१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भट्टराई र पौडेलबीच मुख्य प्रतिस्पर्धा

खेमराज पौडेल र विद्या भट्टराई पोखरामा बिहीबार उम्मेदवारी दर्ता गराउँदै कांग्रेसका पौडेल र नेकपाकी भट्टराई। तस्बिरः उमेश पुन/नागरिक

सन्तोष पोखरेल/सन्देश श्रेष्ठ
पोखरा - मुलुकभरबाट प्रतिनिधिसभा सदस्यका लागि आगामि मंसिर १४ मा कास्की–२ मा मात्र उपनिर्वाचन हुँदैछ। बिहीबार उम्मेदवारी दर्ता गरेसँगै यहाँ दलको चुनावी मैदान ह्वात्तै तातेको छ। चुनावी मैदानमा एकअर्कालाई हराउने दाउमा दलहरू लागेका छन्।

यसअघि तीनपटकसम्म चुनाव जितेका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन थालेको हो। उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले अधिकारी पत्नि विद्या भट्टराईलाई कास्की–२ बाट उम्मेदवार बनाएको छ। कांग्रेसले भने पुराना, पाका र इमान्दार नेताको छवि बनाएका खेमराज पौडेललाई चुनावी मैदानमा उतारेको छ।

मुख्य प्रतिस्पर्धा नेकपा र कांग्रेसबीच भए पनि अरु साना दल र स्वतन्त्रबाट पनि उम्मेद्वारी परेका छन्। साना दल र स्वतन्त्रका उम्मेदवार थपिए पनि एकअर्कालाई यो चुनावमा ढाल्ने रणनीति बनाउँदै ठूला दल भने मुख्य रूपमा होडबाजीमा लागेका छन्। दुई ठूला दल नेकपा र कांग्रेसका उम्मेदवार एकअर्कालाई पराजित गरेर जित आफ्नो पोल्टामा ल्याउने रणनीतिमा रहेका छन् भने साना दल भने उपस्थितिमै सीमित हुनेमा ढुक्क पनि छन्।

नेकपा उम्मेदवार भट्टराईले पति अधिकारीले गरेको कामलाई आधार बनाएर जित हाँसिल गर्ने दाउमा छिन् भने पाको उमेरमा उम्मेदवारी पाएका कांग्रेसका पौडेलले सरकारले गरेका कामको मूल्यांकन मतदाताले गर्ने हुँदा यो पटकको जित आफ्नो पोल्टामा आउने बताउँछन्।

‘जनता सरकारी रबैयाबाट साह्रै नै असन्तुष्ट भएका छन्। निराश भएका जनतालाई आशा दिलाउने गरी हामी चुनावी मैदानमा होमिएका छांै,’ उम्मेदवारी दिएपछि पौडेलले पत्रकारहरूसँग भने, ‘सरकारबाट निराश भएका ती जनतालाई आशा दिलाउने गरी रणनीति बनाएर चुनावी मैदानमा जाने हो।’ यसअघिको निर्वाचनमा नेकपाले गरेको वचनबद्धतालाई सरकारले पुरा गर्न नसकेको उनले बताए। सरकारले ती वचन पुरा नगर्दा गल्ती गरेको उनले बताए।

‘यो निर्वाचनमा जितेर हामीले सरकार ढाल्न चाहेको होइन, राजनीतिक अस्थिरता ल्याउन खोजेका पनि होईनौ,’ उनले भने, ‘तर सरकार आफैले आफ्ना क्रियाकलापका कारण राजनीतिक स्थिरता आउन सकेको छैन। सरकारले यस्तै क्रियाकलाप गर्दै अघि बढेकोले जनताले बलियो प्रतिपक्ष खोजेका हुन्।’ जनताले हिजो गरेको प्रतिबद्धताअनुसार सरकारले काम गर्न नसेकोले यो पटक सवक सिकाउने गरि कांग्रेसलाई मत दिने उनको विश्वास थियो।

