१ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्वार्ता

षड्यन्त्र चिर्न युवा संघ सक्षम छ: अध्यक्ष थेबे

एमाले ११औं महाधिवेशन

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा केन्द्रित रहेर राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेसँग नागरिककर्मी सुभद्रा धितालले कुराकानी गरेकी छन्। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

पार्टी अध्यक्ष केपी ओलीका कारण युवा पंक्तिमा निराशा फैलिएको छ, युवा संघमा रहनुभएका तपाईंहरू उहाँलाई नै अगाडि किन बढाइरहनुभएको छ?

राष्ट्रिय युवा नेपालले स्पष्ट गर्न खोजेको विषय पनि त्यही हो। पछिल्लो राजनीतिक समय, जेनजी आन्दोलन र त्यसक्रममा भएका षड्यन्त्र र आगजनीबाट मुलुकमा विषम परिस्थिति निम्तिएको छ। जेनजी आन्दोलन र त्यसले उठाएका मुद्दाहरूमा हामीले सुरुदेखि भन्दै आएका छौं कि हाम्रो साथ र सहयोग छ तर जेनजी आन्दोलन बानेश्वर नपुगी षड्यन्त्र सुरु भयो।

षड्यन्त्रमार्फत आन्दोलनलाई उत्तेजनामा पुर्‍याइयो। सरकारबाट गोली चलाइयो भन्ने देखाइयो र घुसपैठ भएर २४ गतेको तयारी गरियो। अबोध युवाहरूलाई मारियो, देश शोकमग्न भयो र २४ गते देशभर आगो लगाइयो।

अब देश त्यो उत्तेजना र स्थितिमा पिराउनका निम्ति एआईबाट निर्मित कृत्रिम विषयवस्तु ४९ प्रतिशत प्रयोग गरिएको थियो। ३५ प्रतिशत फेक सोसल मिडिया प्रयोग गरेर समाजलाई उत्तेजित बनाउने र जनतालाई दिगभ्रमित बनाउने काम भयो भनेर रिपोर्ट आइसकेको सबैलाई थाहा छ।

आज पनि त्यही ३५ प्रतिशत फेक सोसल मिडिया र ४९ प्रतिशत एआईद्वारा निर्मित विषयवस्तुहरू प्रयोग गरेर समाजलाई जलाउने ठाउँमा पुर्‍याइयो। नेपालीलाई उत्तेजित बनाइयो, नेपालीहरूलाई केपी ओली र एमालेप्रति दिग्भ्रमित बनाइयो त्यो अझै स्पष्ट गर्न सकिएको छैन। केपी ओली तत्कालीन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्री रमेश लेखकले हामीले आदेश दिएको होइन, यो षड्यन्त्र हो भनेर सारा जगत्ले भनेको छ।

एकजनालाई मन्त्री बनाउँदा पनि विदेशी नियोगको सहमति लिनुपर्ने अवस्थामा सरकार छ। हिजो हामीले निर्णय गर्न स्वायत्त थियौं तर आज निर्णय गर्न स्वायत्त छैन सरकार। यसले कसरी ओली र एमालेले देशको नेतृत्व वैदेशिक हस्तक्षेपविना टिकाएको रहेछ भन्ने कुरो प्रमाणित गरिसकेको छ। अब ओली अझै गलत हुन् कि भन्ने त्यही फेक मिडिया मिसन मात्र स्पष्ट गर्न बाँकी छ।

देश अहिले संकटमा छ। राष्ट्र बचाउनुपर्छ। देश जलाउनेहरू महान् भएर हिँड्ने अनि भ्रष्टहरू अख्तियार जलाएर उत्सव मनाउँदै हिँड्ने, तस्करहरू सर्वोच्च जलाएर उत्सव मनाउँदै हिँड्ने अनि राम्रा मान्छेहरू प्रतारक हुने प्रतारित हुने अनि नराम्रा मान्छे र जलाउनेहरू महान् हुने यो कदापि स्वीकार्य हुन्न।

