१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालको सम्भावना समाप्त

काठमाडौं- साविक विजेता भारतसँग ६ विकेटले पराजित भएपछि एसिसी यु–१९ एसिया कप क्रिकेटमा नेपालको दोस्रो चरण पुग्ने सम्भावना सकिएको छ। शुक्रबार कोलम्बो क्रिकेट क्लब मैदानमा नेपालले दिएको १ सय ७३ रनको लक्ष्य भारतले ३३.३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो।

बिहीबार पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग १ रनले स्तब्ध भएको थियो। ४ टोली सम्मिलित समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। समूह ‘ए’ मा रहेको नेपाल तेस्रो स्थानमा छ। नेपालले अब समूह चरणको अन्तिम खेलमा आइतबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘ए’ कै अर्को खेलमा श्रीलंकाले मलेसियालाई ८ विकेटले पराजित गर्‍यो।

नेपालका कप्तान सन्दीप लामिछानेले टस जिटेर ब्याटिङ गर्ने निर्णय लिएका थिए। ओपनर सन्दीप सुनार र आसिफ शेखले नेपाललाई मध्यम शुरुआत दिलाए। १० ओभरसम्म ब्याटिङ गरेका सन्दीप र आसिफले पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरे। आफ्नो पहिलो स्पेल लिएर आएका राहुल चहरले ११ औं ओभरमा २ विकेट लिएपछि नेपाल दबाबमा पर्‍यो। ७ रन बनाएर खेलिरहेका सन्दीपलाई स्पिनर राहुलले दोस्रो बलमै एलबिडब्लु धरापमा पारे। राहुलले चौथो बलमा आदिल खानलाई शुन्य रनमै पवेलियन फर्काए। आदिलले श्रीलंकाविरुद्ध पहिलो खेलमा ३९ रनको योगदान गरेका थिए।

राहुलले शुक्रबार नेपालको ब्याटिङ लाइनअप ध्वस्त पारेका थिए। उनले आफ्नो दोस्रो स्पेलको दोस्रो बलमा आसिफ शेखलाई प्रियम गर्गको हातबाट क्याच गराए। आसिफले ३२ बलमा २ चौका र १ छक्कासहित १८ रन जोडेका थिए। करिब साढे दुई महिनाअघि त्रिवि मैदानमा भएको एभरेस्ट प्रिमियर लिगको फाइनलमा पञ्चकन्याबाट शतक पूरा गरेका आसिफबाट नेपालले ठूलो आशा गरेको थियो। तर, श्रीलंकामा उनले सोचे जस्तो प्रदर्शन गर्न सकेनन्। श्रीलंकाविरुद्धको खेलमा उनी १ रनमा आउट भएका थिए।

राहुलले भीम सार्कीलाई पनि शुन्य रनमा पवेलियन फर्काएका थिए। भीम आउट हुँदा नेपाल ३८–४ को स्थितिमा थियो। त्यसपछि ब्याटिङमा आएका दीपेन्द्रसिंह ऐरीले नेपालको इनिङ सम्माल्ने प्रयास गरे। तर उनले अर्को एन्डबाट साथ पाएनन्। शुवाङकर उरावले पनि लामो इनिङ खेल्न सकेनन्। २ चौकासहित ९ रन बनाएका शुवाङकरलाई आयुश जमवालले हिमान्सु रानाको हातबाट क्याच गराएका थिए। विकेटकिपर प्रकाश केसी ३ चौकासहित १३ रन बनाउँदा हिमान्सुको बलमा शुबमन गिलको हातबाट समातिए। प्रकाशले छैटौं विकेटका लागि दीपेन्द्रसिंहसँग ३५ रनको साझेदारी गरे, जुन शुक्रबार नेपालले गरेको दोस्रो ठूलो साझेदारी थियो।

३६ औं ओभरको पहिलो बलमा दीपेन्द्रसिंह आउट हुँदा नेपाल १०७–७ को स्थितिमा थियो। त्यसपछि थप २७ रन जोड्दा नेपालले पवन सर्राफ (२) र कप्तान सन्दीप (७) को विकेट गुमाएको थियो। अन्तिम ओभरमा मात्र रोहित पौडेलले २४ रन बनाएपछि नेपालले १ सय ७२ रनको योगफल खडा गरेको थियो। यो नेपालले भारतविरुद्ध बनाएको अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर हो। नेपालको धर्मराउँदो इनिङ सम्मानजनक अवस्थामा पुर्‍याउन रोहितले ९३ बलमा ७ चौका र २ छक्कासहित अविजित ६८ रनको योगदान गरेका थिए।

भारतका राहुलले १० ओभरमा २७ रन दिएर ५ विकेट लिए। कमलेश नगरकोटी, यश ठाकुर, आयुष जमवाल र हिमान्सुले १–१ विकेट लिए।

नेपालले दोस्रो ओभरमै भारतका ओपनर पृथ्वी शालाई ५ रनमा आउट गरे पनि त्यसलाई निरन्तरता दिन सकेन। नेपाली बलरले प्रभाव जमाउन नसक्दा भारतीय ब्याट्सम्यान हावी हुँदै गएका थिए। हिमान्सु र शुबमनले भारतको इनिङ सम्हालेका थिए। दुवैले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे। हिमान्सुले ६१ बलमा ५ चौका सहित ५१ रन बनाए भने शुबमनले ६३ बलमा ४ चौका र २ छक्कासहित ५७ रन बनाएका थिए। कप्तान अभिषेक शर्मा २ रनमा आउट भए। प्रियम र सलमान खानले भारतका लागि विजयी इनिङ खेले। प्रियम ३६ र सलमान १९ रनमा अविजित रहँदै भारतलाई जितको बाटोमा डोर्‍याए।

नेपालका पवनले ३ विकेट लिए भने सन्दीपले १ विकेट लिए। विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले एसिया कपमा भने सोचेअनुरूपको प्रदर्शन गर्न सकेनन्। समूह ‘बी’ को खेलमा बंगलादेशले सिंगापुरलाई ७ विकेटले पराजित गर्‍यो।

प्रकाशित: २ पुस २०७३ ०३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App