१८ कार्तिक २०८३ बुधबार
image/svg+xml
अन्तर्वार्ता

‘ऊर्जा, लगानी र पर्यटन प्रवर्धनलाई सँगै जोडेका छौं’

विगत तीन दशकभन्दा बढी समयदेखि नेपालका इभेन्ट तथा प्रदर्शनी व्यवस्थापन क्षेत्रमा संलग्न व्यवसायी हुन्, इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधान।

‘हिमालयन ग्रिन इनर्जी एक्स्पो–२०२७’ को संयुक्त आयोजकका रूपमा रहेको इभेन्ट सोलुसनको तर्फबाट प्रधानले व्यवस्थापकीय नेतृत्व गरिरहेका छन्। प्रधानको इभेन्ट व्यवस्थापन सम्बन्धी व्यावसायिक यात्रा ‘काठमाडौं एक्जिविसनन्स’ बाट सुरु भएको हो। उनले अहिलेसम्म धेरै प्रकारका इभेन्ट तथा प्रदर्शनीको व्यवस्थापन गरिसकेका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था– नेपाल (इप्पान) सँगको सहकार्यमा प्रधानले सन् २०१८ मा सर्वप्रथम इभेन्ट सोलुसनको तर्फबाट ‘हिमालयन हाइड्रो एक्स्पो’ सञ्चालन गरेका हुन्। त्यसपछि इप्पानसँगको सहकार्यमा चारवटा ‘हिमालयन हाइड्रो एक्स्पो’ सम्पन्न गरी यस वर्ष नेपालको ऊर्जा क्षेत्रको विकास, पर्यटन प्रवर्धन, लगानी, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले इप्पान र इभेन्ट सोलुसन प्रालिको संयुक्त आयोजनामा आगामी माघ ३ देखि ५ गतेसम्म ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ गर्न लागिएको छ। पाँचौं संस्करणको यस एक्स्पोमा मुलुकको ३० हजार मेगावाट ऊर्जा उत्पादनको लक्ष्यमा सहयोग पुर्‍याउने अपेक्षा राखिएको छ।

प्रधान सन् १९९५ देखि विभिन्न प्रदर्शनी तथा कार्यक्रम व्यवस्थापन क्षेत्रमा संलग्न छन्। तीन दशक बढीको कार्यानुभव भएका प्रधानले एक्स्पो व्यवस्थापन, प्रदर्शनी, लजिस्टिक्स तथा प्राविधिक व्यवस्थापनका काम गर्दै आएका छन्। ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो -२०२७’ को तयारी, अन्तर्राष्ट्रिय सहभागिता, बिटुबी छलफल, लगानी प्रतिबद्धता, व्यवस्थापकीय चुनौती र एक्स्पोको दीर्घकालीन योजनाबारे प्रधानले नागरिककर्मी मधुजंग पाण्डेसँग गरेको वार्ताको सारसंक्षेपः

इभेन्ट तथा प्रदर्शनी व्यवस्थापन क्षेत्रमा काम गर्न कहिलेदेखि सुरु गर्नुभएको हो?

यस क्षेत्रमा मेरो व्यावसायिक यात्रा ‘काठमाडौं एक्जिबिसन’बाट सुरु भएको हो। सन् १९९५ मा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर्ने ‘ट्रेड फेयर’को व्यवस्थापन सकेर म इभेन्ट व्यवस्थापन सम्बन्धी थप कोर्ष गर्न सन् १९९६–९७ मा जर्मनी गएको थिएँ। जर्मनीबाट फर्किएर निरन्तर म यस क्षेत्रमा लागिरहेको छु। मैले यस क्षेत्रमा काम गरेको तीनदशक भन्दा बढी समय भएको छ।  