अहिले संविधान संकटमा छ, लोकतन्त्र संकटमा छ, राष्ट्रियता संकटमा छ। देश विकास, निर्माण, अर्थ यी सबै कुरा निर्माण गर्ने हो भने अहिलेको अवस्थामा केपी शर्मा ओलीबाहेक अरू कसैले सक्दैन किनकि राष्ट्रिय–अन्तर्राष्ट्रिय त्यो लेभलको लिडरसिप छवि, सम्बन्ध, लिगेसी, एउटा लिडरसिपमा हुने डेडिकेसन, डिटर्मिनेसन र डिसिजन गर्ने क्षमता हुनुपर्‍यो यी सबै कुरा आवश्यक भएको छ देशलाई, जुन ओलीसँग मात्रै छ।

पार्टी अध्यक्ष ओलीप्रति मानिसहरूको धारणा कमजोर छ भन्छन्, तपाईंहरू यसलाई कसरी लिनुहुन्छ?

४९ प्रतिशत कृत्रिम निर्मित सामग्री प्रकाशन गरिएका छन्। ४९ भनेको झन्डै ५० प्रतिशत हो। ४९ प्रतिशत कृत्रिम निर्माण सामग्री प्रसारण गरिएका छन् अनि प्रसारण गर्ने डिजिटल मिडिया पनि ३५ प्रतिशत झुटा छन्। यस्तो निर्माण गरिएको छ कि सबै नराम्रो हो, ओली नराम्रा हुन्, एमाले नराम्रा हो, सबै नराम्रा हुन्। देश जलाउने राम्रा हुन् भन्ने पारिएको छ। पाँच–दश जना मान्छे भेला भएर तपाईंको घर जलाए।

तपाईंले त्यसमा न न्याय पाउनुहुन्छ न  कुरा राख्न पाउनुहुन्छ न त त्यसमा आवाज उठाउन पाउनुहुन्छ तर तपाईंको घर जलाउने मान्छे आज महान् हुन्छन् अनि तपाईंले कुरा उठाउनुभयो भने तपाईं प्रतारक हुनुहुन्छ भनेपछि यो समाजको भाष्य नै गलत छैन र?

यस अवस्थामा हामी समाजलाई कसरी टिकाउन सक्छौं त। हाम्रो बुझाइ छ– यो समाजको भाष्य परिवर्तन हुनुपर्छ। हाम्रो स्पष्टता के छ भने आज यस्ता खालका षड्यन्त्र तथा विषयले नेपाललाई ग्रसित बनाएको छ। त्यसैले केपी ओलीले गल्ती गरेका छैनन्। मानवीय त्रुटि उहाँको मानवीय समस्या वा मानवीय त्रुटि केहीले मनपराउने वा मन नपराउने होलान्, जुन सामान्य विषय हो तर उहाँमाथि अहिले जुन आरोप लगाइएका छन्, ती मिथ्या हुन्।

अहिलेका निम्ति संविधान, लोकतन्त्र, राष्ट्र र राष्ट्रियता नेपाली जनताको रक्षाका निम्ति नेकपा एमाले छ। देशको सुरक्षा गर्दै देश विकासका निम्ति एमाले छ। महाधिवेशनले मुख्य दिने सन्देश पनि यही हो।

युवाहरूको व्यवस्थापन कसरी हुँदै छ?

सम्पूर्ण युवालाई पेसा व्यवसायमा राख्छौं, आत्मनिर्भर बनाउँछौं, आफैं कमाएका छौं र आफैंले सरकारलाई राजस्व तिरेका छौं। बाँकी भएका पैसाबाट हामी संगठन र पार्टीलाई लेबी दिन्छौं। त्यही लेबीका आधारमा हामी पार्टी कमिटी चलाउँछौं।

