२५ भाद्र २०८१ मंगलबार
image/svg+xml
अर्थ

युएई रोजगारीमा शून्य लागतबारे छलफल

आइतबार काठमाडौंमा सुरु भएको नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त कार्य समूह बैठकका सहभागी। तस्बिर : नागरिक

काठमाडौं – नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त कार्य समूह बैठक आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। ६ महिनाअघि दुई देशबीच भएको श्रम समझदारी (एमओयू) कार्यान्वयन गर्न संयुक्त कार्य समूहको बैठक बसेको हो।

नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र युएईका तर्फबाट त्यहाँको मानव संशाधन मन्त्रालयको अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखाका निर्देशक अब्दुलाह अल नुवाइमीले बैठकको नेतृत्व गरेका छन्।

बैठकमा सहभागी मन्त्रालयका उपसचिव दिपक ढकालले पहिलो दिनको बैठकमा दुवै तर्फबाट एजेन्डा पेस भएको र कुनै निर्णय नभएको बताए। सोमबार सकिने बैठकले कामदारको सम्पूर्ण लागत रोजगारदाताले बेहोर्ने, रोजगारदाताको कमी, कमजोरीका कारण बेरोजगार हुनुपर्ने अवस्था आए कामदारले अर्को रोजगारदाता छनोट गर्न पाउने, महिला कामदारका लागि श्रमिक कल्याण र सुरक्षाका लागि विशेष उपाय सुनिश्चित गर्नुपर्ने लगायतका विषयमा सहमति गर्ने अपेक्षा गरिएको छ।

मन्त्रालयले २०७५ को कात्तिक १२ मा मलेसियासँग कामदारको सम्पूर्ण लागत रोजगारदाताले बेहोर्ने एमओयू गरेपछि अन्य मुलुकसँग पनि सोहीखाले एमओयूको पहल गरिरहेको छ। ६ महिनाअघि दुई मुलुकबीच एमओयू भए पनि संयुक्त कार्य बैठक नबस्दा रोजगारीका लागि युएई जाँदा लाग्ने खर्च श्रमिकले बेहोर्नु परिरहेको छ।

संंयुक्त कार्य समूहको बैठक श्रमिकको लागत खर्च रोजगारदातालाई तिराउन सहमत भयो भने अबदेखि युएई जानेले एक सुको खर्च गर्नुपर्ने छैन। संयुक्त कार्य समूहको बैठक आयोजना गराउन केही दिनअघि अवुधावी डाइलगमा भाग लिन गएका श्रममन्त्री गोकर्ण विष्टले पहल गरेका थिए।

प्रकाशित: १८ कार्तिक २०७६ ०४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App