१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

दीपकलाई गर्वको अनुभूति

काठमाडौं - तेक्वान्दोका ओलम्पियन दीपक विष्ट नेपाली खेलकुदका लागि सबैभन्दा सफल खेलाडी हुन्। छनोट चरण पार गरेर ओलम्पिक खेल्ने नेपालका दुई खेलाडीमध्ये एक दीपक एसियन गेम्ससँगै सागमा कीर्तिमानी खेलाडीसमेत हुन्।

सन् २००२ र २००६ को एसियाडमा लगातार कांस्य पदक विजेता दीपकले सागमा भने लगातार चार स्वर्ण जित्दै कीर्तिमान  बनाएका छन्। सन् १९९९ मा घरेलु मैदानमा सम्पन्न आठौं दक्षिण एसियाली खेलकुददेखि सहभागिता जनाउन थालेको तेक्वान्दोमा दीपकले त्यसै संस्करणदेखि एघौरौं संस्करणसम्म स्वर्ण पदक जितेका थिए।

उनै दीपकले सातै प्रदेशबाटै ल्याएको ओलम्पिक टर्चलाई प्रज्वलन गरेका थिए। पाँच ओलम्पियनले उद्घाटन स्थलमा ओलम्पिक टर्च परिक्रमा गराएपछि अन्तमा दीपकले टर्चलाई प्रज्वलित गराएका थिए। त्यससँगै रंगशालाबाहिर भेटिएका दीपक निकै हर्षित थिए। घरेलु मैदानमा २० वर्षपछि सुरु भएको दक्षिण एसियाली खेलकुदकै महाकुम्भमा विशेष भूमिका निर्वाह गर्न पाउँदा दीपकमा हर्ष प्रकट भएको स्पष्ट झल्किन्थ्यो।

दीपकले खेलजीवन सुरु गर्दा कहिल्यै पनि यो अवसर पाउन सक्छु भन्ने कल्पनासमेत नगरेको बताए। निकै भावुक मुद्रामा देखिएका दीपकले भने,‘मलाई लाग्छ। खेलजीवनकै ठूलो सम्मान पाएँ। जीवनका हासिल पललाई खेलक्षेत्रमा समर्पित गरेँ। त्यसको प्रतिफल आज राष्ट्रले पनि यो जुराइदिएको छ।’

सन् १९९९ को आठौं सागको उद्घाटन हुँदाको समय दीपक दक्षिण कोरियामा प्रशिक्षणरत थिए। त्यसैले उनले घरेलु मैदानको त्यो साग हेर्न पाएका थिएनन्। सागका कीर्तिमानी पदक विजेताका लागि पनि यस पटक घरेलु मैदानको साग उद्घाटन नयाँ अनुभव हो।

‘मेरा लागि घरेलु मैदानको साग उद्घाटन पहिलो अवसर हो। आठौं संस्करणको उद्घाटनमा दक्षिण कोरियामा थिएँ। त्यससमय खेलाडी थिएँ। तर, यस पटक प्रशिक्षकको भूमिकामा छु। तर पनि गर्विलो अवसर पाएँ,’ खुसी हुँदै दीपकले भने। खेलकुदमा लागेर सही गरेछु भन्ने महसुस भएको दीपकको भनाइ छ। साथै यसले थप जिम्मेवारीबोध गराएको दीपक बताउँछन्।

‘राष्ट्रले ठूला प्रतियोगिता आयोजना गर्दा सम्मान पाउनु हरेक खेलाडीको सपना नै हुन्छ। आठौं संस्करणमा वैकुण्ठ दाइ (मानन्धर)ले ओलम्पिक टर्च बाल्दाको समय अभैm पनि मलाई स्मरण छ,’ दीपकले भने,‘मैले पनि सोही अवसर कुनै दिन पाउँछु भन्ने सोचेकै थिइनँ। खेलकुदमा पिछिडिएको ठाउँबाट प्रतिनिधित्व गरेको खेलाडीले त्यस किसिमको कल्पना गर्ने अवस्था पनि थिएन।  अवसर पाएकोमा भने एकदम खुसी छु।’ साथै ओलम्पियन विष्टले यहाँसम्म आइपुग्न साथ दिने सबैलाई धन्यवादसमेत दिए।

प्रकाशित: १६ मंसिर २०७६ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App