हामी बाँकी जीवन पार्टीलाई दिन्छौं, समाज निर्माण र रूपान्तरणलाई दिन्छौं, पेसा–व्यवसायमा सामेल हुन्छौं। आफ्नो जीवन आफैं हुर्काउँछौं, हामी आत्मनिर्भर छौं। हिजोआज ‘मासुभात’ को विषय धेरै चलेको छ। उहाँहरूलाई के लाग्दो रहेछ भने डलर, पाउन्ड र आईसी झ्यामझ्याम लिएर विदेशी दलालहरूको नेतृत्वमा हिँडेको रूपमा हामीलाई सम्झिनु हुँदोरहेछ। उहाँहरूलाई बाहिरबाट डलरमा फन्डिङ हुन्छ, आईसीमा फन्डिङ हुन्छ, पाउन्डमा फन्डिङ हुन्छ। उहाँलाई केही समस्या छैन। उहाँले पार्टीलाई तिर्नु पनि पर्दैन न आफैंले कमाउनुपर्छ।

हामी आफैं आत्मनिर्भर छौं। आफैं पार्टीलाई लेबी तिर्छौं र हामी सामान्य जीवन जिउँछौं। कसैसँग पनि धम्क्याएर चन्दा असुली गर्दैनौं। त्यसकारणले हामी सम्पूर्ण युवा आफ्नो ढंगले परिचालित हुन्छौं। काठमाडौंमा आउँछौं, आफन्तकहाँ बस्छौं, आफैं व्यवस्थापन गर्छौं, कार्यक्रममा सरिक हुन्छौं र फर्कन्छौं। यो ढंगले साथीहरू आउनुहुन्छ। स्वतस्फूर्त सहभागी हुनुहुन्छ। आफैं व्यवस्थापन गर्नुहुन्छ, बस्नुहुन्छ र फर्कनुहुन्छ।

युवा प्रतिनिधित्व केन्द्रीय कमिटीमा पठाउन युवा संघको के भूमिका रहन्छ?

हामी नयाँ तथा पुराना सबै नेतृत्व विकासलाई क्रमिक ढंगले लिएर जान्छौं। एमाले आज मात्रै युवामैत्री होइन। भदौ २३ पछि एमाले युवामैत्री भएको हैन। पहिले पनि एमाले युवामैत्री थियो। एमालेले वडा अधिवेशनमा ३० प्रतिशत युवाहरूलाई कमिटीमा समावेश गरेको छ।

 पालिका अधिवेशनमा २५ प्रतिशत, जिल्ला अधिवेशनमा २० प्रतिशत र प्रदेश अधिवेशनमा प्रदेश कमिटीमा २० प्रतिशत युवाहरूलाई कमिटीमा समेटेको थियो। पहिल्यैेखि नै एमाले युवामैत्री थियो र युवाहरूलाई क्रमिक रूपमा अगाडि सार्दै कमिटीमा समेट्दै बढिराखेको छ।

एमाले यस्तो संस्था हो, जुन राजनीतिक रूपले अहिले युवा मात्रै हुनुपर्छ वृद्ध कुनै हुनु हुँदैन, विज्ञ कुनै हुनु हुँदैन भन्ने राजनीतिमा हुँदैन। जेनजी युवाकै आन्दोलन हेर्नुस् त्यति नयाँ युवाहरूको आन्दोलनले ल्याएको नतिजा भनेको हजुरआमालाई प्रधानमन्त्री नै बनाउनु रहेछ।

हैन भने किन सुशीला कार्कीलाई बनाइयो भन्दा राजनीति सबै क्षेत्रले पत्याउने विज्ञता, हरेक क्षेत्र, वैदेशिक नियोग, कूटनीतिक नियोग, जियोपोलिटिक्स सबै क्षेत्रबाट विज्ञ भएर समाज बुझिसकेपछि अगाडि बढ्ने एउटा क्षेत्र हो। त्यही कारण अहिले युवा मात्रै हुनुपर्छ भन्ने हुँदैन। नयाँ युवा, बिचका थोरै युवा र केही सिनियर अझ सबै सेक्टरका उमेर समूहलाई समेटेर क्रमिक रूपले नेतृत्व विकासका साथ हामी अगाडि बढ्छौं। त्यो कारणले एमाले युवामैत्री छ।

प्रकाशित: २८ मंसिर २०८२ ०९:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App