१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली केही दिन अस्पतालमै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ। उनी अबका केही दिन अस्पतालमै रहने भएका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा मंगलबार दिउँसो ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया भएको हो। शल्यक्रियापछि चिकित्सकको सल्लाहमा केही दिन अस्पतालमै बस्नुपर्ने भएकाले उनलाई त्यहीं भर्ना गरिएको छ। हाल उनलाई अस्पतालको आइसियूमा उच्च निगरानीमा राखिएको छ। अस्पतालले साँझ साढे सात बजे विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओली मंगलबार र बुधबार अस्पतालमै रहने बताए। ‘बाहिर आएजस्तो तीन दिन भन्ने होइन, चिकित्सकले केही दिन भन्नुभएको छ। त्यसकारण आज र भोलि अस्पतालमै रहनुहुन्छ। आवश्यक चेकजाँचपछि उहाँलाई निवास पठाउने कि अस्पतालमै आराम गराउने भन्नेबारेमा चिकित्सकको परामर्श आवश्यक पर्छ’, थापाले मंगलबार साँझ भने।

प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया कलेजो प्रत्यारोपण विशेषज्ञ डा. रमेशसिंह भण्डारी र ओलीकी निजी चिकित्सक दिव्या सिंहको टोलीले गरेको थियो। ‘प्रधानमन्त्रीलाई पेट दुखेर अस्पताल लगिएको थियो, परीक्षणका क्रममा एपेन्डिसाइटिस भएको थाहा भएपछि गरिएको शल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ,’ थापाले भने। प्रधानमन्त्रीलाई बिहान ९ः३० बजे महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक सेन्टरमा लगिएको थियो। त्यहीं भर्ना गरेर दिउँसो १२ः३० मा शल्यक्रिया गरिएको हो। प्रधानमन्त्री ओलीलाई रातिदेखि नै पेट दुखेको थियो।

प्रधानमन्त्रीलाई अत्यधिक पेट दुखेपछि संक्रमण हुनेगरी एपेन्डिसाइटिस भएको थियो। ‘एपेन्डिसाइटिस भएपछि दुखाइ बढ्छ तर निजी चिकित्सकलाई खबर गरिएन कि वा प्रधानमन्त्रीले दुखेको कुरा भन्न चाहनुभएन। एपेन्डिसाइटिस भएर पेटको झिल्लीमा संक्रमण हुने बेलासम्म किन राखियो’, एक चिकित्सकले भने, ‘यस्तो रोगमा लापरबाही गर्न हँुदैनथ्यो।’ चिकित्सकका अनुसार पेटलाई चिरेर वा ल्याप्रोस्कोपिक विधिले सानो प्वाल पारेर एपेन्डिसाइटिसको शल्यक्रिया गरिन्छ। प्रधानमन्त्री ओलीको पनि ल्याप्रोस्कोपिक विधिले शल्यक्रिया गरिएको र पेटमा थोरै संक्रमण फैलिएकाले केही दिन अस्पतालमै बस्नुपर्ने भएको हो।

बुधबार साँझ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका थिए। ‘नेकपाका अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्य अवस्थाका बारे महाराजगन्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएर जानकारी लिनुभएको छ। डाक्टरहरूले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेसन सफल भएको र स्वास्थ्यमा राम्रो सुधार हुने बताएका छन्’, दाहालको निजी सचिवालयले जनाएको छ। त्यसअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका थिए।

साउन यता ६ पटक अस्पताल भर्ना
प्रधानमन्त्री ओली साउन यता ६ पटक अस्पताल भर्ना भइसकेका छन्। सिंगापुर जानुअघि प्रधानमन्त्री ओलीको साउन १० गते सैनिक अस्पताल छाउनीमा नियमित स्वास्थ्य परीक्षणसहित युएसजी ग्याइडेड ‘रेलन बायोप्सी’ गरिएको थियो। रेनल बायोप्सीको रिपोर्टकै आधारमा उनी थप परीक्षण र उपचारका लागि सिंगापुर गएका थिए। रेनल बायोप्सीपछि प्रत्यारोपण गरिएको मिर्गौलाको अवस्था कस्तो छ भन्ने थाहा हुन्छ। मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको प्रत्यारोपणलगत्तै पनि यस्तो बायोप्सी गरिन्छ। प्रधानमन्त्री ओलीले साउन १८ देखि २७ गतेसम्म सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार गराएका थिए। त्यसपछि सोही अस्पतालमा भदौ ५ गतेदेखि १९ गतेसम्म उपचार गरिएको थियो। उनी सिंगापुरबाट भदौ २० गते स्वदेश फर्केका थिए।

प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि उनी कात्तिक १३ गते काठमाडौंको ग्रान्डी अस्पतालमा भर्ना भएका थिए। त्यहाँ उनको दुईपटक डायलासिस गरिएको थियो। त्यसको चौथो दिन महाराजगन्जस्थित शिक्षण अस्पतालमा रिपोर्ट चेकजाँच गर्न पुगेका प्रधानमन्त्री ओली अस्पताल पुगेको एक घण्टापछि निवास फर्केका थिए। त्यसैगरी कात्तिक ३० गते ग्रान्डी अस्पतालमै तेस्रो पटक र मंसिर ८ गते चौथो पटक मिर्गौलाको डायलासिस गरिएको थियो। मिर्गौलाको डायलासिसपछि स्वस्थ देखिएका प्रधानमन्त्री ओलीलाई बुधबार बिहानदेखि पेट दुख्ने समस्या देखिएको थियो।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। ६ वर्षअघि उनको हातमा संक्रमण भएको थियो। लामो समयको उपचारपछि निको भएको थियो। उनले दिल्ली र थाइल्यान्ड गएर उपचार गराएका थिए। त्यसपछि उनी नियमित फलोअपमा थाइल्यान्ड जाने गरेका थिए। पछिल्लो पटक चिकित्सकको सल्लाहमा उनलाई थप उपचारका लागि सिंगापुरको सरकारी अस्पताल लगिएको थियो।

कहिले कुन अस्पतालमा
साउन १६ : सैनिक अस्पतालमा चेकजाँच
साउन १८ देखि २७ : सिंगापुर
भदौ ५ देखि २० : सिंगापुर
कात्तिक १३ : ग्रान्डी अस्पताल
कात्तिक ३० : ग्रान्डी अस्पताल
मंसिर ८ : ग्रान्डी अस्पताल
मंसिर १० : त्रिवि शिक्षण अस्पताल

प्रकाशित: ११ मंसिर २०७६ ००:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App