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था– नेपाल (इप्पान) सँगको सहकार्यमा हामीले सन् २०१८ मा सर्वप्रथम ‘हिमालयन हाइड्रो एक्स्पो’ सञ्चालन गरेका थियौं। त्यतिबेला अहिलेको जस्तो सहज विद्युत् उपलब्धता थिएन। त्यो बेला एक्स्पो गर्नेक्रममा चरम लोडसेडिङ थियो।

दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। काठमाडौंको भृकुटीमण्डपमा हामीले सुरु गरेको एक्स्पोमा डेभलपर्स र भिजिटर पनि कम थिए। त्योबेला मुलुकमा जम्मा ५०० मेगावाट विद्युत् उत्पादन थियो। सो समय न्यूनतम ७०० मोगावाटको विद्युत् आवश्यक भए पनि उपलब्ध गर्ने अवस्था थिएन। त्यो बेला हामीले रुरु हाइड्रोपावर पनि सुरु गरेका थियौं। त्यतिबेला म रुरु हाइड्रोपावरको निर्देशक थिएँ।

इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाइँको पालामा सन् २०१८ मा पहिलो पटक हामीले ‘हिमालयन हाइड्रो एक्स्पो’ जन्माएका हौं। त्यसपछि इप्पानसँगको सहकार्यमा हामीले सन् २०१९ मा दोस्रो संस्करण, सन् २०२२ मा तेस्रो संस्करण, सन् २०२४ मा चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो’ सम्पन्न गरेका छौं।

यस वर्ष नेपालको ऊर्जा क्षेत्रको विकास, विस्तार, लगानी, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले इप्पान र इभेन्ट सोलुसन प्रालिको संयुक्त आयोजनामा आगामी माघ ३ देखि ५ गतेसम्म ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ गर्न लागिएको छ। पाँचौं संस्करणको यस एक्स्पोमा मुलुकको ३० हजार मेगावाट ऊर्जा उत्पादनको लक्ष्यमा सहयोग पुर्‍याउने अपेक्षा गरेका छौं।

‘हिमालयन ग्रिन इनर्जी एक्स्पो–२०२७’ को तयारी कस्तो छ ? यस एक्स्पोको मुख्य उद्देश्य के हो?

‘हिमालयन ग्रिन इनर्जी एक्स्पो–२०२७’ नेपालको ऊर्जा क्षेत्रको विकास, विस्तार र अन्तर्राष्ट्रियकरणका लागि आयोजना गर्न लागिएको महत्त्वपूर्ण कार्यक्रम हो। नेपालको ऊर्जा क्षेत्र अहिले उत्पादन क्षमता विस्तारको चरणमा छ।

सरकारले सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। यो लक्ष्य हासिल गर्न ठूलो लगानी, अत्याधुनिक प्रविधि, दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ। यस लक्ष्यलाई हामीले ऊर्जा उत्पादन मात्र नभई बजार, प्रसारण पूर्वाधार र लगानीसँग पनि जोडेर हेर्नुपर्ने हुन्छ।

यही आवश्यकतालाई सम्बोधन गर्दै विदेशी डेभलपर्स, ऊर्जा क्षेत्रका उत्पादक, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, उपकरण निर्माता, प्रविधि प्रदायक, नीति निर्माता र विज्ञहरूलाई एउटै मञ्चमा ल्याउनु हाम्रो मुख्य उद्देश्य हो। यसले नेपालको ऊर्जा क्षेत्रलाई जलविद्युत्मा मात्र सीमित नराखी समग्र हरित तथा स्वच्छ ऊर्जा प्रणालीको विकासमा सहयोग पुर्‍याउनेछ। यस एक्स्पोका लागि अहिले धमाधम स्टल बुकिङको काम भइरहेको छ। स्वदेशी तथा विदेशी ऊर्जा उत्पादकहरू, डेभलपर्स उपकरण निर्माताहरूलाई सहभागी गराउने काम जारी छ।

यसअघिका ऊर्जा एक्स्पोभन्दा यो एक्स्पोमा के फरक छ?

