१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘नक्कली’ डाक्टर जिल्ला चलान

काठमाडौं–प्रहरीले मुद्दा अभियोजनका लागि पक्राउ परेका नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकलाई उनीहरू कार्यरत रहेकै जिल्ला पठाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ परेका ३५ मध्ये काठमाडौंबाहेकका चिकित्सकलाई उनीहरू कार्यरत रहेको जिल्ला पठाएको हो । पक्राउ परेका एकजना चिकित्सकलाई यसअघि नै जिल्ला पठाइसकिएको छ ।

सिआइबीले नक्कली प्रमाणपत्रधारी चिकित्सक कार्यरत रहेका संस्था र अवधिका आधारमा आर्जन गरेको आयबराबर ठगी गरेको भन्दै बिगोबमोजिम मागदाबीसहित मुद्दा दर्ता प्रक्रिया थालेको हो । सिआइबीका अनुसार सम्बन्धित चिकित्सकको उपचारबाट पीडित भएकाको उजुरीका आधारमा समेत कारबाही अघि बढेको छ । नर्भिक अस्पतालका चिकित्सक अरुणकुमार गुप्ताविरुद्ध तीनजना सेवाग्राहीले किटानी जाहेरी दिएका छन् ।

डिआइजी नवराज सिलवालका अनुसार पक्राउ परेका चिकित्सकविरुद्ध कम्तीमा सात लाखदेखि बढीमा एक करोडसम्म मागदाबीसहित ठगी मुद्दा प्रक्रिया अघि बढेको छ । उनले उजुरी आउनेक्रम जारी रहेकाले पीडितको जाहेरीअनुसार मुद्दाको शीर्षकसमेत फेरबदल हुन सक्ने बताए । ‘हामीले अनुसन्धान सकेर सम्बन्धित जिल्ला पठाएका छौं, थप कारबाही उतैबाट हुन्छ,’ उनले भने ।

ब्युरोका अनुसार नेसनल मेडिकल कलेज वीरगन्जमा कार्यरत चिकित्सक मोहम्मद रुहुल्लाहविरुद्ध १ करोड ३ लाख, नर्भिकका अरुणकुमार गुप्ताविरुद्ध ८१ लाख ९८ हजार, ब्राइट स्माइल डेन्टल क्लिनिककी विनिता अधिकारीविरुद्ध ६४ लाख ४८ हजार र आम्दा नेपाल जोरपाटीमा कार्यरत निलिमा खड्का महतविरुद्ध ४६ लाख २१ हजार मागदाबीसहित मुद्दा दर्ता प्रक्रिया अघि बढेको छ ।

प्रमुख अनुसन्धान अधिकृत तारणीप्रसाद लम्सालका अनुसार चिकित्सकका रूपमा सेवा प्रदान गर्दाको सुरु समयदेखि पक्राउ पर्दासम्म आर्जन गरेको रकमलाई ब्युरोले ठगी ठह¥याएको छ । उनले सम्बन्धित जिल्लाका सरकारी वकिल कार्यालयमार्फत रायसहितको मुद्दा अभियोग लैजाने तयारी भइरहेको बताए । ‘जिल्ला पठाएका छौं, सम्भवत आइतबारसम्म मुद्दा दर्ता हुन्छ,’ उनले भने ।

ब्युरोका अनुसार बिहीबार झापाका एक,  सुनसरीका एक, मोरङका तीन, जनकपुरका दुई, लमजुङका एक, कास्कीका एक, दाङका एक, भैरहवाका एक, चितवनका तीन, वीरगन्जका आठ, ललितपुरका दुई र काठमाडौंका १२ चिकित्सकलाई सम्बन्धित जिल्लाबाट कारबाही अघि बढेको छ ।
पक्राउ परेका ३६ चिकित्सकमध्ये अधिकांश विभिन्न रोगका विशेषज्ञ र सरकारी तथा निजी नाम चलेका अस्पतालमा लामो समयदेखि कार्यरत रहेको भेटिएको थियो । सिआइबीको अप्रेसन क्वाकमा पक्राउ परेका बुद्धिमान श्रेष्ठ, अरुणकुमार गुप्ता, गजानन्दप्रसाद भण्डारी, सन्तोषकुमार झा, सञ्जय गुप्ता, लिली राजवंशी र बोदित आचार्य नाम चलेका डाक्टर हुन् ।

हिरासतमा रहेका श्रेष्ठ कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटलका अध्यक्ष र निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका महासचिव हुन्  । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका दन्त चिकित्सकसमेत हुन् । यस्तै नर्भिक, बिएन्डबी हस्पिटल र अर्र्र्र्थरिट्स केयर सेन्टर वीरगन्जमा कार्यरत अरुणकुमार गुप्ता युरिक एसिड तथा बाथरोग विशेषज्ञ हुन् । नेपाल परिवार नियोजन संघमा वरिष्ठ चिकित्सकका रूपमा कार्यरत गजानन्दप्रसाद भण्डारीसमेत प्रतिष्ठित चिकित्सक मानिन्छन् ।

सन्तोषकुमार झा ट्रमा सेन्टर, मोहम्मद रुहुल्लाह नेसनल मेडिकल कलेज, मोहम्मद अबुल कलाम ट्रमा अस्पताल विराटनगर, दिपेश पौडेल किस्ट मेडिकल कलेज, सञ्जय यादव युनभर्सल मेडिकल कलेज भैरहवा र सञ्जयकुमार दास श्रीराम डाइग्नोस्टिक क्लिनिक विराटनगरमा कार्यरत रहेका थिए । तिलगंगा आखा अस्पतालमा कार्यरत लिली राजवंशीसमेत सेवाग्राहीको रोजाइमा पर्ने चिकित्सक हुन् । बोदित आचार्य र विनिता अधिकारी दन्त चिकित्सामा नाम चलेका डाक्टर हुन् । आचार्य पुरानो बानेश्वरस्थित केयर डेन्टल क्लिनिक र अधिकारी ब्राइट स्माइलमा कार्यरत थिइन् ।