यसअघि तीनपटकसम्म कांग्रेस यही क्षेत्रबाट पराजित भएपनि यो पटक जित कांग्रेसको पोल्टामा आउने उनको भनाई छ। ‘चुनाव भन्ने कुरा कहिले कसले त कहिले कसले जित्ने हुन्। अमेरिकामा पनि ट्रम्पले जित्छन भनेर कसैले भनेका थिएनन्,’ उनले भने, ‘बेलायतमा पनि बेलाबेला फरक दल आउँछन्। हामीकहाँ पनि त्यस्तै त हो।’

सरकार सही दिशामा हिँडाउने नै प्रतिपक्षको लक्ष्य रहेको उनले बताए। अब निर्वाचनमा जित्नका लागि कास्कीमा कांग्रेस एकजुट भएको उनले बताए। ‘कुनै खालको समुह यहाँ हुँदैन। सबै एकजुट भएका छन्। हिजो चाहना राखेपनि अब एकढिक्का भएर अघि बढ्नेछन्,’ पौडेलले भने, ‘अब पनि कांग्रेस एकढिक्का भएन भने जनताले हप्काउनेछन्।’ पाँच हजार मतको अन्तरमा कांग्रेसले जित्ने उनको दाबी थियो।

नेकपाकी उम्मेदवार भट्टराईले आफुले शोकलाई शक्तिमा बदलेर चुनावी मैदानमा आएको बताइन्। ‘पतिको निधनपछि समवेदना बटुल्न आयो भन्नु बेकार हो। हामी आलोचनाको चेत भएका मान्छे हौं,’ उनले भनिन, ‘अझ कम्युनिस्टहरू आलोचनाको चेतलाई आत्मसाथ गर्ने पार्टी हो। आलोचनाले सुधार्न सहयोग गर्छ। म आलोचनालाई आत्मसाथ गर्दै सम्मान प्रकट गर्छु।’

पति रवीन्द्रका अधुरा सपना पूरा गर्न र जनताले पाँचवर्षका लागि पतिलाई दिएको विश्वासको मतलाई कायम राख्न जनतामाझ आएको उनले बताईन। ‘रवीन्द्र्रले गरेका बाचा र अघि बढाएका योजनालाई पूरा गर्नका लागि जनतामाझ आएकी छु, ती अधुरा सपना पूरा गरेरै छाड्ने प्रतिज्ञा गर्दछु,’ उनले भनिन, ‘हिजो राजनीतिक योद्धा र विकासे नेता रवीन्द्रलाई सफल बनाउ केही समय राजनीतिबाट टाढा मात्र भएकी हुँ। तर, धेरै नै टाढा थिइन्। आज देशको आवश्यकताले राजनीतिमा होमिएकी हुँ।’

हरेक समस्यासँग लड्न तयार भएर बलियो मनोविज्ञान लिएर चुनावी मैदानमा उत्रिएको उनले बताइन्। ‘म खुला किताब हुँ। जसले जतिबेला पनि मलाई पढ्न सक्नुहुन्छ,’ उनले भनिन्। अप्ठेरो स्थितिमा पनि जितेको र लगातार जितिरहेको क्षेत्र भएकाले पनि यो उपनिर्वाचनमा पनि आफुलाई विजय हुन उत्तिसारो असहज भएको उनले बताइन्।

यसअघि निर्वाचनमा जित हासिल गर्दा अधिकारीले २७ हजार २ सय ७ मत पाएका थिए। उनका प्रतिद्वन्द्वी कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाउँदा ८ हजार ५ सय ४६ मतको अन्तरमा अधिकारीले जित हात पारेका थिए। कास्की–२ मा ७१ हजार ८ सय ७१ जना मतदाता छन। यसअघिको निर्वाचनमा कुल ७० हजार ६ सय ५१ मतदाता रहेको कास्की २ मा अहिले १ हजार २ सय २० जना मतदाता थपिएर ७१ हजार ८ सय ७१ पुगेको निर्वाचन कार्यालयले बताएको छ।

प्रकाशित: २४ कार्तिक २०७६ ०१:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App