७ वैशाख २०८१ शुक्रबार
मुख्य समाचार

अभियुक्त बीस वर्षपछि फन्दामा

काठमाडौं- पबमा इटालियन युवती जिस्काउँदा भएको हत्या अभियोगबाट जोगिन टासी गुरुङले अनेक तिकडम गरे। पहिचानै बदलेर उनी टासीबाट सन्डुप घले बने। नेपालमा बस्दा प्रहरीको पञ्जामा परिएला भनेर अमेरिका गए, ग्रिनकार्ड लिए। राहदानी, नागरिकता अनि सवारीचालक अनुमतिपत्रसम्म आफ्नो पहिचानै बदली सन्डुप बनेर १५ वर्ष अमेरिका बसाइपछि नेपाल फर्किए उनी।
जति पहिचान बदले पनि परिवार, इष्टमित्र, साथीमाझ त उनी टासी नै थिए। अमेरिकाबाट तीन वर्षअघि फर्किएका उनी प्रहरीको नजरमा भने लुक्न सकेनन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०५२ असोज २७ मा ठमेलमा भएको इटालियन नागरिक डेभिड क्यारारोको हत्या अभियोगमा उनलाई शनिबार ठमेलकै होटल कन्ट्रीयार्डबाट पक्राउ गर्योम।

'ठमेलको रेग्गीपबमा इटालियन युवतीमाथि भएको अश्लील क्रियाकलाको प्रतिवाद गर्दा धारिलो हतियारले हानेर डेभिड मारिएका थिए,' ब्युरोका एसएसपी मनोज न्यौपानेले भने, 'हत्या घटनाका मुख्य अभियुक्त नेपालमा रहेको सूचना आधारमा खोजी गर्दा टासी २० वर्षपछि फेला परे।'

नेपालको दण्डसंहिता अनुसार जस्तोसुकै अपराधमा दोषी प्रमाणित भए पनि २० वर्षभन्दा बढी कारागारमा बस्नुपर्दैन। घटनाताका पक्राउ परेर जन्मकैद सजाय नै पाएका भए पनि उनी अहिले कारागारमुक्त भइसक्थे। २० वर्ष उमेरमा भएको अपराधबाट जोगिन अनेक तिकडम गरे पनि ४० वर्षको उमेरमा पक्राउ परेका टासीको जेलयात्रा अब अदालतले सजाय तोकेपछि सुरु हुनेछ।

दुईपटक झुक्किए प्रहरी

प्रहरीले आफ्नो कार्यालयमा परेको निवेदन विवरणलाई गम्भीरतापूर्वक लिएको भए एक वर्षअघि नै पक्राउ पर्ने थिए टासी। २०७१ कात्तिकमा महानगरीय प्रहरी वृृत्त सोह्रखुट्टेमा सोनाम डोल्पा शेर्पाको नाममा ज्यान मार्ने उद्योगको निवेदन पर्दा नै टासीबारे केही विवरण खुलेका थिए।

मट्टीतेल खन्याएर मार्ने प्रयास गरेको भन्दै उनकी श्रीमतीले प्रहरीमा दिएको निवेदनमा 'कालु मनाङेको छोरा, टासी भन्ने सन्डुप घले' भन्दै पहिचान खुलाइएको थियो। सोह्रखुट्टे प्रहरीले पक्राउ गरी हिरासतमा राखेर बयान लिँदा उनले आफ्नो परिचय 'गोरखा, सामा गाविस बस्ने लाक्पा गुरुङको छोरा टासी भन्ने सन्डुक घले भएको बताएका थिए। प्रहरीले निवेदन विवरणतिर त्यत्ति वास्ता गरेन र २० दिन हिरासतमा बसेर उनी मुक्त भए।

दोस्रोपटक टासीविरुद्ध पुनः प्रहरीमा उजुरी पर्योब, जसमा उनी हत्यामा संलग्न रहेर भागेको विवरणसमेत उल्लेख थियो। घरमा आएर ढुंगामुढा गरेको भन्दै २०७२ पुस ९ मा महानगरीय प्रहरी परिसर, काठमाडौंमा उनीविरुद्ध परेको उजुरीमा 'सन्डुप घले भन्ने टासी गुरुङ, ठमेलमा छुरी हानेर मान्छे मारी नाम ढाँटेर अमेरिका गएको' विवरण उल्लेख थियो। प्रहरीले यसलाई पनि घर झगडाभन्दा फरक दृष्टिले हेरेन। १२ गते निवेदक र टासीलाई छलफलमा राखी मिलापत्र गराएर छाडिदियो उसले। सोह्रखुट्टे र काठमाडौं परिसरले निवेदनमा उल्लेख विवरण बेवास्ता गर्दै मुक्त गरेका टासी काठमाडौंमा रहेको सूचना पाएपछि ब्युरोले एक महिनाअघि प्रहरी निरीक्षक रुगम कुँवरको नेतृत्वमा अनुसन्धान टोली बनायो। सोही टोलीले शनिबार उनलाई होटल कन्ट्रीयार्डको कोठा नम्बर ३०२ बाट पक्राउ गर्योम।

पहिचान बदलेर अमेरिकी ग्रिनकार्ड

नेपाल घुम्न आएका इटालियन डेभिड आफ्नै देशक दुई महिला साथी एन्टेनोला केसराइनी र लारा स्कीबिनासँगै ठमेलको रेगीपब पुगेका थिए। डेभिड स्नुकर खेलिरहेका थिए भने उनका २ महिला साथी पबमा रहेका आरिफ मुसलमान र विनोद गुरुङसँग बियर तानिरहेका थिए।