यसअघिका ऊर्जा एक्स्पो तथा अघिल्लो संस्करणभन्दा अहिले सरकारले लिएको ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई सहयोग गर्ने नै फरक छ। अहिले ३० हजार मेगावाट विद्युत् उत्पादनको उचित उपयोग गर्न नेपाल सक्षम छ भन्ने लक्ष्य लिएका छौं।

यसपाली हामीले ऊर्जासँगै नेपालको पर्यटन प्रवर्धनलाई पनि सँगै जोडेका छौं। जसका लागि विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक बसन्तपुर दरबार संरक्षण क्षेत्र, पाटन र भक्तपुर दरबार संरक्षण क्षेत्र लगायत ७ वटा सम्पदा हुँदै देशको सबैभन्दा जेठो हाइड्रोपावर फर्पिङसम्म विद्युतीय गाडी (इभी) र्‍याली आयोजना गर्ने अघिल्लो संस्करणभन्दा केही फरक छ। यसपालि पर्यटन प्रवर्धनलाई पनि हाइड्रोसँग जोडेका छौं।

हामीले सन् २०१८, २०१९, २०२२ र २०२४ मा आयोजना भएका ‘हिमालय हाइड्रो एक्स्पो’बाट धेरै अनुभव र उपलब्धि हासिल गरेका छौं। ती अनुभवलाई आत्मसात् गर्दै यस पटकको एक्स्पोलाई अझ व्यापक, व्यवस्थित र व्यावसायिक बनाउने तयारी गरिरहेका छौं।

अघिल्ला संस्करणहरू मुख्यतः जलविद्युत् क्षेत्र केन्द्रित थिए तर अहिले ऊर्जा क्षेत्रको परिभाषा फराकिलो भएको छ। त्यसैले यस पटक जलविद्युत्का साथै सौर्य ऊर्जा, वायु, बायोग्यास, ऊर्जा भण्डारण, ग्रिन हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड, डिजिटल ऊर्जा तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र पर्यटन प्रवर्धनजस्ता एजेन्डालाई विशेष प्राथमिकतामा राखेका छौं। हाम्रो उद्देश्य प्रदर्शनी मात्र गर्ने नभई व्यावसायिक सम्झौता, लगानी साझेदारी, प्रविधि हस्तान्तरण र ज्ञान आदान प्रदानको प्रभावकारी मञ्च निर्माण गर्नु हो।

एक्स्पोको व्यवस्थापन तथा तयारीलाई कसरी अगाडि बढाइरहनुभएको छ?

यस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको कार्यक्रम आयोजना गर्न विभिन्न पक्षसँग समन्वय र सहकार्य आवश्यक हुन्छ। त्यसैले अहिले हामीले यस एक्स्पोको व्यवस्थापकीय संरचना, हामीले ३० वर्षभन्दा बढी समयदेखि नाप्दै आएको एउटै ठाउँ भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलको व्यवस्थापन, अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिता, प्रायोजन, व्यावसायिक बैठक तथा सम्मेलनका कार्यक्रमलाई योजनाबद्ध रूपमा अगाडि बढाइरहेका छौं।

इप्पानसँगको सहकार्यमा कार्यक्रमको समग्र अवधारणा र कार्ययोजना तयार गरिएको छ। एक्स्पोमा सहभागी हुने कम्पनी, प्रदर्शक, लगानीकर्ता तथा सरोकारवालालाई सहज हुने गरी व्यवस्थापनका विभिन्न पक्षमा काम भइरहेको छ।

यस पटक कतिवटा प्रदर्शनी स्टल र अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ? निर्धारित लक्ष्य हासिल गर्न कत्तिको चुनौतीपूर्ण छ?

