
नगर स्थापना भएको दिन शनिबार प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बाल उद्यान नगर सूचना केन्द्रको उद्घाटन गरे। 'उद्यान र केन्द्र समृद्ध चौतारा बनाउने संकेत मात्रै हो,' उद्घाटनपछि उनले भने। चौतारालाई बालमैत्री नगरपालिका बनाउने नीति अनुरुप चिल्ड्रेन पार्क सञ्चालनमा ल्याइएको प्रमुख कार्यकारी अधिकृत भुवनेश्वर लामिछानेले बताए ।
टुँडिखेल नजिक चौतारा–३ मा ६ लाख रुपैयाँभन्दा बढी लगानीमा पार्क सञ्चालनमा ल्याइएको हो। नगरपालिकाको ५ लाख र भगवती सामुदायिक वन उपभोक्ता समितिको १ लाख २ हजार रुपैयाँ लगानीमा झण्डै डेढ रोपनी जमीनमा फैलिएको पार्कमा आकर्षक बगैँचासहित पिङ, चिप्लेटी र आराम गर्ने बेन्चको व्यवस्था गरिएको छ।
'नगरपालिकाको ९ ओटै वडामा बाल उद्यान स्थापना गर्ने नीति छ,' लामिछानेले भने, 'वर्षमा दुई ओटाको दरले पार्क बनाउँछौं।' चौतारा बजारस्थित संयूक्त वडा कार्यालयमा सञ्चालनमा ल्याइएको नगर सूचना केन्द्रलाई क्रमशः डिजिटल, ई–लाइब्ररी बनाउँदै लगिने उनले बताए। 'जिल्लैभरको सूचना यहाँबाट उपलब्ध गराउँछौं। केन्द्रलाई फ्रिवाइफाई जोन बनाउँदै छौं,' उनले भने।
३ दिन स्थापना दिवस मनाएको नगरपालिकाले ९ जना जेष्ठ नागरिकलाई नगद २ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्लाद्वारा सम्मान गरेको छ। वडाका एक जनाको दरले ८०–सय वर्ष उमेरका वृद्धवृद्धा सम्मानित भए। यही अवसरमा आयोजित नगरस्तरीय कविता प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कृतसमेत गरिएको थियो।
प्रमुख कार्यकारी अधिकृत लामिछानेले नगरलाई बालमैत्री बनाउने उद्देश्यले नवौ वडा बाल क्लव र नगरपालिकामा बाल सञ्जाल गठन गरिसकिएको बताए। 'नगरको नीति, कार्यक्रम निर्माण र बजेट बाँडबाँडमा समेत बालबालिकालाई सहभागी गराउँछौं,' उनले भने। ३ वर्षअघि सञ्चालनमा आएको नगरपालिकाले घरदैलोबाटै सेवा दिन वडैपिच्छे 'हेल्प डेस्क' स्थापना गर्ने अभियान सञ्चालनमा समेत ल्याएको छ। अहिले वडा नं. ९ सानोसिरुवारीमा डेस्क सञ्चालनमा आइसके लामिछानेले जनाए।
प्रकाशित: २५ वैशाख २०७३ १०:४९ शनिबार