एसएसपी न्यौपानेका अनुसार बेलुका साढे १० बजेतिर टासी समूहसहित पब पुगे। आरिफ र विनोदसँग परिचित टासी समूह उनीहरू बसेकै टेबलतिर गयो। टासीको समूहले इटालियन युवतीलाई जिस्काउँदै आपत्तिजनक व्यवहार गरेपछि डेभिडले प्रतिवाद गर्दा उनलाई छुरी हानेर गम्भीर घाइते बनाएको थियो। डेभिडलाई वीर अस्पताल लगिए पनि उनको ज्यान गइसकेको थियो। ब्युरोका डिआइजी नवराज सिलवालका अनुसार घटनालगत्तै १३ जना पक्राउ परे तर टासी फरार भए।

ब्युरोको प्रारम्भिक अनुसन्धान अनुसार घटनापछि भारतमा लुकेर बसेका उनी डेढ वर्षपछि अमेरिका गए। टासीलाई अमेरिका जाने चाँजोपाँजो मिलाइदिएका थिए उनका बाबु कालु मनाङे भन्ने तेन्जिङ गुरुङले। प्रहरीका अनुसार मनाङेले गोरखा सामा गाविस–३ बस्ने सन्डुप घलेको नाममा भिसा लागेको राहदानी चार लाख पचास हजार रुपैयाँमा किनेर त्यसमा टासीको तस्बिर टासेर उनलाई अमेरिका पठाएका थिए। अमेरिका पुगेका उनले पासपोर्ट हराएको भन्दै नेपाली दूतावासमा निवेदन दिएर सन्डुपको नाममा आफ्नो तस्बिर राखेर सक्कली राहदानी निकाली ग्रिनकार्ड बनाए।

अनुसन्धान अधिकारीका अनुसार जुवा र मदिराको लतमा परेपछि उनकी श्रीमती ५ वर्षअघि नेपाल फर्किन्। उनी नेपाल आएर व्यापारमा सक्रिय भएपछि टासी पनि तीन वर्षअघि यहाँ आएका थिए।

उनले नेपाल आएपछि सन्डुपकै नाममा सवारी चालक अनुमतिपत्र र गोरखाबाट नागरिकतासमेत निकाले। टासीको फोटो टाँसिएको नागरिकता र लाइसेन्स दुबैमा अर्कैको नाममा जारी भएको नम्बर प्रयोग भएको अनुसन्धानबाट खुलेको छ।

फरार अभियुक्त सबै विदेश

नेपाल घुम्न आएका आफ्ना नागरिकको हत्यापछि इटाली सरकारले विशेष चासो राख्यो। प्रहरीले पनि जाहेरी दर्ता गरेर सोही आधारमा तत्काल सोनाम गुरुङ, राजु गुरुङ, खान्सुङ गुरुङलगायत १३ जनालाई पक्राउ गर्योत र पुर्पक्षका लागि उनीहरू कारागार पुगे। तर, २०५३ असोज १७ मा टासीलगायत फरारको मुद्दा तामेलीमा राख्ने फैसला आउँदा पुर्पक्षमा रहेका सबैले सफाइ पाए।

जिल्ला अदालतको फैसलाविरुद्ध परेको पुनरावेदनमा २०५९ भदौ २४ मा फैसला उल्टियो र सफाइ पाएका विरुद्ध सर्वस्वसहित जन्मकैद फैसला भयो। मुद्दा सर्वोच्चमा पुग्यो। सर्वौच्चले २०६३ भदौ २४ मा पुनरावेदनकै फैसला सदर गर्यो्। तर, जिल्ला अदालतको फैसला लगत्तै छुटेका विदेसिए । अहिले पनि राजु युके, सोनाम गुरुङ फिनल्यान्ड र खान्सुङ हङकङमा छन्।

फन्दामा फरार

६ वर्षअघि ब्युरो गठनलगत्तै अदालतबाट दोषी प्रमाणित भएका फरारको खोजी र अपूरो अनुसन्धानको पुनः अुनसन्धान थालेको उसले हालसम्म दुई सयभन्दा बढी गम्भीर प्रकृतिका फरार र एक दर्जन बढी अपराधको अपूरो अनुसन्धान सफल बनाएको छ।

१२ वर्षदेखि जेलिएको रानीबारी हत्याको सफल अनुसन्धान गरेको ब्युरोले न्यायाधीश रणबहादुर बम हत्या अनुसन्धानलाई समेत निचोडमा पुर्याीएको थियो। तीन वर्षीया बालिकाको २०६६ सालमा सामूहिक बलात्कारपछि हत्या अनुसन्धानलाई ब्युरोले यसै वर्ष टुंग्याएको थियो। चैत ७ मा ब्युरोले २१ वर्षअघि मारिएका ध्रुव परियारको हत्याका दोषी रामहरि परियारलाई पक्राउ गरेको थियो।

'अपराध गरेर भागेकाले उन्मुक्ति नपाउन भनेर खोजी उच्च प्राथमिकतामा राखेका छौं,' ब्युरोका डिआइजी सिलवालले भने, ' जो जहाँसुकै पुगेका हुन्, अपराध गरेको जतिसुकै वर्ष बितोस् कानुनबाट बच्च सकिन्न भन्ने सन्देश दिनु हाम्रो प्राथमिकता हो।'

प्रकाशित: २१ चैत्र २०७२ २०:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App