बिहार बोर्डका ३५ नक्कली

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छानबिनक्रममा नक्कली भेटेपछि देशभरबाट  पक्राउ गरेका ३६ चिकित्सकमध्ये ३५ जनाले भारतको बिहारबाट नक्कली सर्टिफिकेट ल्याएको खुलेको छ । सिआइबीका अनुसार बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिलबाट प्रवीणता प्रमाणपत्र तह (आइएस्सी) को नक्कली सर्टिफिकेटका आधारमा चिकित्साशास्त्र र दन्त चिकित्सामा उच्च अध्ययन गरेको भेटिएको हो ।

सिआइबीले नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद्सँगको सहकार्यमा २०७२ माघ २३ गते एकसाथ १२ जना नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकलाई पक्राउ गरी ‘अप्रेसन क्वाक’ सञ्चालन गरेको थियो । प्रहरीले पक्राउ गरेका चिकित्सकले प्रवीणता प्रमाणपत्र तहमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको र चिकित्साशास्त्र पढ्न आवश्यक विषयमा आफूखुसी नम्बर बढाएको अनुसन्धानमा देखिएको थियो । अप्रेसन क्वाक सञ्चालनमा आएयता  २०७२ सालको फागुन र चैतमा भएका तीन बेग्लाबेग्लै कारबाहीमा थप चार चिकित्सकको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको थियो ।
नेपाल मेडिकल काउन्सिलको परीक्षामा खेताला राख्ने र आफैँ परीक्षा दिँदा दर्जनौंपटक फेल हुने देखिएपछि शैक्षिक प्रमाणपत्रको अनुसन्धान सुरु भएको हो । अनुसन्धान अधिकारीका अनुसार नेपाल र भारतबाट प्रवीणता प्रमाणपत्र र प्रवेशिकामा समेत अनुत्तीर्ण भएका व्यक्ति ठूलो लगानीमा चीन, रसिया, बंगलादेश, भारत र पाकिस्तानबाट अध्ययन गर्ने गरेका छन् ।

 

चिकित्सकको नाम    कार्यरत संस्था            एनएमसी दर्ता नम्बर
बुद्धिमान श्रेष्ठ           कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटल         ७६०१
अरुणकुमार गुप्ता        नर्भिक अस्पताल                               २७५७
गजानन्दप्रसाद भण्डारी   नेपाल परिवार नियोजन संघ                    २५६९
दिपेश पौडेल    किस्ट मेडिकल कलेज    १४१६३
विनिता अधिकारी    ब्राइट स्माइल डेन्टल क्लिनिक    २६८७
बोदित आचार्य    केयर डेन्टल क्लिनिक    २४५३
मोहम्मद रुहुल्लाह    नेसनल मेडिकल कलेज    २९१७
मोहम्मद अबुल कलाम    ट्रमा अस्पताल विराटनगर    २३९०
रविन्द्रकुमार पाण्डे    केयर नर्सिङ होम    २९८४
मनीष अर्याल परिवार नियोजन    विराटनगर    ४६४९
सञ्जयकुमार दास    श्रीराम डाइग्नोस्टिक क्लिनिक    २१३२
पुनम कर्ण             झरना फार्मेसी कपन                         ८८८८
लिली राजवंशी      तिलगंगा आँखा अस्पताल                   ३७५८
रावेत रञ्जनकुमार ठाकुर  सोसाइटी डेन्टल क्लिनिक             ९४९७
सञ्जय यादव युनिभर्सल मेडिकल कलेज भैरहवा                   ११७०३
सन्तोषकुमार झा  ट्रमा सेन्टर काठमाडौं                          ७५९१
गणेश शाह    लोकहित डेन्टल त्रिपुरेश्वर                             ७२६१
निलिमा खड्का महत    आम्दा नेपाल जोरपाटी                    ४४७७
विनिता मण्डल    रेशा फर्म                                        ४३८४
राहिल फराज अन्सारी      तनहुँ सेवा अस्पताल दुलेगौंडा        ११७३६
राम घिमिरे    हाम्रो सहयात्री अस्पताल                               ६४६४
कुशराज गिरी    शान्ति क्लिनिक वीरगञ्ज                           ३११६
पन्नलालप्रसाद पटेल गण्डक अस्पताल वीरगन्ज                  ५३९५
महेश्वरराय यादव मेरी स्टोप्स पोखरा                               ५२९३
निमेषपाल रमन नेशनल मेडिकल कलेज बीरगञ्ज                 ११४६३
रन्धीर राजवंशी बजरंग क्लिनिक अनारमनी झापा                 १३३९१
सुनिल आचार्य प्रगति पोली क्लिनिक चितवन                     ५४२४
ईशादुल हक नेशनल मेडिकल कलेज १५४९७
सरोजकुमार सिंह नारायणी अस्पताल बीरगञ्ज ६९९१
रजनी अग्रवाल पुरानो मेडिकल कलेज चितवन ६२०३
रामजी यादव पुजा मेडिकल हल ७२४१
रामकुमार प्रधान नेशनल मेडिकल कलेज ४०१४
बिष्णुप्रसाद भुसाल बिआर डेन्टल क्लिनिक दाङ ८०९८
दिनेशकुमार साह कलेज अफ मेडिकल साईन्स ४९५७
राजन पुरी                                          चितवन मेडिकल कलेज १६११६
जाजेद अख्तर अन्सारी            लाईफ गार्ड अस्पताल बिराटनगर

 

 

प्रकाशित: १७ असार २०७३ ००:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App