश्य लिएका मानिसको खुट्टा तान्नुभन्दा आफूले पनि राम्रो काम गरेर देखाउनु उत्तम होइन र ? किन हामी आफ्नो सामथ्र्य बिर्सिएर अरूको पछाडि दौडिरहेका छौं ? किन हामी आफैंलाई कमजोर ठानेर आफ्नै क्षमताको दुरुपयोग गरिरहेका छौं ?

अब उच्च क्षमता भएका युवाको विदेश पलायन रोकिनुपर्छ र अरूलाई हतोत्साही बनाउने सोचाइमा पनि परिवर्तन आउनुपर्छ। काठमाडौं विश्वविद्यालयले यस्तो परिवर्तनको क्रम अघि बढाइरहेको छ र बढाइरहन चाहन्छ। यस विश्वविद्यालयले नेपालको शिक्षा क्षेत्रमा अति कम सम्भव मानिएका कुरालाई पनि सम्भव हुन्छ भनेर प्रमाणित गरिसकेको छ।

शिक्षाले समाजलाई चिन्न, समाजका समस्या बुझ्न, अवसरहरू थाहा पाउन र विद्यमान चुनौतीको सामना गर्न सक्षम बनाउँछ।

हाम्रा प्राध्यापकहरूले उच्चस्तरको अध्ययन–अनुसन्धानको अनुदान निरन्तर पाइरहेका छन्। काठमाडौं विश्वविद्यालयमार्फत नेपालको सेवा गर्न चाहने दर्जनौँ विदेशी र नेपाली डायस्पोराहरू हामीसँग जोडिन चाहिरहेका छन्। नेपाल सरकार र काठमाडौं विश्वविद्यालयबीच अनुकरणीय सहकार्य भइरहेका छन्। शिक्षाको मूल उद्देश्य नयाँ ज्ञान सिर्जना गर्नु हो र समाजका समस्या हल गर्न आवश्यक सीप प्रदान गर्नु पनि हो। शिक्षाले समाजलाई चिन्न, समाजका समस्या बुझ्न, अवसरहरू थाहा पाउन र विद्यमान चुनौतीको सामना गर्न सक्षम बनाउँछ। शिक्षाबाटै हामी नेपाललाई मात्र नभई विश्वलाई नै अझ राम्रो बासस्थान बनाउने योजना र कार्यक्रम बनाएर कार्यान्वयन गर्न सक्छौं। यही उद्देश्यतिर नेपालको उच्च शिक्षालाई डो-याउन आवश्यक छ। यो हाम्रो नैतिक दायित्व पनि हो।

हाम्रो देशलाई यहाँका विश्वविद्यालय र तिनका कार्यक्रमद्वारा चिनाउने उद्देश्य पनि हामीसँग हुनुपर्छ। भनाइ नै छ, देशको मुहार हेर्नुप-यो भने त्यहाँको विश्वविद्यालयलाई हेरे पुग्छ।नेपाललाई विश्वभरि चिनाउने विश्वविद्यालय बनाउन हामीले समेट्नुपर्ने कुराबारे म यहाँ केही बँुदा राख्न चाहन्छु।

उत्कृष्टता
प्राज्ञिक क्रियाकलाप र अनुसन्धानमा उत्कृष्टता हासिल गर्नु कुनै पनि विश्वविद्यालयका लागि आवश्यक छ। मध्यम स्तरको सोच, लापरवाही, गैरजिम्मेवार शैली परिवर्तनका बाधक हुन्। गहन उद्देश्य पूर्ति गर्न निःस्वार्थ रूपमा प्रतिबद्ध भएर लाग्ने समूह नै विश्वविद्यालयको मूल आधार हो। विश्वविद्यालयले उत्कृष्टता हासिल गर्न सिकाउँछ। व्यक्तिलाई उचाइतिर लम्किरहने अवसर प्रदान गर्न गतिलो मञ्च बनाइदिन्छ। प्राज्ञका बीचमा सहयोग गर्ने वातावरण प्रदान गरिदिन्छ। र, विविध विधाका मानिसका बीचमा सहकार्य गराइदिन्छ।

एकीकरण
विश्वविद्यालय समुदायसँग गाँसिएकै हुनुपर्छ। ज्ञानको सिर्जना, विस्तार र कार्यान्वयनमा योगदान पु-याउने, राज्यका विकास कार्यहरूसँग जोडिएर योगदान गर्ने, सरकार र औद्योगिक क्षेत्रलाई चाहिने तालिम कार्यक्रम सञ्चालन गरी अनुसन्धान, सर्वेक्षण, मूल्यांकन र समीक्षा पनि गर्ने हुनुपर्छ, विश्वविद्यालय।

यस्ता क्रियाकलाप आर्थिक रूपले सुलभ हुन्छन्। विश्वविद्यालयलाई बलियो बनाएर प्राज्ञिक प्रयासलाई बढी संस्थागत र दिगो बनाउन पनि यस्तै क्रियाकलापले सहयोग पु-याउँछन्। यसर्थ, सरकार र औद्योगिक क्षेत्रहरूले विश्वविद्यालयसँग सहकार्य गर्ने विशेष संयन्त्र स्थापना गर्नुपर्छ। र, विश्वविद्यालयभित्र पनि यस्ता प्रयासलाई संस्थागत गर्ने संरचना रहनुपर्छ। काठमाडौं विश्वविद्यालयले यसको प्रारम्भिक पहल गरिसकेको छ।

