सामाजिक सञ्जाल टिकटक र म्युजिक भिडियोमार्फत नेपाली मनोरञ्जन क्षेत्रमा बलियो उपस्थिति जनाइसकेकी अभिनेत्री उषा उप्रेतीले चलचित्र ‘आ बाट आमा’ बाट रजतपटमा सफलतापुर्वक पाइला टेकिसकेकी छन्।
उक्त डेब्यु चलचित्रमा उनले निर्वाह गरेको ‘राधा’ को भूमिकाले दर्शकको उल्लेख्य माया पाउनुका साथै चलचित्र व्यावसायिक रूपमा सुपरहिट साबित भयो।
पहिलो चलचित्रको अपार सफलतापछि यतिबेला उषाको हातमा ठुला प्रोजेक्टहरू परिरहेका छन्। हालै तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा) २०२६ को उत्कृष्ट नवअभिनेत्री मनोनयनमा समेत अटाउन सफल अभिनेत्री उषा उप्रेतीसँग उनको चलचित्र यात्रा, आगामी योजना र व्यक्तिगत जीवनबारे गरिएको कुराकानीको सम्पादित अंश :
तपाईंलाई पहिलो चलचित्र ‘आ बाट आमा’ मा काम गर्ने प्रस्ताव कसरी आएको थियो ?
मलाई यस चलचित्रको अफर निर्माण तथा निर्देशन पक्षबाट नै आएको हो। कथा सुन्दा मलाई आफ्नो भूमिका एकदमै प्रभावकारी लाग्यो। म्युजिक भिडियोमा काम गरिरहँदा चलचित्रमा आउने इच्छा त थियो नै, ‘आ बाट आमा’ को स्क्रिप्ट र मेरो पात्र ‘राधा’ मन परेकाले मैले खुसीसाथ काम गर्ने निर्णय गरेकी थिएँ।
म्युजिक भिडियो र टिकटक हुँदै चलचित्र उद्योगमा आइपुग्दाको अनुभव कस्तो रह्यो ?
मलाई चलचित्र उद्योगमा काम गर्दा एकदमै रमाइलो र भिन्न अनुभव भइरहेको छ। छोटा भिडियो र चलचित्रको काम गर्ने शैली एकदमै फरक हुँदो रहेछ। यहाँ आएपछि प्राविधिक र अभिनयका धेरै नयाँ कुरा सिक्न पाएकी छु। नयाँ-नयाँ मान्छेहरूसँग भेटघाट हुनुका साथै दर्शकहरूले दिनुभएको मायाले थप हौसला मिलेको छ।
चलचित्र उद्योगबाहिरका व्यक्तिलाई सुटिङ सेटमा वा अन्य ठाउँमा फरक व्यवहार गरिन्छ भन्ने गुनासो सुनिन्छ, तपाईंले कत्तिको सामना गर्नुपर्यो ?
मैले अहिलेसम्म त्यस्तो कुनै नराम्रो घटना वा विभेद भोग्नुपरेको छैन। मलाई सुटिङ सेटमा सबै जनाले निकै सम्मानजनक र राम्रो व्यवहार गर्नुभयो। सिनियर कलाकार तथा प्राविधिकहरूबाट सधैँ सहयोग नै पाएकी छु। आगामी दिनमा के हुन्छ थाहा छैन, तर अहिलेसम्मको मेरो भोगाइ निकै सकारात्मक र सम्झनायोग्य छ।
‘आ बाट आमा’ मा तपाईं र पल शाहको जोडीलाई दर्शकले निकै रुचाएका थिए, अब फेरि सँगै काम गर्ने केही योजना छ ?
‘आ बाट आमा’ मा पलजी र मेरो जोडीलाई दर्शकहरूले जुन माया दिनुभयो, त्यसका लागि म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। फेरि पनि हामी दुवै जना सँगै चलचित्रमा काम गर्ने विषयमा छलफल भइरहेको छ। तर, हालसम्म कुनै पनि नयाँ चलचित्र औपचारिक रूपमा पक्का भइसकेको छैन। उपयुक्त स्क्रिप्ट र समय मिलेमा हामी फेरि सँगै पर्दामा देखिनेछौं।
सुन्नेमा आएअनुसार ‘आ बाट आमा २’ मा तपाईंलाई अफर नआएको हो कि कसो ?
त्यस्तो होइन, मलाई ‘आ बाट आमा २’ को अफर आएको हो। तर, म पहिले नै अन्य केही नयाँ प्रोजेक्टहरूमा हस्ताक्षर गरेर प्रतिबद्ध भइसकेकी थिएँ। समय जुध्न गएकाले गर्दा मैले इच्छा हुँदाहुँदै पनि यस चलचित्रमा काम गर्न सकिनँ।
पल शाहसँग पछिल्लो समय भेटघाट वा कुराकानी कत्तिको भइरहेको छ ?
हाम्रो कुराकानी र भेटघाट भइरहन्छ। आज पनि एउटा कार्यक्रममा हामी सँगै आउने योजना बनेको थियो। तर, केही विशेष कारणवश उहाँ अन्तिम समयमा आउन पाउनुभएन।
तीज पर्व नजिकिँदै छ, मनाउने कस्तो तयारी छ ? व्रत बस्नुहुन्छ कि नाई ?
तीज हामी नेपाली महिलाहरूका लागि विशेष पर्व हो। म विगत केही वर्षदेखि निरन्तर रूपमा निर्जल व्रत बस्दै आएकी छु। यसपालिको तीजमा पनि परम्परा अनुसार नै व्रत बसेर भव्य रूपमा मनाउने तयारी छ।
प्रकाशित: ६ श्रावण २०८३ १४:४७ बुधबार





