ओइलाएको घामसँगै रेस्टुराँमा जोडीहरु भित्रनेक्रम बढ्दै छ। राजधानीका सानादेखि - महँगामा पर्ने पाँचतारेसम्मका होटलको माहोल उस्तै लाग्छ। गीतसंगीतका शैली फरक छन्। मेनु र भाऊ फरक छ तर लक्ष्य एक- भ्यालेन्टाइन। प्रेम दिवशको रन्कोले राजधानी रापिएको छ।
बत्तीसपुतलीको पुरानोजस्तो लाग्ने तर विशिष्ट वर्ग लक्षित होटल द्वारिकाज दिउसैदेखि प्रेममय छ। मध्यान्न १२ बजेदेखि प्रेमीहरुको स्वागतमा जुटेको यो होटल राति ९ बजेसम्म प्रेमीलाई पछ्याइरहने छ।
प्रेमीलाई डाक्न राजधानीका सबै रेस्टुराँ जुटेका छन्, चाहे ती ठमेलका गल्लीमा छरिएका हुन् या सोल्टी र हायातमा फैलिएका हुन्।
सोल्टी क्राउन प्लाजाको 'क्यान्डल लाइट डिनर', ठमेलको फ्याक्ट्री रेस्टुराँमा 'लाइभ डिजे', काठमाडौं प्लाजाको ग्यालेक्सी पार्टी प्यालेसमा 'लभर्स डिलाइट २०१०' ले युवालाई तानिरहेको छ।
राजधानीको रातलाई रङ्गिन बनाउने सबै डिस्को थेकमा साँझको मेलोडी एउटै छ- प्रेम। सबै साँझदेखि मध्यरातसम्म तयार छन्, प्रेमीको स्वागत गर्न। ठमेलको फायर क्लब, दरबारमार्गको सिमोल लङ, त्यहीकै रिजेन्सी बार,मालिङ्गो, भिन्तेज, तेजाव र पाँचतारेहरु डेला अन्नपूर्ण र याकएन्ड यतिले विशेष प्याकेज तयार गरेका छन्। डिस्को थेकमा सबैभन्दा नामी क्लब प्लाटेनियमले धेरैलाई तानेको छ। ८ बजेपछिमात्रै तात्ने यो क्लब मध्यरातपछिसम्मै जागिरहने छ।
ठमेलका फङ्की बुद्ध, जात्रा क्याफे, बोटल्स एन्ड चिम्नी, नर्थप्यालेस, भाटभटेनीका वेगम वेन्कट र क्रोमसाङ, लाजिम्पाटका पाँचतारेहरु र्याडिसन र साङ्ग्रिला, वानेश्वरको एभरेष्टमात्र होइन्, पुलिस हेल्थक्लब र भर्खरै सञ्चालनमा आएको सिटी सेन्टरले समेत प्रेमीहरुको चाँडलाई विशेष बनाइरहेका छन्।
प्रकाशित: २ फाल्गुन २०६६ ०६:१३ आइतबार





