...
कात्तिक पहिलो साता सिरहा–चोहर्बा सडकमा विपरीत दिशाबाट आइरहेको बसलाई साइड दिने क्रममा नरहा– ८ का दीपेन्द्र यादवले चलाएको ज४प १४६१ नम्बरको मोटरसाइकल स१त १३१३ नम्बरको ट्र्याक्टरको ट्रलीमा ठोक्कियो। दुर्घटनामा घाइते यादवको अस्पताल लैजाँदै गर्दा मृत्यु भयो।
...
सडकछेउमा उभिएका बेला कात्तिक २७ गते लहानको खुट्टी खोलाबाट बालुवा–गिट्टी लिएर आइरहेको स१त ९७१ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा घाइते भएका लहान–१० का प्रभु पासवान न्युरो अस्पताल विराटनगरमा उपचाररत छन्। टाउकोमा गम्भीर चोट लागेका उनलाई लहानमा प्राथमिक उपचारपछि न्युरो पठाइएको थियो।
यी सबै दुर्घटना भन्सार छुटमा भित्र्याइएका कृषि प्रयोजनका ट्र्याक्टर नियमविपरीत ‘ट्रली’ झुन्ड्याएर राजमार्गमा गुडाउँदा भएका हुन्। नियम–कानुनको धज्जी उडाउँदै पुच्छर (ट्रली) झुन्डयाएर राजमार्गमा हुइँकिने ट्र्याक्टरको संख्या थपिँदै जाँदा त्यसकै कारण भएका दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्दो छ।
दुर्घटनामा संलग्न चालकलाई प्रहरीले ज्यान मुद्दा दर्ता गरे पनि उनीहरू धरौटीमा छुट्ने गरेका छन्। कृषि छुटका अधिकांश चालकसँग सवारी चालक अनुमतिपत्रसमेत नरहेको जिल्ला ट्राफिक कार्यालय सिरहाका प्रमुख प्रहरी निरीक्षक वासुदेव यादवले बताए।
पहिले हलो जोत्न राखिएका व्यक्ति नै अहिले निर्धक्क ट्र्याक्टर गुडाउँछन्। अनुमतिपत्र भएका चालकले बढी तलब माग्ने भएकाले ट्र्याक्टर साहुले हलो जोत्नेलाई नै चालक रोज्ने गरेका हुन्। अनुमतिपत्र बेगरका चालकबाट दुर्घटना भइहाले तत्काल फरार हुन साहुले नै सिकाएका हुन्छन्। पछि अनुमतिपत्रबाहक चालकलाई भाडामा लगेर प्रहरीसमक्ष उभ्याइने गरेको जिल्ला ट्राफिक प्रमुख यादव बताउँछन्।
खेत जोत्न, मल बोक्न र धान–पराल ओसार्न भनेर भन्सार छुटमा ल्याइएका त्यस्ता ट्र्याक्टरमा नियमविपरीत ट्रली जोडिएको मात्रै छैन, बालुवा–गिट्टी, रड, सिमेन्ट, इँटालगायत निर्माण सामग्रीसमेत ओसार्ने गरिएको छ।
आर्थिक वर्ष २०६०/६१ मा सरकारले धान, पराल र मल बोक्न यातायात व्यवस्था कार्यालयको सिफारिसमा किसानलाई ट्र्याक्टरमा ट्रली जोड्न दिने निर्णय गरेसँगै यसको दुरुपयोग बढेको हो। यातायात कार्यालयले सिफारिस गरेको साइजअनुसारको ट्रली यातायात व्यवस्था विभागबाट स्वीकृतिप्राप्त वर्कसपमा बनाएर झुन्ड्याउन पाउने नियम छ। तर, यस क्षेत्रका अधिकांश ट्र्याक्टरले आफ्नै इच्छाअनुसार ट्रली जडान गरेको यातायात व्यवस्था कार्यालय लहानका निमित्त प्रमुख सीताराम खनालले बताए।
‘कृषि प्रयोगका निम्ति नगन्य कर तिरेर भित्रिएका ट्र्याक्टर भाडाका सवारीसरह प्रयोग हुनु गैरकानुनी हो,' खनालले भने, ‘अधिकांश ट्र्याक्टरमा आफूखुसी ट्रली जोडेको पाइएको छ, तिनलाई कडा कारबाही हुन्छ।'

छुटमा भित्रिने यस्ता ट्रकले रुट इजाजत र सडक दस्तुर तिर्नुपर्दैन। राजमार्गमा नचल्ने भएकाले यी ट्र्याक्टरले वार्षिक २८ सय करमात्रै बुझाउँछन्। किसानको घरबाट खेत र खेतबाट घरसम्म मात्रै गुड्न पाउने यस्ता ट्र्याक्टर निर्माण सामग्री बोकेर राजमार्गमा निर्वाध चल्दा पनि कारबाहीमा पर्ने गरेका छैनन्।
नियमविपरीत जोडिएको ट्रलीमा अटी–नअटी सामान र त्यसमाथि यात्रुसमेत राखेर राजमार्गमा हुँइकिरहेको ट्र्याक्टरलाई कारबाही गर्ने जिम्मेवारी आफ्नो नभएको भन्दै प्रहरी चुप लाग्ने गरेको हो। प्रहरीका अनुसार यो काम ट्राफिकको हो। तर, सडकमा कताकतै मात्रै खटिने ट्राफिकलाई ट्र्याक्टर चालकले सजिलै छल्ने गरेका छन्। सवारी साधनको तुलनामा ट्राफिकको संख्या निकै कम भएकाले राजमार्ग क्षेत्रमा लापरबाही गर्ने चालकलाई कारबाही गर्न नसकिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीको मुद्दा शाखाका सई होमप्रसाद अधिकारी स्वीकार्छन्।
उनका अनुसार पूर्व क्षेत्रभित्र ६५४०.५५ किलोमिटर सडक पर्छ। यहाँ साना–ठूला गरी ३ लाख २१ हजार २ सय ८९ सवारीसाधन दर्ता छन्। ट्र्याक्टरको संख्यामात्रै २० हजार छ तर ट्राफिक प्रहरीको जनशक्ति ३ सय ७८ मात्रै छ।
ट्र्याक्टर संलग्न दुर्घटनामा मृत्युदर बढ्नुमा ट्रली प्रमुख कारण देखिएको अधिकारी बताउँछन्। ‘पहाडी जिल्लामा ओभरलोडेड ट्र्याक्टर भिरालो र अप्ठ्यारो बाटोमा पल्टेर दुर्घटना भइरहेको पाइएको छ भने तराईका जिल्लामा बिनासंकेतका ट्रलीमा ठोक्किएर बढी दुर्घटना भएको छ,' उनले भने।
प्रकाशित: १ मंसिर २०७१ १९:२५ सोमबार





