१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

डिसिसी गोल्डकप फुलबल हुने

खेलाडी प्रोत्साहन कार्यक्रममा प्रथम नेपाल हिल्फे खुला पुरुष फुटबल प्रतियोगिताको उपविजेता खेलाडी सम्मानित भएपछि सामूहिक तस्बिर खिचाउँदै।तस्बिरःध्रुव/नागरिक

सिन्धुपाल्चोक- जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले यो वर्षदेखि डिसिसी फुलबल प्रतियोगिता आयोजना गर्ने भएको छ। समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङले फुलबल खेलाडी उत्पादन तथा विकास गर्न गोल्डकप आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए।

‘जिल्लाका १२ स्थानीय तहबीच गोल्डकप खेलाउँदै छौँ,’ सुनौलो बिहानी अभियान चौताराले सदरमुकाममा गरेको खेलाडी प्रोत्साहन कार्यक्रममा समन्वय समिति प्रमुख तामाङले भने। उनले गोल्डकप आयोजना र समग्र प्रतियोगिताको व्यवस्थापन गर्न सुनौलो बिहानीलाई प्रस्तावसमेत गरे। गोल्डकप आयोजना गर्न तयार भए आर्थिक सहयोग समन्वय समितिले गर्ने उनले प्रतिवद्धता जनाए।

‘जिल्लाका खेलाडीबीच आन्तरिक प्रतिस्पर्धा बढाएर राष्ट्रिय स्तरकै लिग प्रतियोगिता खेल्न सक्षम बनाउने उद्देश्यले समन्वय समितिले गोल्डकप आयोजना गर्ने निर्णय गरेको हो,’ प्रमुख तामाङले प्रष्ट पारे। आर्थिक सहयोग समन्वय समितिले गरे पनि गोल्डकप आयोजनाको व्यवस्थापन स्थानीय क्लबले गर्दा राम्रो हुने उनले सुनाए। प्रतियोगिता सञ्चालनको विधि, समय र पुरस्कार राशीका सम्वन्धमा समन्वय समितिले कार्यविधि नै बनाउने तयारी गरिरहेको तामाङले जानकारी दिए।

यसै वर्ष मात्र स्थापना भएको संस्थाले गत कात्तिकमा प्रथम नेपाल हिल्फे खुला पुरुष फुटबल प्रतियोगिताको उपविजेता बन्न सफल आफ्ना खेलाडीलाई सम्मान गरेको थियो। साथै बिहानीले काभ्रेको पाँचखालमा यसै महिनाबाट सञ्चालन हुने फुटबल प्रतियोगितामा भाग लिने आफ्ना खेलाडीलाई विदाइ समेत गर्‍यो। सो अवसरमा बिहानीले जिल्लास्तरीय फुटबल खेलाडी राकेश रानालाई लाइफ टाइम अचिभमेन्ट अवार्डले सम्मान गरेको थियो।

‘राष्ट्रिय लिग नै खेल्ने कार्ययोजना साथ खेलाडी तयार गरिरहेका छौँ,’ सुनौलो बिहानीका सचिव सौगात कर्माचार्यले भने। त्यसका लागि स्थानीय खेलाडीलाई संस्थामा आवद्ध गराएर नियमित प्रशिक्षण गराइ राखेको उनले जानकारी दिए। उनका अनुसार सुनौलो बिहानीले यो वर्ष एन्फाले आयोजना गर्ने तल्लो डिभिजनको फुटबल खेल्ने तयारी गरेको छ।

‘हरेक वर्ष बढुवा हुँदै भविष्यमा माथिल्लो डिभिजन खेल्ने उद्देश्य बोकेको छौँ,’ कर्माचार्यले भने। बिहानीका उपाध्यक्ष विजय ढुंगानाले समग्र खेलकुदका साथै सामाजिक गतिविधिमा भूमिका खेल्ने उद्देश्यसहित स्थानीय युवाहरुको सहभागितामा संस्था बनेको जानकारी दिए। ‘खेल क्षेत्रको विकाससँगै यो संस्थालाई सुशासन र भ्रष्टाचार विरोधी अभियानकै रुपमा अघि बढाउँदै छौँ,’ आगामी कार्यक्रमबारे जानकारी दिँदै उनले भने।

प्रकाशित: ७ मंसिर २०७६ १२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App