यस पटक ६० प्रतिशत विदेशी र ४० प्रतिशत स्वदेशी प्रदर्शनीकर्ताको सहभागिता रहने छ। यसपाली १०० भन्दा बढी स्टल र ३० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता सुनिश्चित गर्न हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार, कम्पनीहरूसँगको समन्वय र सरोकारवालाको सहभागिता विस्तारलाई प्राथमिकता दिएका छौं।

नेपालको ऊर्जा क्षेत्रप्रति अन्तर्राष्ट्रिय लगानीकर्ता तथा प्रविधि कम्पनीहरूको आकर्षण बढिरहेको छ। त्यसैले हामीले प्रदर्शनीलाई व्यावसायिक रूपमा उपयोगी बनाउने प्रयास गरिरहेका छौं। हाम्रो प्राथमिकता संख्या मात्र बढाउनु होइन, एक्स्पोमा सहभागी हुने प्रत्येक कम्पनी तथा अवलोकनकर्ताले व्यावसायिक रूपमा केही उपलब्धि हासिल गर्न सक्ने वातावरण निर्माण गर्नु हो।

एक्स्पोमा कुन–कुन देशका विदेशी कम्पनीको सहभागिता रहनेछ?

नेपालको ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय प्रविधि, लगानी र अनुभव भित्र्याउनु यस एक्स्पोको एउटा महत्त्वपूर्ण उद्देश्य हो। त्यसैले हामीले विभिन्न देशका कम्पनी, लगानीकर्ता तथा ऊर्जा क्षेत्रका प्रतिनिधिहरूसँग समन्वय गरिरहेका छौं।

भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटाली, स्वीडेन, बेलायत र ब्राजिललगायतका मुलुकका कम्पनी तथा सरोकारवालाको सहभागिता गराउने तयारी छ।

हामीले अन्तर्राष्ट्रिय कन्ट्री प्याभिलियनको अवधारणालाई पनि प्राथमिकता दिइरहेका छौं। यसले विभिन्न देशका प्रविधि, उत्पादन र ऊर्जा विकासका अनुभवलाई नेपाली बजारसँग जोड्न सहयोग गर्नेछ।

एक्स्पोमा बिटुबी बिजनेस मिटिङलाई विशेष प्राथमिकता दिइएको छ। यसबाट सहभागी कम्पनीले कस्तो लाभ लिन सक्छन्?

हाम्रो विचारमा एक्स्पोको सबैभन्दा महत्त्वपूर्ण पक्षमध्ये एउटा बिटुबी अर्थात् ‘बिजनेस टु बिजनेस’ बैठक हो। सामान्य प्रदर्शनीमा कम्पनीहरूले आफ्ना उत्पादन र सेवा प्रदर्शन गर्छन् तर हामीले यसलाई प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार गर्ने मञ्चका रूपमा विकास गर्न खोजेका छौं।

यसअन्तर्गत ऊर्जा उत्पादक र उपकरण उत्पादक, आयोजना विकासकर्ता र लगानीकर्ता, निर्माण कम्पनी र प्रविधि प्रदायक तथा नेपाली र अन्तर्राष्ट्रिय कम्पनीबिच प्रत्यक्ष व्यावसायिक बैठकको अवसर सिर्जना गरिनेछ। यसबाट नयाँ व्यावसायिक सम्झौता, लगानी साझेदारी, उपकरण आपूर्ति, प्रविधि हस्तान्तरण तथा दीर्घकालीन सहकार्यका सम्भावना बढ्ने अपेक्षा गरेका छौं।

ऊर्जा क्षेत्रको विकासका लागि प्रदर्शनीसँगै नीतिगत तथा प्राविधिक बहस पनि उत्तिकै आवश्यक हुन्छ। त्यसैले यसपाली हामीले हिमालयन ग्रिन इनर्जी कन्फरेन्सलाई एक्स्पोको महत्त्वपूर्ण अंग बनाएका छौं। यस सम्मेलनमा नेपालको ऊर्जा उत्पादन विस्तार, ३० हजार मेगावाट विद्युत् उत्पादनको राष्ट्रिय लक्ष्य, विद्युत् प्रसारण तथा वितरण पूर्वाधार, अन्तरदेशीय विद्युत् व्यापार, ऊर्जा भण्डारण, हरित हाइड्रोजन, औद्योगिक विद्युतीकरण र निजी क्षेत्रको लगानीका विषयमा छलफल हुनेछ।

