१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ठेक्काको काममा जबर्जस्ती श्रमदानः नगर्नेलाई एक हजार जरिवाना

श्रमदान गर्न उर्दी लगाएपछि सिमेन्टका बोरा बोकेर पहाड उक्लिएका गंगटेका मोतीलाल कुँवर र ओमकली कुँवर । तस्बिरः देवेन्द्र/नागरिक

गंगटे (दाङ)- जिल्लाकै अतिविकट बबई गाउँपालिका–१ गगंटेमा नेपाल टेलिकम फोन सेवा सञ्चालन गर्ने सुखद खबरले गंगटेबासी हर्षित थिए। गाउँको छेवैमा रहेको अग्लो पहाडमा टेलिफोनको टावर निर्माण गर्ने योजना बोकेर ठेकेदार गाउँमै पुगे। ठेक्का वापत बन्ने भनिएको उक्त टावर निर्माणका लागि गरिएको प्रस्तावले गाउँलेहरु झस्किए।  स्थानीय सरकारले उर्दि नै लगाईदियो ‘टावर निर्माणका लागि सबै गाउँलेहरुले जनश्रमदान गर्नै पर्छ।’ जनश्रमदान नगरे के हुन्छ? वडा कार्यालयले कारवाहीको घोषणा गर्यो ‘एक हजार रुपैयाँ जरिवाना।’ ठेक्काको रकम कम भएको भन्दै स्थानीयहरुलाई डेढ लाख बराबरको श्रमदान गर्न स्थानीयहरुलाई उर्दी नै लगाईएको थियो। प्रत्येक घरपरिवारले तीन/तीन बोरा सिमेन्ट ठाडै अग्लो पहाड उकाल्नै पर्ने नियम तोकियो।

स्थानीय ओमकली कुँवर वडा कार्यालयको यहि उर्दीका कारण जनश्रमदानमा सकि नसकि खटिईन्। बोरामा सिमेन्ट बोकेर चार घण्टा ठाडो उकालो चढेर उनि पहाड च्िढथन्। ‘विहानै सिमेन्टका बोरा बोकेर पहाड लाग्थिम्, फर्कने बेला झमक्कै साँझ परिसकेको हुन्थ्यो।’ सकि नसकि बोरा बोकेर पहाड उक्लनुको कारण थियो ‘वडा कार्यालयको कडा उर्दी।’ ‘जनमश्रमदान गर्नैपर्छ नत्र एक हजार रुपैयाँ जरिवाना लाग्छ भनेपछि के गर्ने त? पैसा तिर्नु भन्दा सकि नसकि भएपनि काम गर्छु भनेर गएकी हुँ,’ उनले भनिन्।

गतवर्षको फागुन महिनामा वडा कार्यालयले ठेकेदारको काममा श्रमदानको कडा उर्दी गरेपछि सिमित केहि स्थानीय बाहेक सिंगो गाउँ सिमेन्ट तथा बालुवा बोकेर ठाडो पहाड उक्लियो। ७० कटिसकेका मोतिलाल कुँवरलाई पनि वडाले ताकेको एक हजार जरिवानाको त्रासले सातो लियो। सकि नसकि उनी पनि बोरा बोकेर पहाड उक्लिए। ‘ठाडै अग्लो पहाड बोरामा सिमेन्ट बोकेर चढ्दा कति गाह्रो भयो होला?’ उनले भने ‘श्रमदान नगरेपछि जरिवाना तोकेपछि के गर्नु त जानै पर्यो।’

वडा कार्यालयको जरिवाना तिराउने धम्कीका सामु स्थानीय बुद्धि विक भने झुकेनन्। उनले ठेक्काको काममा स्थानीयको जनश्रमदान किन? भन्दै वडा कार्यालयको उर्दीविरुद्ध उभिए। श्रमदान नगरेको भन्दै उनलाई जरिवाना तिराउन खोजियो। तर उनले जरिवाना तिर्न पनि मानेका छैनन्। ‘टेलिकमको टावर बनाउनका लागि ठेक्का भएको हो, ठेकेदारले गर्ने काम हामीहरुले किन गर्ने भनेर मैले श्रमदान गरेन,’बुद्धिले भने ‘पछि मलाइ जरिवाना तिर्न भनियो, तर मैले तिरेको छैन्।’

वडा कार्यालयको उर्दीपछि सकि नसकि सिमेन्ट तथा बालुवाको बोरा बोकेर पहाड चढेका स्थानीयहरुको सपना तुहियो। ठेकेदार र वडा अध्यक्ष खड्गबहादुर कुँवरको सल्लाहमा स्थानीयलाई श्रमदान गराएर ठड्याउने भनिएको टावर वर्ष दिन पुग्दै लाग्दासम्म पनि ठडिएन। अहिले त टावर निर्माणको काम ठप्पै रोकिएको छ। ‘हामीहरुले दुःख गरेर श्रमदान गर्यौँ, तर फोनको टावर ठडिएन,’ स्थानीय मोतिलालले भने ‘नत श्रमदान भन्दा बढि काम गरेको पैसा नै दिए।’

श्रमदान वापत एक घरलाई तीन बोरा सिमेन्ट पहाड चढाउनुपर्ने वडाको बाध्यकारी नियम रहेको र त्यो भन्दा बढि बोरा पहाड उकाले वापत दैनिक ६ सयका दरले ज्याला दिने वडा कार्यालयनै बचन दिएको थियो। तर श्रमदान भन्दा बढि काम गरेका स्थानीयहरुले त्यो कामको ज्यालासम्म पाएनन्। ‘श्रमदान भन्दा बढि गरेको कामको ज्याला दिने भनेका थिए,’ओमकली कुँवरले भनिन् ‘एक वर्षसम्म त्यो पैसा पनि दिएनन्, वडा अध्यक्षलाई भन्दा खेरी ठेकेदार सम्पर्कमा छैनन् मात्रै भन्नु हुन्छ।’

नेपाल टेलिकमको ठेक्का मार्फत गंगटे पुगेको यो योजनामा उक्त वडाको वडा कार्यालयको हात थिएन। ठेकेदार स्वयंले मजदुरहरुको प्रयोगबाट यो काम गराईनु पर्नेभएपनि स्थानीयहरुलाई जवरजस्ती श्रमदान गराईएको थियो। तर वडा अध्यक्ष खड्गबहादुर कुँवरले भने स्थानीयहरुलाई श्रमदानका लागि बाध्य नपारिएको दाबी गरे। ‘गाउँमा फोन आउँछ भने श्रमदान गरौँ भनेर गाउँका सबै नागरिकहरु श्रमदानमा खट्नु भएको हो,’उनले भने ‘उहाँहरुले श्रमदान नगरेपछि जरिवाना तिर्नु पर्छ भनेर मैले कसैलाई पनि उर्दी लगाएको हैन।’ वडा अध्यक्ष कुँवर नेकपाबाट निर्वाचित हुन्। श्रमदान भन्दा बढि काम गरेका स्थानीयलाई पारिश्रमिक खोई त? उनले भने ‘ठेकेदार अब यहाँ आउने र काम सुचारुसँगै यहाँका स्थानीयहरुलाई ज्याला वापतको रकम पनि दिने कुरा भएको छ।’ उनले प्राविधिक कारणवस् टावर निर्माणको काम रोकिएको र तत्कालै कामले गतिलिने दाबी पनि गरे।

प्रकाशित: ६ मंसिर २०७६ ११:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App