अन्वेषण र नवीन परिवर्तन
अन्वेषण र नवीन परिवर्तन मौलिक पनि हुन सक्छन्। विश्वविद्यालयले मौलिकतालाई बढावा दिँदै स्थानीय ज्ञान र सीपको प्रवद्र्धनमा योगदान पु-याउनुपर्छ। हाम्रा अन्वेषणहरू  प्राकृतिक विविधता, सांस्कृतिक सम्पदा, कृषिप्रणाली, जलविद्युत्, पर्यटन आदि क्षेत्रमा केन्द्रित हुनुपर्छ।

नेपालजस्तो प्राचीन भूमिमा अवस्थित विश्वविद्यालयले यही माटो र जनमानसमा स्थापित ज्ञानको प्रवद्र्धन गरी अन्यत्र प्रसार गर्न सक्नुपर्छ। हाम्रो स्कुल या एजुकेसनको ‘मास्टर इन टेक्निकल एन्ड भोकेसनल एजुकेसन’ कार्यक्रमले प्राविधिक तथा व्यावसायिक शिक्षा प्रणालीमा रहेका अवसर र चुनौतीलाई समावेश गरी ‘टिभिइटी’ क्षेत्रलाई चाहिने दक्ष जनशक्ति उत्पादनमा जोड दिएको छ।

काठमाडौं विश्वविद्यालयको ‘नेपाल टेक्नोलजी इन्नोभेसन सेन्टर’ले पनि यस्तै पहलहरूलाई सहजीकरण गर्ने लक्ष्य राखेको छ। यसमार्फत विभिन्न साना–ठूला उद्योग र अन्य निकायले विश्वविद्यालयका विभागसँग सहकार्य गर्ने अवसर पाउनेछन्।

लगानी
हामीले विविध क्षेत्रमा लगानी बढाउनु अनिवार्य छ। केन्द्र, प्रदेश र स्थानीय स्तरमा नयाँ विश्वविद्यालय खुल्दा अथवा भइरहेका विश्वविद्यालयको विस्तार गर्दा नेपालको उच्च शिक्षाको परिदृश्य नै बदलिन सक्छ। तर, विश्वविद्यालयको विस्तार गर्दा विज्ञान–प्रविधि, अतिथि व्यवस्थापन र कृषिजस्ता विधालाई समेटौं, हामीसँग भएका सबै स्रोत–साधनको परिचालन गरौं, प्रयोग नभएका सार्वजनिक जग्गाको उपयोग गरौं।

संयुक्त राज्य अमेरिकामा सरकारले अनुदान दिएको जमिनमा स्थापित एक सय ५० वर्षभन्दा पुराना ल्यान्ड ग्रान्ट युनिभर्सिटिज् छन्। तीमध्ये अधिकांश विश्वविद्यालयले अहिले वल्र्ड क्लास युनिभर्सिटिज् बनेर अन्वेषण र शिक्षाको केन्द्रका रूपमा आफ्नो परिचय विश्वमै विस्तार गराएका छन्।

विश्वविद्यालय भनेको सिर्जना गर्ने संस्था हो। यसले संवद्र्धन गर्छ र दिगोपना दिन्छ, समुदायलाई नयाँ जीवन, नयाँ ऊर्जा र नयाँ सोच दिन्छ। विश्वविद्यालय रहेको ठाउँ वरपर व्यापार–व्यवसाय पनि बढ्छ, अवसरहरू खुल्छन्। अनि जनताको जीवनस्तर द्रूत गतिमा सुध्रिँदै जान्छ। यसको एउटा प्रमाण धुलिखेल पनि हो भन्न त मिल्छ कि ?

मानिसले आफ्नो शिक्षाका लागि आफैंले लगानी गर्नुपर्छ भन्ने मान्यता पनि छ। तर यस्तो मान्यताले असमानता निम्त्याउँछ र सम्पन्नतालाई मात्र फाइदा पु-याउँछ। तसर्थ शिक्षामा आर्थिक सहयोग अथवा छुटको व्यवस्था गर्ने बाटो खोज्नुपर्छ। यस्तो प्रकारको लगानीले न्याय, समानता र सामञ्जस्यता भएको समाजको निर्माणमा सहयोग पुग्छ।

प्रणाली
शिक्षा पवित्र वस्तु हो र शिक्षा प्रवद्र्धन गर्ने संस्था मन्दिरसरह हो। शिक्षा प्रदान गर्ने संस्थाको हरेक प्रणाली निर्मल जलजस्तै हुनुपर्छ, मुहानमै प्रदूषण फैलियो भने पानी सधैं प्रदूषित रहन्छ। प्राज्ञिक संस्थाका सञ्चालक शुद्ध, इमानदार, सिर्जनशील, कर्तव्यनिष्ठ, संस्थाको उत्थानमा निःस्वार्थ रूपमा समर्पित र प्रतिबद्ध हुनुपर्छ। हरेक काम पारदर्शी ढंगले गरिनुपर्छ। काम नगर्ने तर चर्को स्वरले कराएर अरूको ध्यान, सहानुभूति र प्रशंसा बटुल्ने संस्कारलाई निरुत्साहित गर्नुपर्छ।

शिक्षा क्षेत्रको उत्थान हाम्रै पुस्ताबाटै सम्भव छ। तसर्थ यो पुस्तालाई सक्षम बनाउनुपर्छ। हामी छोटो समयमै थाइल्यान्ड र सिंगापुरको शैक्षिक प्रगतिको दाँजोमा पुगेर अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्छौँ। यसका लागि इच्छाशक्ति र दृढ संकल्प चाहिन्छ।

(काठमाडौं विश्वविद्यालयको २५औं दीक्षान्त समारोहको दोस्रो कार्यक्रममा प्रस्तुत उपकुलपति प्रा. डा. रामकण्ठ माकजू श्रेष्ठको मन्तव्यको सम्पादित अंश।)

प्रकाशित: ५ पुस २०७६ ०२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App