१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

खोरिया फाँडेर, व्यावसायिक केराखेती

निस्दी गाउँपालिका–७, ज्यामिरे, मोलोग्राममा लगाईएको केराखेती। तस्बिरः मुक्ति/नागरिक

पाल्पा- पाल्पाको निस्दी गाउँपालिकामा झाडी खोरिया फाँडेर व्यवसायिक केराखेती गरिएको छ। निस्दी गाउँपालिका–७, ज्यामिरे, मोलोग्राममा १७ हेक्टर खोरिया फडानी गरि व्यवसायिक केराखेती गरिएको हो।

गरिबीको रेखामुनी रहेका विपन्न समुदायलाई हस्तान्तरण गरिएको कबुलियती वनमा व्यवसायिक केराखेती सफल भएको छ। डिभिजन वन कार्यालय पाल्पाले जिल्लाको बुट्यान झाडीयुक्त वन फँडानी गरि गरिएको व्यवसायिक केराखेतीबाट २७ घरधूरी प्रत्यक्ष लाभान्वित भएका छन्। गत वर्ष मात्र यहाँका किसानले तीन लाखको केरा बिक्री गरेको डिभिजनल वन अधिकृत मोहनप्रसाद पौडेलले बताए।

‘भिरालो केही नफल्ने जंगल फाँडेर कबुलियतीको नाममा काम गर्न थालेपछि खोरियाबाट किसानले लाभ लिन थालेका छन्,' पौडेलले भने, भिरालो पाखोमा काँडाधारी बुट्यान थियो। अहिले विपन्न समुदायका व्यक्तिको जीविकोपार्जनको माध्यम बनेको छ।’ उनी भन्छन्, ‘अहिले १७ हेक्टरमा रहेका ८ हजार बिरुवाले उत्पादन दिन थालेको छ। यहाँको उत्पादन व्यवसायिक रुपमा सफल भएको छ। पहाडी जिल्लामा यति धेरै केराखेती एकै प्लटमा कहिँपनि छैन।’

ज्यामिरेको मोलोग्राममा अहिले १७ हेक्टर (२ सय ४० रोपनी) क्षेत्रफलमा २५ हजार बिरुवा लगाईएको छ। यहाँ टोकलक्दी र गाँडादी गरि दुई समूह छन्। समूहमा २७ घरधूरी सदस्य छन्। गाँडादी समूहका अध्यक्ष रमन सारु भन्छन्, 'सुरुका दिनहरुमा यस्तो डाँडामा पनि केरा खेती सम्भव होला र भनेका थियौं। अहिले पहाडी जिल्लामै उदाहरणीय बनेका छौं। जापानीज समाजसेवी काजुमासा काकिमी (ओके बाजे) ले पनि बिरुवाका लागि सहयोग गर्नुभयो। अहिले डिभिजन वन कार्यालयले निरन्तर रुपमा प्राविधिक सहयोग गर्दै आएको छ,' अध्यक्ष सारुले भने, 'यहाँका उपभोक्ताहरु महिनामा एक दुई दिन खटिएर पनि राम्रै आम्दानी भएको छ। यो वर्ष कम्तिमा पनि हामीले पाँच लाख रुपैयाँको केरा बिक्रि गर्ने लक्ष्य राखेका छौं।’

सारुले पहिले जंगलमा बाँदर नाचेर हैरान हुने भएता पनि अहिले धेरै केरैकेरा देखेपछि बाँदरले पनि खान मेसो नपाएको बताए। उनले अहिले वार्षिक पाँच लाख रुपैयाँ आम्दानी भैरहेको र आगामी दिनहरुमा अझै वृद्धि हुँदै जाने बताए। डिभिजन वन कार्यालय पाल्पाको आर्थिक तथा प्राविधिक सहयोगमा भएको केराखेतीबाट आर्थिक हैसियत बिग्रेका समुदायको स्तरमा सुधार भएको हो।

टोक्लक्दी समूह सदस्य पूनीसरा सारुले आफुहरुको जनश्रमदानमा झाडी सरसफाई गरि डाडाँमा व्यवसायिक केराखेती सफल गरिएको बताइन्। उनी भन्छिन्, ‘समूहमा सबै मिलेर काम गरे राम्रो गर्न सकिँदो रहेछ। केरा बिक्री गर्न समस्या पनि छैन। गाउँमै किन्ने मानिसहरु आउँछन्। बजारको कुनै समस्या छैन।' आगामी वर्ष हाम्रो उत्पादन अझ बढ्ने छ। वन कार्यालयका रेञ्जर यमलाल पोखरेलले जनताले गरेको श्रम अनुसार केरा खेतीले सफलता पाएको बताए।

डिभिजन वन कार्यालयका वन प्राविधिक रामचरण चौधरी भन्छन्, ‘आर्थिक स्थिति कमजोर भएका व्यक्तिहरुलाई जग्गा कबुलियत गरिदियौं। विगत एक वर्षदेखि केरा खेतीबाट आम्दानी भएको छ। जनतालाई केही राहत मिलेको छ।’ लहरै लहराले भरिएको काम नभएको जंगललाई उपयोग गरेर केरा खेती लगाईएको उनले बताए।

'हामीले यसलाई विस्तार गर्ने सोच बनाएका छौं,' चौधरीले भने, वन उपभोक्ता समूहहरुलाई सहि रुपमा परिचालन गर्न सक्दा नतिजा देखिने उदाहरण प्रस्तुत भएको बताए। कबुलियती वनमा अहिले बाख्रापालन, मौरिपालन, बंगुरपालन, अलैंची, तरकारी खेतीबाट स्थानीयले राम्रो आम्दानी गरिरहेका छन्। केराखेती जिल्लामै नमूना र अनुकरणीय रहेको छ। किसानलाई कबुलियती वनमा रहेर फाईदा मिलेको छ, उनले भने।

कबुलियती वनमा जीवनस्तर सुुधार गर्ने र वातावरण संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले केराखेती गरिएको वन कार्यालयले जनाएको छ। खोरिया फडानी गरिएको क्षेत्रबाट कम्तिमा ५० हजार प्रतिघर परिवार आम्दानीको लक्ष्य राखिएको समूहले जनाएको छ। कार्यालयले ४० वर्षको सम्झौता गरि विपन्न समूदायलाई वन हस्तान्तरण गरेको हो।

 

प्रकाशित: २८ मंसिर २०७६ १२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App