यसैगरी जलवायु परिवर्तनका कारण जलविद्युत् आयोजनामा देखिएका जोखिम, बाढी, पहिरो तथा गेग्य्रान बहावबाट हुने क्षति न्यूनीकरण र जलवायु उत्थानशील ऊर्जा पूर्वाधार निर्माणका विषयलाई पनि प्राथमिकता दिइनेछ।

पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण जलविद्युत् आयोजनामा ठूलो क्षति भइरहेको छ। यस एक्स्पोले यस्ता विषयलाई कसरी सम्बोधन गर्छ?

गत भदौ १० गते रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको भीषण बाढीले हामीलाई ठुलो पाठ सिकाएको छ। यो नेपालको ऊर्जा क्षेत्रका लागि अत्यन्तै गम्भीर हो। हामीले विद्युत् उत्पादन क्षमता विस्तारलाई मात्र विकासको आधार मान्नु हुँदैन। निर्माण भएका आयोजनालाई सुरक्षित राख्नु र भविष्यमा निर्माण हुने पूर्वाधारलाई जलवायु परिवर्तनका जोखिमबाट जोगाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ। 

पछिल्ला वर्षमा विभिन्न नदी बेसिनमा आएका बाढी, पहिरो तथा गेग्य्रान बहावले जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्‍याएका छन्। यसले आयोजनाको डिजाइन, निर्माण प्रविधि, जोखिम मूल्यांकन, बिमा तथा विपद् व्यवस्थापनमा थप ध्यान दिनुपर्ने देखाएको छ। त्यसैले एक्स्पोमा नयाँ प्रविधि, जोखिम व्यवस्थापन, जलवायु अनुकूलन र उत्थानशील पूर्वाधार निर्माणका विषयमा अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्ने वातावरण बनाइनेछ।

एक्स्पोमा स्टार्टअप र विद्यार्थीलाई कसरी समावेश गर्दै हुनुहुन्छ?

यस एक्स्पोमा हामिले निःशुल्क प्रवेशको व्यवस्था गरेका छौं। जसले स्टार्टअप र विद्यार्थीको आकर्षण बढ्ने छ। हामीले अब नेपालमा ऊर्जा क्षेत्रको भविष्य नवप्रवर्तन र नयाँ पुस्ताको सहभागितासँग जोडिएको छ भन्ने ठानेका छौं। त्यसैले हामीले ऊर्जा क्षेत्रलाई परम्परागत व्यवसाय र ठूला कम्पनीहरूको मात्र क्षेत्र बनाउनु हुँदैन भनेर विद्यार्थी, युवा उद्यमी, अनुसन्धानकर्ता तथा स्टार्टअपहरूले विकास गरेका नयाँ अवधारणा, प्रविधि, वस्तु तथा सेवाले ऊर्जा क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिन सक्ने भएकाले विद्यार्थीलाई सहज पहुँचको व्यवस्था मिलाएका छौं। त्यसैले स्टार्टअप हब र विद्यार्थी प्रतिस्पर्धामार्फत नयाँ सोच तथा सिर्जनशीलतालाई प्रोत्साहन गर्ने हाम्रो उद्देश्य छ। इभी र्‍याली र हाइड्रो–कन शोले पनि ऊर्जा तथा विद्युतीय यातायातप्रति जनचेतना र आकर्षण बढाउन थप सहयोग गर्ने अपेक्षा छ।

नेपालमा ऊर्जा उत्पादनको सम्भावना र लगानी, बजार तथा पूर्वाधारका चुनौतीबारे तपाईंको के धारणा छ? र यस एक्स्पोले चुनौती समाधानमा कसरी सहयोग पुर्‍याउँछ?

गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढीको प्रभावपछि पनि हामीले यस एक्स्पोबाट नेपालको ऊर्जा क्षेत्रको सम्भावना ठूलो छ भन्ने सन्देश दिन खोजेका छौं।

सम्भावनालाई वास्तविक उपलब्धिमा रूपान्तरण गर्न लगानी, प्रसारण लाइन, बजार सुनिश्चितता, नीतिगत स्थिरता र आधुनिक प्रविधि आवश्यक छ। यस एक्स्पोले यी सबै पक्षलाई एउटै मञ्चमा जोड्ने प्रयास गर्नेछ। एक्स्पोमा सहभागी आयोजना विकासकर्ताले लगानीकर्तासँग प्रत्यक्ष छलफल गर्न सक्नेछन्।

बैंक तथा वित्तीय संस्थाले नयाँ लगानीका सम्भावना पहिचान गर्न सक्नेछन्। प्रविधि कम्पनीले आफ्ना उत्पादन र समाधान नेपाली बजारमा प्रस्तुत गर्न सक्नेछन्। यसरी एक्स्पोले ऊर्जा क्षेत्रको मूल्य शृंखलामा रहेका विभिन्न पक्षबिच सहकार्य र व्यावसायिक सम्बन्ध विस्तार गर्ने वातावरण निर्माण गर्नेछ।

इप्पान र इभेन्ट सोलुसनबिचको सहकार्यलाई कसरी लिनुभएको छ?

इप्पान नेपालको निजी ऊर्जा क्षेत्रको प्रतिनिधित्व गर्ने प्रमुख संस्था हो। ऊर्जा उत्पादकहरूको संस्था भएकाले इप्पानसँग यस क्षेत्रको आवश्यकता, समस्या, सम्भावना र सरोकारवालाको राम्रो अनुभव तथा जानकारी छ।

त्यसैगरी इभेन्ट सोलुसन प्रालिसँग कार्यक्रम व्यवस्थापन, प्रदर्शनी सञ्चालन र व्यावसायिक कार्यक्रम आयोजनाको राम्रो अनुभव छ। यी दुई पक्षको अनुभव र क्षमतालाई एकीकृत गरेर हामीले संयुक्त आयोजनामा यस एक्स्पोलाई अन्तर्राष्ट्रियस्तरको व्यावसायिक कार्यक्रम बनाउने लक्ष्य लिएका छौं।

यो सहकार्य एउटा कार्यक्रम आयोजना गर्ने उद्देश्यमा मात्र सीमित नभई नेपालको ऊर्जा क्षेत्रका लागि दीर्घकालीन प्लेटफर्म विकास गर्ने दिशामा केन्द्रित छ।

यस एक्स्पोलाई नियमित वार्षिक कार्यक्रम बनाउने आधार के हो?

संसारभर ग्रिन इनर्जीसँग सम्बन्धित टेक्नोलोजीको विकास भएसँगै अहिले नेपालको ऊर्जा क्षेत्र तीव्र गतिमा विस्तार भइरहेको छ। नेपालमा पनि हरेक वर्ष नयाँ आयोजना, नयाँ प्रविधि, नयाँ लगानीकर्ता र नयाँ व्यावसायिक सम्भावना थपिँदै छन्। यस्तो अवस्थामा ऊर्जा क्षेत्रका सबै सरोकारवालालाई नियमित रूपमा भेटघाट र छलफल गर्ने साझा मञ्च आवश्यक छ।

