१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हेलिकप्टर दुर्घटनामा दुई अमेरिकी सैनिकको मृत्यु

काबुल (एजेन्सी) – अफगानिस्तानमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी कम्तीमा दुई अमेरिकी सैनिकको मृत्यु भएको नेटोआवद्ध गठबन्धन सेनाले बुधबार पुष्टि गरेको छ।

हेलिकप्टर दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको बताइएको छ। यद्यपि प्रारम्भिक अनुसन्धानबाट लडाकु समूहको आक्रमणका कारण हेलिकप्टर दुर्घटनामा परेको कुनै संकेत देखा नपरेको समाचारमा जनाइएको छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको नीतिअनुसार यस समाचारको विस्तृत विवरणलगायत मारिएका व्यक्तिको परिचय भने खुल्लाइएको छैन।

यसैबीच, अफगान सरकार र नेटो गठबन्धन सेनासँग लडिरहेको तालिबान लडाकु समूहले भने आफूहरुले प्रहार गरेको गोली लागेर पूर्वी लोगार प्रान्तमा हेलिकप्टर दुर्घटना भएको दाबी गरेका छन्।

तालिबान समूहका कट्टर प्रवक्ता जबिउल्लाह मुजाहिदले ट्विटरमार्फत अमेरिकी हेलिकप्टरले लोगारको चर्ख जिल्लाको पानग्राम इलाकामा लडाकुको अखाडा आक्रमण गर्न खोजेका बताएका छन् ।

सन् २०१७ को अक्टोबरमा लोगार प्रान्तमा गठबन्धन सेनाको हेलिकप्टर दुर्घटनामा परी एक अमेरिकी सेना मारिनुको साथै अन्य छ घाइते भएका थिए।
 
पाँच तालबान लडाकु मारिए
अर्को फरक घटनामा अफगानिस्तानको हेलमान्ड प्रान्तमा तालिबान लडाकुविरुद्ध जारीसुरक्षा कारबाहीको क्रममा पाँच तालिबानी लडाकु मारिनुको साथै अन्य दुई घाइते भएका सैनिक स्रोतले बुधबार जानकारी दिएको छ।

अफगान राष्ट्रिय सेना (एएनए)ले आइतबार हेलमान्ड प्रान्तको मार्जा जिल्लामा सो सुरक्षा कारबाही गरेको थियो। उक्त जिल्लालाई आतंकवादबाट मुक्त गर्नको लागि यो अभियान जारी राखिएको सेनाद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा अफगान वायु सेनाले मार्जा जिल्लाको छुट्टाछुट्टै स्थानमा उग्रवादीको अखाडालाई लक्षित गरी गरेको हवाई कारबाहीका क्रममा पाँच तालिबानी लडाकु मारिनुको साथै अन्य दुईजना घाइते भएका थिए।

कारबाहीको क्रममा केही हतियार र गोलीसमेत ध्वस्त गरिएको बताइएको छ।  एएनए बम निष्क्रिय बनाउने टोलीले मार्जामा आइतबारदेखि तालिबानले योजना गरेको १७ वटा बारुदी विस्फोटक पदार्थ र विस्फोटक उपकरण (आइइडी) फेला पारेर सुरक्षित विस्फोटसमेत गराएका थिए।

सेनाका जवानले स्थानीय गाउँलेको अनुरोधमा १.२ किलोमिटर सडक पनि पुनःनिर्माण गरेका छन्। अफिम खेतीका लागि प्रख्यात हेलमान्ड प्रान्तमा तालिबानको बलियो प्रभाव रहेको छ।

अफगान सुरक्षाबलले हालै तालिबान लडाकुविरुद्ध सुरक्षा अभियानलाई थप गति दिएका छन्। तालिबान लडाकु समूहले हालसम्म यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन्।

प्रकाशित: ५ मंसिर २०७६ ०१:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App