१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डा. अग्रवाल डिन नियुक्त

काठमाडौं- डा. जगदीशप्रसाद अग्रवाल चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को नयाँ डिन नियुक्त भएका छन्। शनिबार बसेको त्रिवि कार्यकारी परिषद् बैठकले अग्रवाललाई डिन बनाएको  हो।

आइओएममा प्राध्यापक भएको आधारमा सबैभन्दा वरिष्ठ डा. अग्रवालको नाम अघिल्लो सर्च कमिटीले समेत डिन नियुक्तिका लागि पहिलो नम्बरमा सिफारिस गरेको थियो। तर, त्रिवि कार्यकारी परिषद्ले वरिष्ठता पन्छाएर डा. केपी सिंहलाई डिन बनाएको थियो। सोलगत्तै डा. गोविन्द केसीले वरिष्ठताका आधारमा डिन नियुक्तिको माग राखी अनशन थालेका थिए ।

अनशनको २०औं दिन सिंहले राजीनामा दिएपछि २१औं दिन अग्रवाललाई डिन बनाइएको हो। सिंहले राजीनामा दिएकै दिन त्रिवि कार्यकारी परिषद्ले पूर्वडिन डा. कुमुद काफ्लेको संयोजकत्वमा सर्च कमिटी बनाएको थियो। कमिटीले राति नै सिफारिस दिएपछि अग्रवाल नियुक्तिको बाटो खुलेको हो।

अग्रवाल इमानदार र गुणस्तर कायम गर्ने मामिलामा कठोर स्वभावका मानिन्छन्। वरिष्ठ फिजिसियन तथा नशा रोग विशेषज्ञ उनी मेडिकल शिक्षाविद् समेत हुन्। उनी हाल आइओएमअन्तर्गतकै पाठ्क्रम विकास केन्द्रका कार्यकारी निर्देशकसमेत हुन्। निजी क्लिनिक नचलाउने आइओएमका सीमित चिकित्सकमध्ये उनी पनि पर्छन्। उनले भारतको राजस्थान विश्वविद्यालयबाट एमबिबिएस र सोही विश्वविद्यालयबाट जनरल मेडिसिनमा एमडी गरेका छन्।

उनले सन् १९९३ मा जापानको ह्योगो कलेज अफ मेडिसिनमा जाइका प्रोग्रामअन्तर्गत न्युरोलोजीसम्बन्धी क्लिनिकल ट्रेनिङ र नेदरल्यान्डबाट मास्टर्स अफ हेल्थ प्रोफेसनल एजुकेसन (एमएचपिई) को कोर्स पूरा गरेका छन्। उनी सन् २००३ मा आइओएममा प्राध्यापक भएका थिए।

दुई वर्षअघि त्रिविका तत्कालीन उपकुलपति हीराबहादुर महर्जनले आइओएमको एमबिबिएस कार्यक्रम कीर्तिपुर सार्ने तयारी गर्दा अग्रवालले सार्न नहुने भन्दै प्रतिवेदन दिएका थिए। त्यसपछि वरिष्ठतामा पालो आए पनि उनलाई जिम्मेवारी दिन त्रिवि नेतृत्वले अटेरी गर्दै आएको थियो। पछिल्लोपटक डा. केसीले बारम्बार वरिष्ठताकै आधारमा डिन बनाउनुपर्ने भने पनि त्रिवि उपकुलपतिलगायत पदाधिकारी अग्रवालको विपक्षमा थिए।

कसैको दबाबमा काम नगर्ने र कडाइका साथ नियम लागू गर्ने भएका कारण आइओएमकै कतिपय चिकित्सक उनको विरोधमा छन्। उनीहरूले उनलाई पदबहाली गर्न रोक्ने भन्दै विज्ञप्तिसमेत जारी गरेका छन्। डा. अग्रवालले सुरुदेखि नै चिकित्सा शिक्षाको विकेन्द्रीकरण र ग्रामीण क्षेत्रमा चिकित्सक तथा स्वस्थ्य सेवा पुर्‍याउने मोडलको वकालत गर्दै आएका छन्।

प्रकाशित: १९ मंसिर २०७३ ०२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App