इप्पानको स्थापना दिवससँग जोडेर आगामी माघ ३, ४ र ५ गतेलाई वार्षिक ऊर्जा कार्यक्रमका रूपमा स्थापित गर्ने अवधारणा अघि सारिएको हो। यो एक्स्पो नेपालमा ऊर्जा क्षेत्रको क्यालेन्डरमा समावेश हुने महत्त्वपूर्ण वार्षिक कार्यक्रम बनोस् भन्ने हामी चाहन्छौं। यसले नेपाललाई क्षेत्रीय हरित ऊर्जा संवाद, लगानी र प्रविधि आदान प्रदानको केन्द्रका रूपमा विकास गर्न मदत गर्नेछ।

इप्पानको स्थापना दिवसको अवसर पारेर आयोजना हुने यस एक्स्पोलाई परम्परागत जलविद्युत्को दायरालाई विस्तार गर्दै सौर्य, वायु, ऊर्जा भण्डारण, हरित हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड तथा डिजिटल प्रविधिसहितको व्यापक हरित ऊर्जा क्षेत्रमा केन्द्रित हुने किसिमले सम्पन्न गर्न लागिएको हो। यस एक्स्पोले नेपालको स्वच्छ ऊर्जा क्षेत्रका नवप्रवर्तन, लगानी र साझेदारीलाई एउटै मञ्चमा जोड्ने लक्ष्य राखेको छ।

एक्स्पोमा सहभागी हुने कम्पनी तथा संस्थाले कसरी सहभागिता जनाउन सक्छन्? स्टल बुकिङको अवस्था कस्तो छ?

अहिलेदेखि नै यस एक्स्पोमा सहभागिता तथा स्टल बुकिङ खुला गरिएको छ। ऊर्जा उत्पादक, उपकरण निर्माता, प्रविधि प्रदायक, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, परामर्शदाता, निर्माण व्यवसायी, अन्तर्राष्ट्रिय कम्पनी तथा स्टार्टअपहरूले सहभागिता जनाउन सक्नुहुन्छ।

एक्स्पोमा सहभागी कम्पनीहरूले आफ्नो उत्पादन तथा सेवा प्रदर्शन गर्नुका साथै सम्भावित ग्राहक, साझेदार र लगानीकर्तासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्न सक्नेछन्। स्टल बुकिङ तथा सहभागितासम्बन्धी थप जानकारीका लागि इप्पान सचिवालय तथा एक्स्पो व्यवस्थापक इभेन्ट सोलुसन प्रालिसँग सम्पर्क गर्न सकिनेछ।

‘हिमालयन ग्रिन इनर्जी एक्स्पो–२०२७’ बाट कस्तो उपलब्धिको अपेक्षा गर्नुभएको छ?

हाम्रो अपेक्षा यो एक्स्पो नेपालको ऊर्जा क्षेत्रको विकासमा एउटा महत्त्वपूर्ण कोसेढुंगा बनोस् भन्ने हो। हामीले ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न आवश्यक लगानी, प्रविधि, बजार र साझेदारी विस्तार गर्नुपर्छ। जसका लागि नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि सहकार्य आवश्यक छ। यस एक्स्पोले नेपाली ऊर्जा क्षेत्रका सम्भावनालाई विश्वसामु प्रस्तुत गर्ने र अन्तर्राष्ट्रिय लगानीकर्ता तथा प्रविधि कम्पनीलाई नेपालसँग जोड्ने अवसर प्रदान गर्नेछ।

हामी यो कार्यक्रमलाई एउटा प्रदर्शनीभन्दा माथि उठाएर नेपालको समग्र हरित ऊर्जा क्षेत्रको विकास, प्रविधि हस्तान्तरण, लगानी प्रवर्धन र व्यावसायिक साझेदारीको महत्त्वपूर्ण मञ्च बनाउन चाहन्छौं। हामीले सबै ऊर्जा उत्पादक, लगानीकर्ता, सरकारी निकाय, निजी क्षेत्र, अन्तर्राष्ट्रिय कम्पनी, विद्यार्थी, अनुसन्धानकर्ता र सर्वसाधारणलाई यस एक्स्पोमा सहभागी हुन अनुरोध गरेका छौं।

हाल देशको विद्युत् उत्पादन क्षमता करिब ४३०० मेगावाट पुगेको छ। सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्य छ। यो लक्ष्य आन्तरिक विद्युत् माग धान्नका लागि मात्र सीमित नभई औद्योगिक विकास, विद्युतीय सवारी, नवीकरणीय ऊर्जा तथा भारत र बंगलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापार विस्तारसँग जोडिएको छ।

ऊर्जा क्षेत्रमा भइरहेको तीव्र विस्तारसँगै जलवायु परिवर्तनजन्य जोखिम पनि बढिरहेको छ। पछिल्ला वर्षहरूमा आएको आकस्मिक बाढी, पहिरो तथा गेग्य्रान बहावले विभिन्न जलविद्युत् आयोजनाका पूर्वाधारमा क्षति पुर्‍याएका छन्। यसले ऊर्जा उत्पादन क्षमता बढाउनुका साथै जलवायु परिवर्तनका प्रभाव सामना गर्न सक्ने सुरक्षित र उत्थानशील ऊर्जा पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखाएको छ। यसलाई चिर्न यो एक्स्पो सफल हुने छ भन्ने हाम्रो विश्वास हो।

एक्स्पो आयोजना गर्दा सबैभन्दा ठूलो चुनौती के हो?

हालको अवस्थामा अन्तर्राष्ट्रिय एक्स्पो आयोजना गर्दा सबैभन्दा ठुलो चुनौती व्यवस्थापकीय चुनौती नै हो। हामीले ३० वर्षभन्दा बढी समयदेखि नाप्दै आएको एउटै ठाउँ काठमाडौंको भृकुटीमण्डपस्थित अस्तव्यस्त प्रदर्शनीस्थलको व्यवस्थापन गर्नका लागि एकवर्षदेखि तयारी गरेका हुन्छौं।

प्रदर्शनीस्थलको हल बुकिङका लागि मात्र हामीले दैनिक साढे २ लाख रुपैयाँ समाजकल्याण परिषद्लाई बुझाउनुपर्छ। बाहिर चौरमा तयार गरिएको ठाउँको पनि दैनिक ७५ हजार रुपैयाँ समाजकल्याण परिषद्लाई बुझाउनुपर्ने हुन्छ। ढल निकास र पानीको समेत उचित व्यवस्थापन नभएको ७ रोपनी क्षेत्रफलमा फैलिएको प्रदर्शनीहल र हल बाहिरको चौरलाई आवस्यक व्यवस्थापन गरी हामीले ठुला अन्तर्राष्ट्रिय स्तरीय प्रदर्शनी गर्न धेरै जोखिमपूर्ण काम गर्नुपर्ने अवस्था छ। यही भएको ठाउँलाई व्यवस्थित बनाउन हामीले इभन्ट मेनेजमेन्टको तर्फबाट धेरै काम गर्नुपर्ने हुन्छ। भृकुटीमण्डपबाहेक अन्य ठाउँमा यस्तो एक्स्पो गर्ने विकल्प पनि हामीसँग छैन। त्यसैले अनेक संघर्ष र जोखिमकाबिच पनि हामीले एक्स्पो सम्पन्न गर्नुपर्ने अवस्था छ।

नेपालमा विभिन्न इभेन्ट व्यवस्थापन कम्पनीहरू तथा प्रदर्शनी सम्बन्धी गतिविधिहरूलाई समन्वय, सहयोग तथा व्यवस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको हाम्रो नवगठित संस्था ‘नेपाल एक्जिबिसन एन्ड इभेन्ट्स एसोसिएसन छ। यस एसोसिएसनबाट पनि हामीले प्रदर्शनीस्थलको खाँचो औंल्याएर आवश्यक पहलका लागि सरकारसँग लविङ र थप नीतिगत सुधारको काम गरिरहेका छौं। 

प्रकाशित: १८ कार्तिक २०८३ ०८:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App